घट्दै बालबालिकाको जनसंख्या : ११२ बालक जन्मिँदा १०० मात्रै जन्मिछन् बालिका

५.३ प्रतिशत बालबालिकाले पढाइ छाडे, ५.४ प्रतिशतले विद्यालय नै टेकेनन्

शनिबार, २६ साउन, २०८१
डिजिटल संस्करण

एक प्रतिवेदनअनुसार देशमा ११२ बालक जन्मिँदा सयजना मात्रै बालिका जन्मने गरेका छन् । राष्ट्रिय तथ्यांक कार्यालय थापाथलीले तयार पारेको तथ्यांकीय प्रतिवेदनअनुसार जन्मने बालकभन्दा बालिकाको संख्या हरेक एक सयमा १२ जनाले कम छ । 

बालिकाको तथ्यांक झन् कम हुँदै गइरहेकाले यो चिन्ता गर्नुपर्ने अवस्था देखिएको कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी हेमराज रेग्मीले बताए । ‘बालकभन्दा बालिका कम जन्मिएका छन्, यसले नेपालको कुल गार्हस्थ्य उत्पादनदेखि भविष्यको जनशक्तिमा समेत असर पर्न सक्छ । हामीले दिएका तथ्यांकका आधारमा सम्बन्धित निकायहरूले समाधान खोज्नुपर्छ,’ उनले भने । 

कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै राष्ट्रिय जनगणना ०७८ मा आधारित बालबालिकाको सबैखाले तथ्यांक सार्वजनिक गरेको थियो । कार्यालयले ०–१७ वर्षसम्मका बालबालिकालाई मध्यनजर गरेर तथ्यांक संकलन गरेको थियो । जसमा बालबालिकाको शिक्षा, स्वास्थ्य, विवाह, बसाइँसराइ, अपांगता, पारिवारिक जिम्मेवारी, आर्थिक क्रियाशीलता, निर्भरतालगायत विषयसँग सम्बन्धित तथ्यांकहरू संकलन भएका छन् । 

अध्ययनअनुसार नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ मध्ये १८ वर्षभन्दा कम उमेर समूहका बालबालिकाको संख्या ९८ लाख ६९ हजार ५८३ देखिएको छ । जनसंख्याको कुल अनुपातमा यो संख्या ३३.८ प्रतिशत मात्रै हो । जसमध्ये ५१.८ प्रतिशत बालक र ४८.२ प्रतिशत बालिका छन् । जनगणनामा कुल पुरुषमध्ये ३६ प्रतिशत बालक र कुल महिलामध्ये ३२ प्रतिशत बालिका रहेको देखिएको छ ।

तथ्यांकअनुसार सबैभन्दा धेरै बालबालिका १० देखि १४ वर्षका (२९.५ प्रतिशत) छन् । जनगणनाअनुसार ०५८ बाट ६८ मा आइपुग्दा बालिबालिकाको वार्षिक वृद्धिदर ०.४६ प्रतिशत थियो । ०६८ बाट ०७८ मा आइपुग्दा सो वृद्धिदर ऋणात्मक अर्थात् १.१ प्रतिशत रहेको छ। 

पछिल्लो दश वर्षको समग्र जनसंख्यामा १०.१ प्रतिशतले थप हुँदा बालबालिकाको जनसंख्यामा १०.९ प्रतिशतले घटेको छ । यस अवधिमा बालकको भन्दा बालिकाको संख्या ४ प्रतिशतले घटेको देखिएको छ । 

समग्र जनसंख्यामा पुरुषको भन्दा महिलाको जनसंख्या ६ लाख पचास हजारले बढी छ । तर, समग्र बालबालिकाको जनसंख्यामा बालकको जनसंख्या बालिकाको भन्दा तीन लाख तीन हजारले बढी देखिएको छ । 

नेपालमा बालबालिकाको अपांगता दर समग्र जनसंख्याको १.२ प्रतिशत छ । ७४ प्रतिशत बालबालिकाको जन्मदर्ता बनेको देखिएको छ । १० वर्षको बीचमा १५ हजार ८६८ जना बालबालिकाको मृत्यु भएको तथ्यांकले देखाएको छ । 

गाउँ छाड्ने बालबालिकाको संख्या बढ्दो
तथ्यांकअनुसार बालबालिकाको बसाइँसराइ दर पनि बढ्दो छ । पछिल्लो जनगणनाअनुसार ९.६ प्रतिशत बालबालिका जन्मस्थानबाट अन्यन्त्र बसाइँ सरेका छन् । यो आन्तरिक बसाइँसराइको तथ्यांक हो । बालबालिका बसाइँ सर्नुको मुख्य कारण आश्रित, अध्ययन, तालिम देखिएको छ । मधेश क्षेत्रमा २०.७ प्रतिशत बालबालिका विवाहका कारण बसाइँसराइमा समेत परेका छन् । 

अभिभावकसँग छैनन् ३१ हजार बालबालिका 
तथ्यांकअनुसार नेपालमा ३१ हजार ५१२ जना बालबालिका परिवारको अभिभावकका रूपमा छन् । परिवारको मुली बालबालिकामध्ये ५३ प्रतिशत बालक र ४७ प्रतिशत बालिका छन् । उनीहरूले आफ्ना अभिभावक नहुँदा अभिभावकत्वसमेत सम्हालेका छन् । 

पहाडका परिवारमा कम छन् बालबालिका
तथ्यांकअनुसार समग्रमध्ये ७१.३ प्रतिशत परिवारमा बालबालिका छन् । बालबालिकाको संख्या सबैभन्दा बढी रहेको तराईका जिल्लामा ७६.१ प्रतिशत परिवारमा बसोवास गर्छन् । पहाडका परिवारमा निकै कम बालबालिका बसोवास गर्छन् । अर्धसहरी क्षेत्रका ७६.४ प्रतिशत, ग्रामीण क्षेत्रका ७०.५ प्रतिशत परिवारमा बालबालिका बसोवास गर्छन् । बागमती र गण्डकी प्रदेशमा अन्य प्रदेशको तुलनामा बालबालिकाको संख्या कम देखिएको छ । 

सुझावित समाचार