तत्काल काेशी प्रदेश सभा सञ्चालन गर्न माओवादीको माग

शुक्रबार, २५ साउन, २०८१
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रले अवरुद्ध कोशी प्रदेश सभा तत्काल सञ्चालन गर्न आग्रह गरेको छ। शुक्रबार माओवादी केन्द्र कोशी प्रदेश दलका नेता इन्द्र आङ्बाेले मुख्यमन्त्रीलाई पत्र पठाउँदै प्रदेश सभा सञ्चालन गर्न आग्रह गरेका हुन्। विभिन्न विषयमा छलफल र सरकारको ध्यानाकर्षण गराउने जनप्रतिनिधिको मुख्य थलो प्रदेश सभा बन्धक हुँदा समस्या भएको उनले उल्लेख गरे । 

पत्रमा उनले लेखेका छन्, ‘केन्द्रीय समीकरणअनुसार प्रदेशमा यहाँहरूको भागबन्डा र नयाँ  मन्त्रिमण्डल गठनको विषयमा हाम्रो कुनै चासो पनि छैन। तर, तपाईंहरूको असक्षमताले बाढी, पहिरो, डुबानलगायत प्राकृतिक विपत्ति, नीति कार्यक्रम र नयाँ बजेट कार्यान्वयनलगायत प्रदेशवासीका सरोकारका विषयमा छलफल र सरकारको ध्यानाकर्षण गराउने जनप्रतिनिधिको मुख्य थलो प्रदेश सभा बन्धक भएको लामो समय भइसकेको छ।’

प्रदेश निजामती ऐनलाई संशाेधन गर्न बनेको विधेयक, तत्कालीन सरकारले केही प्रदेश ऐन संशाेधन गर्न ल्याएको अध्यादेश अस्वीकृतसँँगै निष्क्रिय रहेका ऐनहरू पुनर्स्थापित गर्ने विधेयकलगायत अत्यावश्यक विधेयकहरू प्रदेश सभामा अलपत्र भएको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण  गराए ।

  ‘विना कुनै बहाना तत्काल प्रदेश सभा सञ्चालन गर्न मुख्यमन्त्री र सभामुखज्यूको गम्भीर ध्यानाकर्षण गराउँछु,’ उनले भने ।

सुझावित समाचार