छिमेकी देश चीन स्वशासित तिब्बतस्थित सिगात्से सहरका प्रहरीले भोटेकोशी गाउँपालिकालाई प्राकृतिक विपत्तिमा आवश्यक पर्ने राहत सामग्री ल्याइदिएका छन्। ४० फुटे कन्टेनरमा राखेर ल्याएको राहत सामग्री उनीहरूले भोटेकोशी गाउँपालिका अध्यक्ष पासाङ नोर्बु शेर्पालाई बुझाएका हुन् ।
नियमानुसार उक्त सामग्री छुटाउन भन्सार राजस्व तिर्नुपर्छ वा अर्थ मन्त्रालयबाट राजस्व छुटको चिठी ल्याएर भन्सारबाट सामग्री छुटाउन सकिने प्रावधान छ। हाल प्रक्रियामा रहेकाले राहत सामग्री भन्सार यार्डमा रहेको तातोपानी भन्सारका सूचना अधिकारी सूर्यप्रसाद काफ्लेले बताए। ‘गाउँपालिका अध्यक्षलाई हस्तान्तरण गरिए तापनि प्रक्रिया पुर्याएर भन्सार छुटाउन बाँकी छ,’ उनले भने ।
सिगात्से प्रहरीले ल्याएको राहत सामग्रीमा टेन्ट ५०, त्रिपाल ४०, ब्ल्यांकेट एक सय, इलेक्ट्रिक जग एक सय, रेनबुट दुई सय, रेनकोट एक सय, टर्चलाइट एक सय र इलेक्ट्रिक बेड १५ वटा रहेका छन्। त्यसैगरी मेडिकल फर्स्ट एडकिट, स्फाइग्मोम्यानो मिटर, स्टेथोस्कोप, स्टेनलेस स्टिल टंग, डेप्रेसन, पेनलाइट, फर्स्टएड बक्स, इलेक्ट्रोनिक थर्माेमिटर, ग्लुकोमिटर र अक्सिमिटर रहेका छन् ।
चिनियाँ प्रहरीले विपतजन्य समयमा आवश्यक सामग्री दिएको भोटेकोशी गाउँपालिका अध्यक्ष पासाङ नोर्बु शेर्पाले बताए । प्रक्रिया लामो भएकाले केही दिनपछि मात्रै पालिका ल्याउने उनले उल्लेख गरे। चिनियाँ ४० फुटे कन्टेनरमा ल्याएको सामान नेपाली दुई कन्टेनरबराबर हुन्छ। राहत सामग्री हस्तान्तरणपछि चिनियाँ प्रहरी नयाँपुलस्थित बन्जीमा रहेको द लास्ट रिसोर्टसम्म आएका थिए ।