प्राविधिक विषय पढ्ने विद्यार्थी पाउनै मुस्किल

बुधबार, १६ साउन, २०८१
डिजिटल संस्करण

केही वर्ष अघिसम्म प्राविधिक विषय अध्ययन विद्यार्थीको पहिलो रोजाइ बन्ने गरेको थियो । प्राविधिक विषय अध्ययन गरेमा चाँडो रोजगारी पाइन्छ भन्ने चलन थियो । तर, आजभोलि प्राविधिक विषय पढ्ने विद्यार्थी पाउनै मुस्किल हुन थालेको छ । 

कैलालीमा प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीको संख्या घट्न थालेको देखिन्छ । केही वर्ष पहिलेसम्म एसइईपछि पढाइ हुने प्राविधिक विषयमा मागभन्दा चारगुणा बढी आवेदन पर्ने गरेकामा अहिले विद्यालय तथा ‘इन्स्टिच्युट’लाई कोटा पूरा गर्नैै मुस्किल हुन थालेको छ । कैलाली टीकापुरका प्राविधिक धारका विद्यालय तथा इन्स्टिच्युटमा कोटाअनुसार विद्यार्थी पुगेका छैनन् । 

सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टीकापुरमा सामान्य चिकित्सा ‘एचए’का लागि खोलिएको भर्नामा २६ जनाले मात्र फारम भरेका छन् । जम्मा ४० जना विद्यार्थीको कोटा भएकामा तीनजना सिटिइभिटीले पठाउने र अरू ३७ जना यतैबाट छान्नुपर्ने थियो, तर त्योअनुसार पनि ११ जना विद्यार्थी अपुग देखिएका इन्स्टिच्युटले जनाएको छ । 

टीकापुर बहुप्राविधिक शिक्षालयमा पनि कोटाअनुसार विद्यार्थीले फारम भरेका छैनन् । पहिलोपटक निकालेको फारम भर्ने सूचनाको म्याद सकिँदासम्म पशु विज्ञान विषयमा २१, बाली विज्ञानमा १०, सिभिल इन्जिनियरमा १७, फरेस्ट्रीमा ११ र एग्रो इन्जिनियरिङमा दुईजनाले मात्र फाराम भरेका छन् । 

सिभिल इन्जिनियर र एग्रो इन्जिनियरिङमा ४८–४८ र अन्य समूहमा ४०–४० जनाको कोटा रहेको शिक्षालयका निमित्त प्रमुख विकास रानाले जानकारी दिए । ‘विगतमा धेरै विद्यार्थीको आवेदन आएर छनाेट गर्नुपर्ने हुन्थ्यो,’ उनले भने,  ‘यस वर्ष विद्यार्थी पाउनै मुस्किल देखियो ।’

यस वर्षको इसइईमा धेरै विद्यार्थी अनुत्तीर्ण हुनु, १२ कक्षा पढेर विद्यार्थी विदेश जानुपर्छ भन्ने मानसिकताले प्राविधिक विषय पढ्ने विद्यार्थीको संख्या घटेको अनुमान उनकाे छ । ‘प्राविधिक विषय पढेकाहरू पनि बेरोजगार बस्नुपर्ने अवस्था आएकाले यसमा विद्यार्थीको रुचि घटेको हुन सक्छ, अहिले अधिकांश विद्यार्थीको १२ कक्षापछिको रोजाइ विदेश छ,’ उनी भन्छन्, ‘सरकारले प्राविधिक धार पढेकालाई रोजगारीको व्यवस्था गर्नुपर्छ । यति गरेमा प्राविधिक विषय अध्ययन रोजाइ बन्छ र नेपालमै विद्यार्थी रोक्न सकिन्छ ।’

सुझावित समाचार