इतिहासमा आज

बुधबार, १३ असार, २०८१
डिजिटल संस्करण

सन् १८४३ : चीनको एक टापु क्षेत्र हङकङ ब्रिटिस शाही उपनिवेश घोषित भयो ।

सन् १९४५ : अमेरिकाको सान् फ्रान्सिस्कोमा संयुक्त राष्ट्रसंघको बडापत्रमा पचास देशले हस्ताक्षर गरे ।

सन् १९५३ : स्टालिनको मृत्युपछि सोभियत संघका नेता ठानिएका गुप्तर प्रहरी प्रमुख लाभरेन्टी बेरियालाई भावी नेता ख्रुस्चेभले अरू शीर्ष नेतासँग मिलेर पक्राउ गरे । उनीमाथि देशद्रोही र पुँजीवादी एजेन्ट भएको तथा आफू नेतृत्वको गुप्तचर प्रहरीलाई पार्टीभन्दा माथि राख्ने प्रयास गरेको आरोप लगाइएको थियो ।

सन् १९६० : ब्रिटिस सोमालिल्यान्डले स्वतन्त्रता हासिल गर्यो । लगत्तै इटलीको कब्जामा रहेको सोमालिल्यान्डको हिस्साले आफूलाई स्वतन्त्र घोषित गर्यो ।

सन् १९६८ : दोस्रो विश्वयुद्धदेखि अमेरिकाले कब्जा गरिराखेका दुई जापानी टापु बोनिन र आयो जिमा जापानलाई फिर्ता गरियो ।

सन् १९९४ : ‘प्यालेस्टिनी लिबरेसन अर्गनाइजेसन(पिएलओ)’का नेता यासर अराफात २७ वर्षपछि गाजा फर्किए ।

सन् १९९५ : हमाद बिन खलिफा अल–थानीले उनका पिता खलिफा बिन हमाद अल–थानीलाई रक्तविहीन कुमार्फत अपदस्थ गरे । १८ वर्ष लामो शासनमा कतारको कायापलट गरेका हमादले सन् २०१३ मा उनका छोरा (हालका कतारी अमिर)लाई गद्दी छाडिदिए ।

सन् १९९७ : जेके रोलिङद्वारा लिखित विश्वचर्चित बाल–उपन्यास शृङ्खला ह्यारी पोर्टरको पहिलो पुस्तक ‘ह्यारी पोर्टर एन्ड द फिलोसफर स्टोन’ आजकै दिन प्रकाशित भएको थियो । 

सुझावित समाचार