धरौटीमा रिहा गर्ने तल्लो अदालतको आदेशलाई कार्यान्वयन नगर्न उच्च अदालतले दिएको आदेशको विरुद्धमा केजरिवाल आइतबार सर्वोच्च अदालतमा पुगेका छन् । केन्द्रीय एजेन्सी प्रवर्तन निर्देशनालय (इडी)को याचिका सुनुवाइ नभएसम्म मदिरासम्बन्धी नीतिसँग जोडिएको भ्रष्टाचार मुद्दामा केजरिवालको जमानत रोक्ने उच्च अदालतको फैसलाविरुद्ध केजरिवाल आइतबार सर्वोच्च पुगेका हुन् ।
केजरिवाललाई तिहाड जेल छोड्नुभन्दा केही घन्टाअघि दिएको जमानतलाई इडीले चुनौती दिएको थियो । शुक्रबार उच्च अदालतले एजेन्सीको निवेदन सुनुवाइ नभएसम्म जमानतका लागि ट्रायल कोर्टको आदेश लागू नहुने बताएको थियो ।
बिहीबार तल्लो अदालतकी न्यायाधीश नियाय विन्दुले केजरिवाललाई एक लाख भारतीय रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएकी थिइन् । त्यसको विरोधमा प्रवर्तन निकाय (इडी) उच्च अदालत पुगेको थियो । केजरिवालका वकिलले भोलि सुनुवाइको माग गरेका छन् ।