पूर्वविजेता पोर्चुगल युरो २०२४ को नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘एफ’मा पोर्चुगलले टर्कीमाथि ३–० को जित निकाली अन्तिम १६ को स्थान सुरक्षित गरेको हो । जर्मनीको डर्टमुन्ड मैदानमा पोर्चुगललाई जित दिलाउन कप्तान क्रिस्टियानो रोनाल्डोले प्रेरणादायी प्रदर्शन गरेका थिए । उनले खेलमा एक अस्टिट गरेका थिए । समूह ‘एफ’मा पोर्चुगलले दुई खेलबाट सर्वाधिक ६ अंक बटुल्यो । टर्कीले दुई खेलमा ३ अंक जोडेको छ । चेक गणतन्त्र र जर्जियाले दुई खेलबाट समान १ अंक बटुलेका छन् ।
यो समूहबाट टर्की, जर्जिया र चेकमध्ये एक टोली अन्तिम १६ मा पुग्नेछ । टर्कीविरुद्धको प्रतिस्पर्धामा म्यानचेस्टर सिटीका बर्नान्डो सिल्भाले पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए । नुनाओ मेन्डिसको क्रसमा टर्कीका गोलरक्षक बायिनडिरले क्लियर गर्न नसकेको बललाई सिल्भाले सहजै गोल गर्दै २१औँ मिनेटमा पोर्चुगललाई १–० को स्थितिमा राखे ।
खेलको २८औँ मिनेटमा टर्कीका अकादिनको आत्मघाती गोलसँगै पोर्चुगल २–० ले अघि बढ्यो । खेलको ५६औँ मिनेटमा बु्रनो फर्नान्डोले रोनाल्डोको चलाखीपूर्ण पासमा पोर्चुगललाई ३–० को स्थितिमा राखे । रोनाल्डोले डिबक्सभित्र गोलरक्षकविरुद्ध वान भर्सेज वानको अवस्थामै गोल गर्ने स्थानमा रहँदा पनि नजिकका फर्नान्डोलाई पास दिएका थिए । हारसँगै टर्कीले नकआउट चरण स्थान पक्का गर्न बुधबार ह्यामवर्गमा चेकको सामना गर्नेछ । पोर्चुगलले जर्जियाविरुद्ध खेल्नेछ ।
अन्तिम खेलमा सिनियरलाई आराम
पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजले अघिल्लोपटकको खेलमा जस्तो रणनीति भएको बताए । ‘हामीले अघिल्ला खेलमा जुन रणनीति अपनाएका थियौँ, टर्कीविरुद्ध पनि निरन्तरता भयो,’ उनले भने, ‘सुरुवातमै हामीले अग्रता गोल गरेपछि टर्की दबाबमा आयो ।’ नकआउट चरणको स्थान सुरक्षित भइसकेका कारण जर्जियाविरुद्धको खेलमा केही खेलाडीले आराम पाउने उनले बताए । ‘ड्रेसिङ रुममा धेरै खेलाडी पहिलो ११ बाट खेल्न चाहन्छन्, सबैलाई मौका दिन सम्भव छैन, तर तेस्रो खेलमा केही सिनियर खेलाडीले आराम पाउनेछन्,’ उनले भने, ‘टिम सेट बनाउन नयाँ खेलाडीलाई पनि मौका दिनुपर्छ ।’
प्रतिस्पर्धामा समर्थकहरू पोर्चुगलका कप्तान रोनाल्डोलाई मैदानमा गएर भेट्न पुगेका थिए । पोर्चुगलका कप्तानले आफ्ना समर्थकलाई निराश पारेनन् । उनीहरूसँग सेल्फी खिचे ।