तिरहुत टाइगर्सले छैटौँ राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको उपाधि जितेको छ । सप्तरीको राजविराजस्थित पब्लिक विन्देश्वरी मैदानमा सोमबार भएको फाइनलमा तिरहुतले छिन्नमस्ता लायन्सलाई ३१ रनले हराउँदै उपाधि हात पारेको हो । तिरहुतले दिएको ९२ रनको लक्ष्य पछ्याएको छिन्नमस्ता लायन्सले १४ ओभरमा ६० रनमा सबै विकेट गुमायो ।
छिन्नमस्ताका विशाल पटेलले सर्वाधिक १४ रनको योगदान दिए । मयन यादवले १३ तथा फिर्दोस अन्सारीले अविजित १२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् । राष्ट्रिय क्रिकेटर भीम सार्कीलगायत अन्य चार खेलाडी शून्य रनमा आउट भए । तिरहुतको बलिङमा बायाँहाते स्पिनर दीपेश कँडेलले सर्वाधिक ४ विकेट लिए । उनले ४ ओभरमा २५ रन दिए । प्लेयर अफ दी म्याच घोषित कप्तान अनिल यादवले ३ विकेट लिन ३ ओभरमा १५ रन खर्चिए ।
बसिर अहमदले २ तथा अभिषेक कार्कीले १ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको तिरहुतले निर्धारित १८.४ ओभरमा सबै विकेट गुमाएर ९१ रन बनाएको थियो । तिरहुतका लागि भोलाकुमार साहले सर्वाधिक २९ रन योगदान दिए । बसिर अहमदले १८ रन तथा रूपेश सिंहले १० रन बनाए । उपाधिसँगै तिरहुतले तीन लाख र उपविजेता छिन्नमस्ताले एक लाख ५० हजार रुपैयाँ पाएका छन् ।
बसिर उत्कृष्ट खेलाडी
प्रतियोगिताका उत्कृस्ट खेलाडी च्याम्पियन तिरहुतका बसिर अहमद भएका छन् । उनले ६ खेलमा १ सय ९८ रन बनाउनुको साथै १० विकेट लिए । उत्कृष्ट बलर छिन्नमस्ताका विशाल पटेल घोषित भए । उनले सात खेलमा १५ विकेट लिए । उत्कृष्ट ब्याट्सम्यान कञ्चनरूप राइनोजका शुभ कंसाकार घोषित भए । उनले सात खेलमा २ सय ९७ रन बनाए । यस्तै, उदीयमान खेलाडी छिन्नमस्ताका मोहम्मद सोहेल खान भए । उनले सात खेलमा १२ विकेट लिए । फाइनलमा तिरहुतका कप्तान अनिलकुमार यादव म्यान अफ दी म्याच भए । प्रतियोगिताका उत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ पाए ।