दक्षिण अफ्रिका चार रनले विजयी

मंगलबार, २९ जेठ, २०८१
डिजिटल संस्करण

दक्षिण अफ्रिकाले आइसिसी टी–२० विश्वकपअन्तर्गत सोमबार समूह ‘डी’मा बंगलादेशलाई चार रनले हराएको छ । न्युयोर्कमा पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर एक सय १३ रनको योगफल बनाएको थियो । प्रत्युत्तरमा बंगलादेशले २० ओभरमा सात विकेटको क्षतिमा एक सय नौ रन जोड्यो । दक्षिण अफ्रिकामाथि सनसनी जित निकाल्न बंगलादेशलाई अन्तिम ओभरमा ११ रन आवश्यक थियो । 

तर, स्पिनर केशव महाराजले दुई विकेट लिँदा बंगलादेश लक्ष्यसम्म पुग्न सकेन । बंगलादेशका लागि बिहिदले ३४ बलमा समान दुई चौका र छक्का प्रहार गरी सर्वाधिक ३७ रनको योगफल बनाए । मुहमुदुल्लाहले २७ बलमा २० रन जोडे । कप्तान हुसेनले २३ बलमा १४ रन जोडे । दक्षिण अफ्रिकाले समूह ‘एच’मा लगातार तीन खेल जित्दै सुपर ऐटको स्थान बलियो बनाएको छ । बंगलादेशले दुई खेलबाट समान एक हार र जितका साथ दुई अंक जोडेको छ । नेदरयान्ड्सले पनि समान दुई खेलबाट दुई अंक जोडेको छ । 

यसअघि ब्याटिङ गरेको दक्षिण अफ्रिकाको सुरुवात कमजोर भएको थियो । कप्तान एडेन माक्राम चार रन र स्टुवास शून्य रनमा आउट हुँदा दक्षिण अफ्रिका ४.२ ओभरमा २३–४ को कमजोर अवस्थामा रह्यो । धर्ममराएको ब्याटिङ इनिङ्समा हेनरिक क्लासेन र डेभिड मिलरबीच पाँचौँ विकेटका लागि ७९ रनको साझेदारी भयो । 

यी दुवैबीचको संयमित ब्याटिङका कारण दक्षिण अफ्रिकाले बंगलादेशविरुद्ध सय रनको योगफल कटाउन सफल भयो । हेनरिकले ४४ बलमा ४६ रन बनाए । उनले दुई चौका र तीन छक्का प्रहार गरे । मिलरले ३८ बल सामना गरी समान एक चौका र छक्का प्रहार गरी २९ रन जोडे । बलिङ क्रममा बंगलादेशका लागि हसन सकिवले १८ रन खर्चेर तीन विकेट लिए । 

सुझावित समाचार