सप्तरी प्रिमियर लिग : कञ्चनरूप राइनोजलाई हराउँदै छिन्नमस्ता लायन्स फाइनलमा

आइतबार, २७ जेठ, २०८१
डिजिटल संस्करण

छिन्नमस्ता लायन्सले सप्तरीको राजविराजमा जारी राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको फाइनलमा स्थान बनाएको छ।

आइतबार सम्पन्न दोस्रो क्वालिफायरमा कञ्चनरूप राइनोजलाई पराजित गर्दै छिन्नमस्ताले तिरहुट टाइगर्ससँगको फाइनल भेट पक्का गरेको हो। उपाधि भिडन्त भोलि हुनेछ।

पब्लिक विन्देश्वरी क्रिकेट मैदानमा कञ्चनरूप राइनोजले दिएको एक सय १८ रनको लक्ष्य छिन्नमस्ताले चार बल बाँकी हुँदा ६ विकेटको क्षतिमा पूरा गर्याे।

छिन्नमस्ताका लागि राष्ट्रिय क्रिकेटरसमेत रहेका भीम सार्कीले अर्धशतकीय इनिङ्स खेले। ३७ बलको सामना गरेका भीमले ६ चौका र दुई छक्का प्रहार गरे।

५८ रन बनाउँदा चार विकेट गुमाइसकेको छिन्नमस्ताका लागि भीम र फिर्दोशले महत्त्वपूर्ण ४५ रनको साझेदारी गरेका थिए। टिमले लक्ष्य भेट्नुअघि नै भीम आउट भए । तर, फिर्दोशले १६ रनमा अविजित रहँदै टिमलाई जितसम्म डोर्याए। छिन्नमस्ताका लागि राज वर्माले १५ तथा सुमित नेवारले ११ रनको योगदान दिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राइनोजले १८.२ बलमा अलआउट हुँदै एक सय १७ रन बनाएको थियो। कञ्चनरूपका लागि दिनेश अधिकारी र कर्ण विकले समान १९ रन, अभिषेक गौतमले १५ तथा शुभ कंसकार र महानन्द यादवले समान १३ रनको योगदान दिए।

बलिङतर्फ कञ्चनरूपका दिनेश अधिकारीले तीन विकेट लिए पनि टिमलाई हारबाट बचाउन सकेनन्। छिन्नमस्तातर्फ बलिङमा विशाल पटेलले तीन विकेट लिए भने मोहम्मद सोहेल, फिर्दोश अन्सारी र गुनानन्द रोयले समान दुई विकेट लिए। 

सप्तरी क्रिकेट संघद्वारा आयोजित प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँ हात पर्नेछ। उपविजेता टिमले एक लाख पचास हजार प्राप्त गर्नेछ।

सुझावित समाचार