धोबीघाट, बालकुमारी र सल्लाघारीमा फोहोर पानी प्रशोधन केन्द्र निर्माण गरिने
सरकारले मेलम्ची खानेपानी आयोजनाका लागि ५० करोड विनियोजन गरेको छ । आर्थिक वर्ष ०८१/८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् ।
यसैगरी, आयोजनालाई दिगो रूपमा सञ्चालन गर्न हेडवर्क्स सुरक्षित स्थानमा स्थानान्तरण गर्ने प्रक्रिया अगाडि बढाउने भएको छ । बाढीका कारण प्रत्येक वर्ष हेडवर्क्समा समस्या देखिन थालेपछि दातृ निकाय एसियाली विकास बैंक (एडिबी)ले एक किलोमिटरमाथि हेडवर्क्स सार्न सुझाएको थियो । मेलम्ची नदीको पानी काठमाडौं उपत्यकामा ल्याउने गरी सुरु गरिएको आयोजना दुई दशक नाघे पनि स्थायी रूपमा अझै पनि पानी ल्याउन सकेको छैन ।
आयोजनाले सिन्धुपाल्चोकको अम्बाथानबाट सुन्दरीजलसम्मको मुख्य सुरुङ, पानी डाइभर्ट गर्नका लागि हेडवर्क्स र सुन्दरीजलमा पानी प्रशोधन केन्द्र निर्माण गरेको थियो । ती संरचनामध्ये हालसम्म सुरुङ र प्रशोधन केन्द्र पूर्ण रूपमा सम्पन्न भएर चार वर्षअघिदेखि पानी वितरणका लागि सञ्चालनमा छन् । हेडवर्क्स भने सम्पन्न नहुँदै बाढीका कारण क्षतिग्रस्त भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । हेडवर्क्स प्रयोग गर्न नमिलेपछि यसअघि आयोजनाले अस्थायी बाँधमार्फत पानी ल्याउने गरेको थियो । १५ चैत ०७७ बाट मेलम्चीको पानी उपत्यकाका धारामा वितरण थालिएको थियो । बजेट सार्वजनिक गर्दै अर्थमन्त्री पुनले सरकारले मेलम्ची खानेपानी आयोजनाबाट स्वयम्भू, ताहाचल, बालुवाटार, विशालनगर, पानीपोखरी, मन्डिखाटार र चाबहिल क्षेत्रका ६ सय ४५ किलोमिटर पाइपलाइनको परीक्षण सम्पन्न गरी खानेपानी वितरण गरिनेसमेत बताएका छन् ।
खानेपानी मन्त्रालयका लागि २६ अर्ब ६३ करोड
सरकारले आगामी आवका लागि खानेपानी तथा सुविधा विस्तारबाट थप चार लाख ९५ हजार जनसंख्या लाभान्वित हुने गरी काम गर्ने जनाएको छ । यसका लागि सरकारले खानेपानी मन्त्रालयलाई २६ अर्ब ६३ करोड रुपैयाँ विनियोजन गरेको छ । यसैगरी, सरकारले ३७ करोड लिटर फोहोर पानी प्रशोधन क्षमताको धोबीघाट प्रशोधन केन्द्र सञ्चालनमा ल्याउने भएको छ । धोबीघाट, बालकुमारी र सल्लाघारीमा फोहोरपानी प्रशोधन केन्द्रको निर्माण कार्य सुरु गर्ने भएको हो ।
खोटाङको हलेसी र संखुवासभाको खाँदबारीमा खानेपानी र ढल निर्माण पनि सुरु गर्ने भएको छ । बजेटमा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा खानेपानी, सरसफाइ तथा स्वच्छता सुधारका कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ । सन् २०३० सम्म स्वच्छ खानेपानीमा सबैको पहुँच पु¥याउने गरी सेवा विस्तार गरिने र प्रदेश र स्थानीय तहको समन्वय तथा सहकार्यमा ‘एक घर एक धारा अभियान’लाई निरन्तरता दिने पुरानै कार्यक्रमलाई बजेटमा दोहो¥याएको छ ।
उपत्यकाका ४४ चोकमा स्मार्ट ट्राफिक लाइट
सरकारले काठमाडौं उपत्यकाभित्रका ४४ वटा व्यस्त चोकमा स्मार्ट ट्राफिक लाइट जडान गर्ने भएको छ । आर्थिक वर्ष ०८१/८२ का लागि मंगलबार बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् । यसअघि काठमाडौं महानगरले गत माघदेखि एक हजार २६ स्मार्ट सडक बत्ती राखेर रातको समयमा हुने दुर्घटना नियन्त्रणका लागि काम थालिसकेको छ । यसैगरी, सरकारले सम्भावित दुर्घटनास्थल पहिचान गरी घुम्ती तथा साँघुरो सडकमा ‘क्रस ब्यारियर’ निर्माण गर्ने जनाएको छ । सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित राष्ट्रिय सडक सञ्जालका लागि डिजाइन तथा निर्माणको चरणमा सडक सुरक्षा परीक्षणको व्यवस्था गरिने बजेटमा उल्लेख भएको छ ।