सञ्चालनमा रहेका सबै सरकारी उद्योग घाटामा

अर्थ मन्त्रालयले आइतबार जारी गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, ०८१’ अनुसार २६ सार्वजनिक संस्थानले भने नाफा कमाएका छन्

सोमबार, १४ जेठ, २०८१
डिजिटल संस्करण

सरकारले सञ्चालन गरिरहेका सबै उद्योग घाटामा गएका छन् । अर्थ मन्त्रालयले आइतबार जारी गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, ०८१’ अनुसार हाल सञ्चालनमा रहेका सातवटै उद्योग खुद नोक्सानमा रहेको देखिएको हो । सरकारले दुग्ध विकास संस्थान (डिडिसी), जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड, हेटौँडा सिमेन्ट उद्योग लिमिटेड, नेपाल औषधि लिमिटेड, उदयपुर सिमेन्ट उद्योग लिमिटेड, नेपाल ओरिन्ड  म्याग्नेसाइट र बुटवल धागो कारखाना लिमिटेड सञ्चालन गरिरहेको छ ।

स्वदेशी कच्चा पदार्थको उपयोग क्षेत्रको मूल्यमा हस्तक्षेप गरी उपभोक्तालाई सहुलियत दिनेदेखि निर्यात गर्नेसम्मको लक्ष्य राखेर सरकारले स्थापना गरेका यी उद्योग अहिले घाटामा सञ्चालन भइरहेका छन् । देशभर दुध बिक्रीमा करिब ५० प्रतिशत हिस्सा ओगटिरहेको डिडिसी गत आर्थिक वर्ष ०७९/८० मा ४८ करोड ४२ लाख घाटामा गएको छ । निजी क्षेत्रका साना–ठूला डेरी उद्योग भने नियमित नाफामा सञ्चालित छन् । 

त्यस्तै, सरकारको स्वामित्वका दुई सिमेन्ट उद्योग हेटौँडा र उदयपुर पनि घाटामा छन् । हेटौँडा सिमेन्ट २५ करोड ४९ लाख र उदयपुर सिमेन्ट ३६ करोड २९ लाख रुपैयाँ नोक्सानमा छन् । सन्चो ब्रान्डमा औषधि उत्पादन गर्दै आएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड दुई करोड ८४ लाख रुपैयाँ नोक्सानमा छ । उद्योग स्थापनाको सुरुवाती समयमा नाफा आर्जन गरेको यो कम्पनी पछिल्लो समय बजार विस्तारको रणनीति बनाउन नसक्दा घाटामा जान थालेको हो । तर, जडीबुटी उद्योगले उत्पादन गर्ने प्रकृतिका औषधिहरू भने विभिन्न मुुलुकबाट आयात भइरहेका छन् ।

सिटामोल, जीवनजल, स्यानिटाइजरलगायतका विभिन्न औषधि उत्पादन गरिरहेको औषधि लिमिटेड १५ करोड ५५ लाख रुपैयाँ नोक्सानमा छ । बहुमूल्य धातु म्याग्नेसाइट उत्खननका लागि खोलिएको ओरिन्ड म्याग्नासाइडले गत आवमा १६ करोड ५९ लाख रुपैयाँ घाटा बेहोरेको छ । हाल खानी विभागको एउटा कोठामा सीमित यो उद्योगले उत्खननको काम गर्न सकेको छैन । तर प्राविधिक परीक्षण, मेसिनरी औजार खरिद र कर्मचारी भरणपोषणमा ठूलो रकम खर्च भइरहेको छ । बन्द अवस्थामा रहेको बुटवल धागो कारखानाले गत आवमा तीन करोड ४४ लाख रुपैयाँ नोक्सान बेहोरेको छ ।

  • नाफामा गएका संस्थानबाट सरकारले १० अर्ब ४५ लाख रुपैयाँ लाभांश प्राप्त गरेको छ । अघिल्लो वर्ष ०७८/७९ मा ६ अर्ब १५ करोड ५१ लाख मात्र लाभांश प्राप्त भएकोमा ०७९/८० मा ६२.५४ प्रतिशतले बढेको हो ।  
  • सार्वजनिक संस्थानबाट गत आवमा सरकारले १७ अर्ब ३९ करोड ४६ लाख आयकर प्राप्त गरेको छ । अघिल्लो आर्थिक वर्षमा सार्वजनिक संस्थानबाट १४ अर्ब ३८ करोड १८ लाख आयकर प्राप्त गरेको थियो । गत आर्थिक वर्षमा संकलन भएको संघीय सरकारको कुल आयकरमा सार्वजनिक संस्थानबाट संकलित आयकरको योगदान ६.९७ प्रतिशत छ । अघिल्लो आर्थिक वर्षमा आयकरको योगदान ५.५९ प्रतिशत थियो । सार्वजनिक संस्थानको कोषमा व्यवस्था नभएको दायित्व ४७ अर्ब ३६ करोड पुगेको छ । अघिल्लो आव ०७८/७९ मा यस्तो दायित्व ५२ अर्ब ८७ करोड दुई लाख थियो । 

सुझावित समाचार