सुस्मिता र अर्जुन वर्षको उत्कृष्ट खेलाडी

शनिबार, २९ बैशाख, २०८१
डिजिटल संस्करण

आइटिएफ तेक्वान्दोकी सुस्मिता थापामगर र क्रिकेटका अर्जुन कुमाल आठौँ पोखरा स्पोर्टस् अवार्ड २०८० को उत्कृष्ट खेलाडी घोषित

आइटिएफ तेक्वान्दोकी सुस्मिता थापामगर र क्रिकेटका अर्जुन कुमाल आठौँ पोखरा स्पोर्टस् अवार्ड २०८० को उत्कृष्ट खेलाडी घोषित भएका छन् । शुक्रबार नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको अवार्डमा पुरुषतर्फ अर्जुनले टेनिसका प्रदीप खड्का र भलिबलका हिमाल सुनारीलाई पछि पारे । महिलातर्फ सुस्मिताले आर्चरीकी अनुस्का शेरचन र भलिबलकी अरुणा शाहीलाई पछि पारेकी हुन् । दुवैले पुरस्कारस्वरूप इलेक्ट्रिक स्कुटर प्राप्त गरेका छन् । 

एथलेटिक्सकी इन्द्रा मल्लले लाइफटाइम अचिभमेन्ट अवार्ड हात पारिन् । अवार्डसँगै मल्लले चाँदीको करुवा प्राप्त गरिन् । तनहुँकी मल्लले विगत ४० वर्षदेखि एथलेटिक्ससहित भलिबल, बास्केटबल, टेबलटेनिससँग आबद्ध छिन् । 

१७ वर्षमुनिका खेलाडीबीच गरिएको वर्ष उदीयमान खेलाडीको अवार्ड ब्याडमिन्टनकी दिलासा रानाले हात पारिन् । उनले क्रिकेटकी ज्योत्सनिका मरासिनी र एथलेटिक्सका बादल कार्कीलाई पछि पारिन् । वर्ष उत्कृष्ट खेल प्रशिक्षकको अवार्ड भलिबलका रमेश केसीले हात पारे । यस विधामा केसीसँगै टेनिसका नीरज थापा र क्रिकेटका रिजन प्रजु मनोनयनमा परेका थिए । सहारा फुटबल एकेडेमी पोखराले उत्कृष्ट खेल संघ–संस्थातर्फको अवार्ड हात पार्‍यो । सहाराले पोखरामा फुटबल एकेडेमीसँगै हरेक वर्ष फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । कार्यक्रममा ओलम्पियन नारायण गुरुङ र टेनिसका अन्तर्राष्ट्रिय वरीयताप्राप्त खेलाडी अभिषेक बाँस्तोलालाई विशेष अवार्डबाट सम्मान गरिएको थियो । 

नयाँ पत्रिकाकर्मी पराजुलीलाई अवार्ड 
वर्ष उत्कृष्ट खेल पत्रकारतर्फको अवार्ड नयाँ पत्रिकाकर्मी रोहितराज पराजुलीले हात पारेका छन् । ०६१ सालदेखि निरन्तर पत्रकारितामा क्रियाशील रहेका पराजुली ०६६ फागुनदेखि नयाँ पत्रिका राष्ट्रिय दैनिकमा कार्यरत छन् । गत वर्ष पराजुली युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार ०८० बाट सम्मानित भएका थिए । चार विधामा उत्कृष्ट सबैले अवार्डसँगै जनही नगद ३५ हजार प्राप्त गरेका छन् । 

See More On

सुझावित समाचार