घरेलु टोली सांग्रिला सेमिफाइनलमा

आइतबार, १८ चैत, २०८०
डिजिटल संस्करण

घरेलु टोली सांग्रिला मोरङ फुटबल क्लब शनिबार आठौँ विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको क्वार्टरफाइनलमा भुटानको रोयल थिम्पु फुटबल क्लब (आरटिएफसी)लाई ३–२ ले पराजित गर्दै सांग्रिला अन्तिम चारमा पुगेको हो । विराटनगरको सहिद रंगशालामा प्राप्त जितसँगै सांग्रिलाले अब फाइनल प्रवेश खेलमा एपिएफ र चर्च ब्वाइज युनाइटेडबीच हुने विजेताविरुद्ध खेल्नेछ । सांग्रिलाका आशिष चापागाईं, सुशील राई र विदेशी खेलाडी स्याङले एक–एक गोल गरे । थिम्पुबाट सोरब दोर्जेले दुई गोल फर्काए । 

खेलको २६औँ मिनेटमा विवेक पौडेलको कर्नरमा आशिषले सांग्रिलालाई १–० को अग्रता दिलाए । एक गोलले पछाडि परेको थिम्पु चर्को दबाबमा प¥यो । मैदानमा संयमित हुँदै सांग्रिलाले ३३औँ मिनेटमा २–० को अग्रता गोल गरेको थियो । सांग्रिलालाई सुशील राईले हेडिङ गोल गरेर दोहोरो अग्रता दिलाएका हुन् । उनले मौसम लिम्बूले मध्यभागबाट निकालेको पास गोल गरेका हुन् । पहिलो तथा दोस्रो हाफमा सांग्रिलाले घरेलु दर्शकको साथ पाएको थियो । 

मध्यान्तरपछि सांग्रिला थप आक्रामक रूपमा प्रस्तुत भयो । खेलको ५०औँ मिनेटमा विदेशी खेलाडी स्याङले ३–० को अग्रता दिलाए । थिम्पुका गोलरक्षक डेन्डुपअगाडि बढेको मौकामा स्याङले दोस्रो बार च्याप्दै गोल गरे । थिम्पुका खेलाडीले फिनिसिङ पक्ष कमजोर बनाएका थिए । यसैकारण थिम्पुले प्राप्त गोल अवसर चुकाएको थियो । तर, दोर्जेले नौ मिनेटको अन्तरमा दुई गोल गर्दै थिम्पुलाई खेलमा फर्काउने प्रयास गरे । खेलको ६५औँ मिनेटमा उनले ३–१ को अन्तरका लागि गोल गरे । खेलेको ७४औँ मिनेटमा उनले ३–२ का लागि गोल गरे । केल्जाङ जिग्मेले प्रहार सांग्रिलाको गोलरक्षक विशाल सुनारले क्लियन पार्न नगरेको बलमा दोर्जेले गोल गरे । दोर्जेले दोस्रो गोल गर्दा जिङ्माले निकालेको पास सदुपयोग गरे । 

थिम्पुको गोल प्रयास
यसअघि १३औँ मिनेटमा थिम्पुका जिङ्माको पासमा केन्जुङले गोल अवसर खेल फाले । केल्जाङ जिग्मेले डिबक्सभित्रबाट गरेको प्रहार सांग्रिलाका गोलरक्षकले विशाल सुनारले उत्कृष्ट बचाए । सांग्रिलाका सुनिल खड्काले ६०औँ मिनेटमा वान भर्सेस वानमा गोल गर्न सकेनन् । हारपछि भुटानका प्रशिक्षक उगेन दोर्जेले पाएको अवसर चुकाउँदा पराजित भएको बताए । सांग्रिलामाका प्रशिक्षक रानु राना मगरले उत्कृष्ट प्रदर्शन गरेको कारणले सेमिफाइनमा पुगेको बताए । ‘सेमिफाइनलमा अहिलेको सेटमा केही खेलाडी थप हुनेछ,’ उनले भने । आइतबार एनआरटी र सिक्किम डे«गान भारतबीच हुनेछ । 

सुझावित समाचार