सुदूरपश्चिममा लगानी भित्र्याउन प्रदेशले माग्यो संघीय सरकारसँग सहयोग

सोमबार, ११ मंसिर, २०८०
डिजिटल संस्करण

आगामी फागुनमा लगानी तथा विकास सम्मेलन गर्ने तयारी गरिरहेको सुदूरपश्चिम प्रदेश सरकारले संघीय सरकारसँग सहयोग माग गरेको छ । मुख्यमन्त्री कमलबहादुर शाहसहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर सुदूरपश्चिममा लगानी भित्र्याउने वातावरण निर्माणका लागि सहयोग माग गरेका हुन् । भेटमा प्रदेशका आर्थिक मामिलामन्त्री नरेशबहादुर शाहीले सुदूरपश्चिममा निजी क्षेत्रको लगानी भित्र्याउन नीतिगत र अन्य क्षेत्रमा आवश्यक सहयोग गरिदिन आग्रह गरिएको बताए । उनले भने, ‘प्रधानमन्त्रीले सकारात्मक जवाफ दिनुभएको छ ।’ 

भेटमा मुख्यमन्त्री शाहले संघीय सरकारले केही नीतिगत व्यवस्था गरिदिए कृषि, उद्योगलगायत क्षेत्रमा लगानी गर्न चाहनेलाई जमिन, सडक, विद्युत्, पानीलगायतको समस्या समाधान गर्न प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्री शाहीका अनुसार सुदूरपश्चिममा लगानी गर्न चाहने ठूला लगानीकर्तालाई बैंकबाट सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने, निश्चित अवधिसम्म कर छुट दिनेलगायत नीतिगत व्यवस्था गरिदिन प्रदेशले संघीय सरकारसँग माग गरेको छ । ‘यो प्रदेशको सन्दर्भमा संघीय सरकारले सहुलियतपूर्ण ऋण, कर छुटलगायत केही विशेष नीतिगत व्यवस्था गरिदिनुपर्यो भनेका छौँ,’ उनले भने, ‘लगानीकर्तालाई प्रदेशका तर्फबाट गर्नुपर्ने सहयोग र सहजीकरणका लागि हामी तयार छौँ ।’

सुदूरपश्चिम प्रदेश सरकारले आगामी २३ र २४ फागुनमा प्रदेशको अस्थायी राजधानी धनगढीमा लगानी तथा विकास सम्मेलन गर्दै छ । प्रदेशमा निजी क्षेत्रको लगानी भित्र्याउन सम्मेलन महत्वपूर्ण हुने प्रदेश सरकारको अपेक्षा छ । सुदूरपश्चिमले गर्न लागेको लगानी सम्मेलनमा कसरी सहयोग गर्न सकिन्छ भनेर आगामी मन्त्रिपरिषद् बैठकबाट निर्णय गर्ने आश्वासनसमेत प्रधानमन्त्रीले दिएका छन् ।

भेटमा सहभागी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले कैलालीको चिसापानीदेखि राजकाँडासम्म केबलकार निर्माणको शिलान्यास लगानी सम्मेलनका क्रममा गर्ने गरी आफूहरूले तयारी अगाडि बढाएको बताएका थिए । मुख्यमन्त्रीसहितको टोलीले शनिबार नै काठमाडौंमा अर्थमन्त्री प्रकाशशरण महतलाई समेत भेटेर लगानी सम्मेलनमा सहयोग माग गरेको छ । 

सुझावित समाचार