चीन सरकारले पठाएको २८ करोडबराबरको राहत सामग्री पोखरा आइपुग्यो

बिहिबार, २३ कार्तिक, २०८०
डिजिटल संस्करण

भूकम्प प्रभावितको सहयोगका लागि चीन सरकारले पठाएको २८ करोड रुपैयाँ (१५ लाख चिनियाँ मुद्रा)बराबरको राहत सामग्री बुधबार पोखरा आइपुगेको छ । चिनियाँ जनमुक्ति सेनाको दुई कार्गो जहाज सिचुआनको छेन्दुबाट राहत सामग्री लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । पोखरामै चिनियाँ राजदूत चेन सोङले उपप्रधानमन्त्री एवंं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई राहत सामग्री हस्तान्तरण गरे । 

भूकम्पलगत्तै चीनले नेपाललाई १० करोडबराबरको राहत सामग्री प्रदान गर्ने घोषणा गरेको थियो । उक्त राहत सामग्री मंगलबार आइसकेको छ । बुधबार पनि चीनले केरुङ नाकाबाट थप १० करोड रुपैयाँबराबरका राहत सामग्री पठाएको छ । पोखरामा सैन्य जहाजले ल्याएको सामग्री विगतमा घोषणा गरेको भन्दा बेग्लै हो । 

चिनियाँ दुई जाहाज बिहान ९:३० बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । विमानस्थलमा आयोजित कार्यक्रममा राजदूत सोङले उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठलाई चार हजार ६ सय थान कम्बल र उच्च गुणस्तरका ६ सय थान टेन्ट हस्तान्तरण गरेका थिए । ती सामग्रीको तौल एक लाख ७९ हजार केजी छ । चीनले प्रदान गरेका ती सामग्री सशस्त्र प्रहरीले पोखराबाट ट्रकमार्फत भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम लाने भएको छ । 

सहयोग सामग्री बुझेपछि उपप्रधानमन्त्री श्रेष्ठले चीनले प्रदान गरेको सामग्रीमध्ये कम्बल भूकम्प प्रभावित सर्वसाधारणलाई तत्कालै वितरण गरिने बताए । प्राप्त टेन्टहरू सरकारी कार्यालयहरू, पालिकाका कार्यालयहरू, स्वास्थ्य कार्यालयहरू, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत अन्य कार्यालयहरू सञ्चालनका लागि प्रयोग गरिने उनले बताए । 

नेपाललाई संकटसँगै दुःख पर्दा चीनले सधैँ साथ र सहयोग दिने गरेको भन्दै श्रेष्ठले चीनले आउँदा दिनमा समेत आवश्यक सहयोग गर्ने वचन दिएको बताए । नेपाल र चीनको सम्बन्ध निकै पुरानो रहेको भन्दै श्रेष्ठले ०७२ को भूकम्पसँगै तथा कोरोनाको समयमा चीनले गरेको सहयोगको स्मरण गरे । 

राजदूत सोङले दुःखका समय नेपाली जनता र नेपाल सरकारसँग चीन सधैँ साथमा साथ दिन तयार रहेको बताए । नेपालमा भूकम्पले गरेको क्षतिको जानकारी पाएसँगै राष्ट्रपति सी जिनपिङले दुःख व्यक्त गरेको भन्दै उनले चीन सरकार नेपालको सुख–दुःखमा सधैँ साथ दिन तयार रहेको बताए ।

See More On

सुझावित समाचार