एसियाड : कराँतेका तीनै खेलाडी पराजित

बिहिबार, १८ असोज, २०८०
डिजिटल संस्करण

१९औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड)अन्तर्गत कराँतेको पहिलो दिन बिहीबार नेपालका तीन खेलाडीले प्रतिस्पर्धा गरेका छन्। तीनै खेलाडी पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका छन्।

लिन्पिङ स्पोर्टस् सेन्टर जिम्न्याजिममा भएको पुरुष ७५ केजीमुनि नेपालका शेखु मोहम्मद आलम कजाकिस्तानका खेलाडीसँग पराजित भए। कजाकिस्तानका नुरकान्त अझिकानोभले शेखुलाई ५–० ले पराजित गरे। 

रिपेचेजको पहिलो बाउटमा बाई पाएका शेखु रिपेचेजकै अर्को बाउटमा भने किर्गिस्तानका नजिम नुर्लानोभसँग २–० ले चुके।

एकल काताको पुरुषमा स्वर्णिम मानन्धर तथा महिलामा एलिसा मगर रास्कोटी पनि अगाडि बढ्न सकेनन्। स्वर्णिमले ३८.३० तथा एलिसाले ३७.३० अंक जोडे।

एथलेटिक्स :
एथलेटिक्सको म्याराथनमा नेपालबाट समान एक महिला र पुरुष खेलाडीले बिहीबार प्रतिस्पर्धा गरेका छन्। पुरुषमा राजन रोकाया र महिलामा पुष्पा भण्डारी दौडिए। पुरुषमा राजन समग्रमा १४औँ स्थानमा रहे। उनले निर्धारित दूरी पूरा गर्न दुई घन्टा २३ मिनेट १७ सेकेन्ड समय खर्चे।

१८ खेलाडी सहभागी भएकोमा साउदी अरबिया र किर्गिस्तानका खेलाडीले दौड पूरा नै गरेनन्। महिलामा पुष्पाले निर्धारित दूरी तीन घन्टा दुई मिनेट ३७ सेकेन्डमा सकाइन्। १७ खेलाडी सहभागी दौडमा पुष्पाले १६औँ स्थानमा दौड टुंग्याइन्।

बहराइनकी जिसा मोकानिन डेसीले दौड पूरा गर्न सकिनन्। म्याराथनको समापनसँगै एथलेटिक्समा नेपालको चुनौती समाप्त भएको छ।

सुझावित समाचार