दुई करोड गैरकानुनी सम्पत्ति देखिएका सिडिई शाक्यलाई एक वर्ष कैद

बिहिबार, २८ भदौ, २०८०
डिजिटल संस्करण

विशेष अदालतले गैरकानुनी सम्पत्ति मुद्दामा खानेपानी तथा ढल व्यवस्थापन विभागका सिनियर डिभिजनल इन्जिनियर राजकुमार शाक्यलाई दोषी ठहर गरेको छ । बुधबारको इजलासले उनीमाथि कसुर कायम गर्दै एक वर्ष कैद सजाय सुनाएको हो । न्यायाधीशद्वय यमुना भट्टराई र खुसीप्रसाद थारूको इजलासले यस्तो फैसला गरेको हो । 

दायर भएको तीन वर्षपछि मुद्दा ठहर हुने फैसला सुनाइएको हो । विशेषका उपरजिस्ट्रार धनबहादुर कार्कीले कैदका साथै बिगोबमोजिम असुलउपर हुने सजाय सुनाएको जानकारी दिए । ‘उहाँको दुई करोड ४२ लाख ६३ हजार रुपैयाँको स्रोत खुल्न नसकेपछि त्यसलाई बिगो रकम मान्दै उक्त रकमबराबर जरिवाना हुने र एक वर्ष कैद हुने सजाय सुनाइएको हो,’ उनले भने ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १६ असार ०७७ मा गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै शाक्यसमेत तीनजनालाई प्रतिवादी बनाई मुद्दा चलाएको थियो । उनले आर्जन गरेको सम्पत्ति श्रीमती अल्का शाक्य र भान्जी नाता पर्ने प्रभा शाक्यमाथि खर्च गरेको भन्दै उनीहरूलाई समेत प्रतिवादी बनाइएको थियो । उनीहरूले भने सफाइ पाएका छन् । 

शाक्य ०४९ जेठबाट सार्वजनिक सेवामा प्रवेश गरेका थिए । ओभरसियरका रूपमा सरकारी जागिर सुरु गरेका उनको बढुवा ०६४ माघमा भएको थियो । त्यसपछि ०७२ मा उनी सिनियर डिभिजनल इन्जिनियर पदमा बढुवा भई उनले खानेपानी तथा ढल व्यवस्थापन विभागका विभिन्न कार्यालय तथा आयोजना प्रमुखका रूपमा जिम्मेवारी पाउँदै आएका थिए ।

सिडिई शाक्यको ०७६ फागुनसम्मको सम्पत्ति गणना गर्दा वैध आय एक करोड ६१ लाख ७३ हजार रुपैयाँ हुनुपर्ने थियो । तर, उनले १२ करोड ३९ लाख रुपैयाँभन्दा बढीको सम्पत्ति सिर्जना गरेको भेटिएको थियो । यसरी १० करोड ७७ लाख रुपैयाँभन्दा बढी रकम वैध आयस्रोतले खामेको नपाइएपछि मुद्दा चलाइएको थियो । 
 

See More On

सुझावित समाचार