सर्पले डसेकी महिलाको झारफुक गर्दागर्दै मृत्यु

बुधबार, १३ भदौ, २०८०
डिजिटल संस्करण
सर्पले डसेकी महिलाको झारफुक गर्दागर्दै मृत्यु

प्रतिकात्मक तस्बिर

विषालु सर्पले डस्दा बैतडीमा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका– १ सेरीकी ५५ वर्षीया पार्वती घटाल रहेको जनाइएको छ।

मंगलबार राति भान्सामा खाना बनाइरहेकी घटाललाई सर्पले टोकेको र बुधबार बिहान १ बजेतिर मुत्यु भएको पञ्चेश्वर स्वास्थ्य चौकीका इन्चार्ज सुरेश सार्कीले जानकारी दिए। सर्पको टोकाइबाट गम्भीर घाइते भएकी घटालको झारफुक गर्दागर्दै मृत्यु भएको हो।

‘सर्पले टोकेलगत्तै अस्पताल लैजानुको साटो वैद्यलाई बोलाएर झारफुक गर्न लाग्नुभएछ,’ स्वास्थ्य चौकी इन्चार्ज सार्कीले  भने, ‘हामीलाई भर्खर मात्रै थाहा भयो, सर्पले टोकेपछि झारफुकको साटो अस्पताल लगेको भए ती महिलाले अकालमै ज्यान गुमाउनुपर्दैन्थ्यो होला।’

प्रहरीको टोली अहिले घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए। जिल्ला अस्पतालमा सर्पदंशको उपचार हुने भए पनि अस्पताल नल्याउँदा सर्पले टोकेकाहरू अकालमै ज्यान गुमाउन बाध्य भएका छन्।

पञ्चेश्वरमा मात्रै सर्पको टोकाइबाट यस वर्ष तीनजनाको ज्यान गइसकेको छ। यसअघि  साउन अन्तिम साता पञ्चेश्वर– ४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको  र  गत वैशाख तेस्रो हप्ता पञ्चेश्वर– २ डाँगा टोलकी २५ वर्षीया निर्मला लुहारको सर्पले टोक्दा मृत्यु भएको थियो।

See More On

सुझावित समाचार