खोलामा डुबेर तीन युवक र एक बालकको मृत्यु

आइतबार, १० भदौ, २०८०
डिजिटल संस्करण

बाँके, मकवानपुर र लमजुङमा खोलामा डुबेर तीन युवक र एक बालकको मृत्यु भएको छ । खोला र पोखरीमा डुबेर बाँकेमा दुईजनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार जानकी गाउँपालिका– ४ गिजराका २१ वर्षीय किरण बर्माको बेलहनी नालामा डुबेर मृत्यु भएको छ भने कोहलपुर नगरपालिका– १ कौशिलानगरका १७ वर्षीय सुरेश सार्कीको महेन्द्र तालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।

साथीहरूसँग खोलामा नुहाउन गएका बर्मा नालामा बेपत्ता भएका हुन् । उनलाई साथीहरूले करिब १५ मिनेटपछि पानीबाट निकालेका थिए । यस्तै, पौडी खेल्ने क्रममा बैजनाथ गाउँपालिका– ३ एलवी चोकस्थित महेन्द्र तालमा नुहाउने क्रममा सार्कीको डुबेर मृत्यु भएको हो । उनीसँगै पौडी खेल्न गएका अन्य दुईजना फरार रहेको प्रहरीले जनाएको छ । 

हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ सिमलटारनजिकै राप्ती खोलामा डुबेर शनिबार एक युवकको मृत्यु भएको छ । शनिबार दिउँसो खोलामा युवकको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयको खबरपछि घटनास्थल पुगेको प्रहरी टोलीलले शव खोलाबाट बाहिर निकालेको थियो । उक्त शव हेटौँडा– ११ थानाभर्याङ बस्ने ४५ वर्षीय कुमार भारतीको रहेको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए । शव पोस्टमार्टमका लागि हेटौँडा अस्पतालमा राखिएको र घटनाका बारेमा अनुसन्धान थालिएको डिएसपी कार्कीले बताए ।

लमजुङ र तनहुँको सिमानामा पाउँदी खोलाले बगाउँदा १० वर्षीय बालकको ज्यान गएको छ । पौडी खेल्ने क्रममा लमजुङको सुन्दरबजार नगरपालिका– ६, ऐँसेलुचौरका समर्पण परियारलाई खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ । 

परियारको पौडी खेल्ने क्रममा पाउँदी खोलाले बगाएर मृत्यु भएको हो । सुन्दरबजार नगरपालिका– ६ आदर्श प्राथमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत १० वर्षीय बालक र अर्को एकजना साथी पौडी खेल्न गएका थिए । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीका अनुसार शुक्रबार दिउँसो पौने २ बजेतिर बालकलाई खोलाले बगाएको र मृत अवस्थामा भेटिएको हो । पौडी खेलेको ठाउँबाट बालकलाई करिब चार सय मिटर तल खोलाले बगाएर लगेको अवस्थामा शव भेटिएको थियो ।

सुझावित समाचार