डोल्पा मुकुटेश्वर क्षेत्र : धार्मिक, ऐतिहासिक र प्रकृतिको अनुपम संगम [तस्बिरसहित]

मंगलबार, १६ साउन, २०८०
डिजिटल संस्करण

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– १ अन्तर्गत पर्दछ मुकुटेश्वर क्षेत्र। यस क्षेत्रमा पर्ने विक्रम शाही महाराज दरबार क्षेत्र पनि धार्मिक पर्यटनको अर्को आकर्षक गन्तव्य हो।

यी दुवै धार्मिक मात्र नभई ऐतिहासिक र पर्यटकीय हिसाबमा पनि उत्तिकै महत्वपूर्ण क्षेत्र हुन्। भगवान् शिवको शिरको रूपमा महत्व जोडिएको मुकुटेश्वर क्षेत्र आन्तरिक पर्यटकहरूको गन्तव्य बन्न थालेको छ। 

नेपालमै प्रसिद्ध शक्तिपीठको रूपमा परिचित त्रिपुरासुन्दरी मन्दिरको उत्तरदिशामा पर्ने मुकुटेश्वर  जिल्लामै उच्च गुणस्तरको बहुमूल्य जडीबुटी यार्सागुम्बा पाइने क्षेत्र पनि हो। 

यो क्षेत्र धार्मिक, ऐतिहासिक मात्र नभई बहुमूल्य जडीबुटी र प्राकृतिक हिसाबले पनि उत्तिकै महत्वपूर्ण छ।

सामुद्रिक सतहदेखि करिब चार हजार पाँच सय मिटर उचाइमा रहेको मुकुटेश्वर तीर्थस्थलसम्म पुग्न त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने त्रिपुराकोटबाट दुई दिनको पैदल यात्रा तय गर्नुपर्दछ।

कम्मर कसेरै यात्रा गरे एकै दिनमा पुग्न सकिने भए पनि यात्राका क्रममा देखिने गाउँबस्ती, पाखापखेरा, छाँगा–छहराहरूको रमणीय दृश्यहरू नियाल्दै जाँदा दुई दिनको यात्रा उपयुक्त हुने करेलीकाँडाका स्थानीय ज्ञानबहादुर बुढाले बताए।

मोटरसाइकल र गाडी लिएरै यात्रा गर्छु भन्नेहरूका लागि त्रिपुराकोटबाट आधा घन्टामै करेलीकाँडासम्मै पुग्न सकिने उनको भनाइछ।

मुकुटेश्वर यात्राका क्रममा यस बस्तीलाई मुकुटेश्वर र विक्रम शाही महाराज दरबार पुग्नका लागि बेसक्याम्पको रूपमा समेत चिनिन्छ।

पहिलो दिनको यात्रामा त्रिपुराकोटबाट करेलीकाँडासम्म पुग्न सकिन्छ, जहाँ तिब्बतीयनसँगै खस संस्कृतिको अवलोकन गर्न सकिन्छ।

त्यति मात्र नभई त्यहाँ रहेका बौद्धमार्गीहरूका प्राचीन गुम्बाहरू, वास्तविक गाउँले जीवन, रहनसहन, वेशभूषा, कला, संस्कृति र हिमाली वनजंगलको अवलोकन गर्न पाइन्छ।

विशेष गरेर बर्खाको समयमा रमणीय वातावरण हुने भएकाले यस समयमा त्यहाँबाट त्रिपुराकोट बजार, लिकु, पहाडा, हुम, बन्तडी, सुँ, ठूलीभेरी नदी, जुफाल एयरपोर्टलगायतका क्षेत्रहरू कुहिरोमा हराइरहेको र झुल्किएको मनोरम दृश्य देख्न सकिन्छ।

सहरबजारमा बस्नेहरू करेलीकाँडामा पुग्दा अर्गानिक खानेकुरा तितेफापरको लगर, आलुलगायतका विशेष खानेकुराको स्वाद लिन पाइन्छ।

करेलीकाँडावासीबाट पाहुनालाई गर्ने न्यानो माया, सत्कार पाउन सकिन्छ। त्यहाँबाट अर्को दिन मुकुटेश्वर र महाराज दरबार क्षेत्रसम्म पुग्ने क्रममा धार्मिक महत्वसँग जोडिएको, बुकी, लुड्की, डोइली, नर्कालीलगायतका दर्जनौँ जातका फूलको बास्ना र प्राकृतिक सुन्दरताले यात्रा अत्यन्तै रमाइलो हुने गरेको आन्तरिक पर्यटकहरू बताउँछन्।

पवित्र तीर्थस्थलको रूपमा चिनिएको मुकुटेश्वर क्षेत्रमा जिल्लाभित्रका मात्रै नभई जुम्ला, जाजरकोटलगायतका छिमेकी जिल्लाबाट समेत तीर्थाटनका लागि पनि भक्तजन आउने गरेका छन्।

मुकुटेश्वर क्षेत्रमा पुगेर दर्शन गर्नाले शिव भगवान् प्रसन्न हुने र मनले सोचेको पूरा हुने विश्वास सर्वसाधारणमा छ।

मुकोट हिमालको नामबाट मुकुटेश्वर क्षेत्रको नाम रहेको बुढापाकाहरू बनाउँछन्। यस हिमालबाट झरेको पानीबाट बनेको तामेगाड खोलालाई पवित्र ताम्रावणी तीर्थस्थलको रूपमा चिनिन्छ। उक्त ताम्रावणी तीर्थस्थल पनि त्रिपुरासुन्दरी नगरपालिकामै पर्दछ।

वैशाख पूर्णिमा, साउन पूर्णिमा, भदै पूर्णिमाका वेला ताम्रावणी नदीमा स्नान गर्ने र बर माग्ने भक्तजनको घुइँचो लाग्ने गर्दछ।

प्रसिद्ध तीर्थस्थलको रूपमा चिनिएको ताम्रावणी नदीको विषयमा हिन्दूधर्मको पवित्र धर्मग्रन्थ त्रिपुरा सहस्र नामक पुस्तकमा पनि उल्लेख गरिएको त्रिपुराकोटका स्थानीय लक्ष्मी शर्माले बताए।

मुकुटेश्वर क्षेत्रमै दूधजस्तो सेतो र तेलजस्तो चिल्लो पानीको कुवासमेत रहेको उनले बताए । उक्त पानीका कुवाहरूमा नुहाउनाले मृत्युपछि मुक्तिको बाटो पाइने विश्वास रहेको उनको भनाइ छ।

मुकुटेश्वर यात्राको क्रममा देखिने छाँगा, छहरा, झरनाहरू अन्य पर्यटकीय आकर्षणहरू हुन्। बर्खाको समयमा लाग्ने कुहिरोले पनि आन्तरिक पर्यटकहरूको मन लोभ्याउने गर्दछ।

पर्यटक तथा भक्तजनलाई आश्रयस्थल

त्यस क्षेत्रमा पुग्ने पर्यटक तथा भक्तजनका लागि हिउँ र बर्सातबाट जोगिनका लागि त्रिपुरासुन्दरी नगरपालिकाले आश्रयस्थल निर्माण गरेको छ।

करिब चार हजार पाँच सय मिटर उचाइमा पर्ने भएकाले त्यहाँ जाँदा लेकसमेत लाग्ने गर्दछ। यस क्षेत्र डोल्पाका शैक्षिक संस्थाहरूका लागि याे क्षेत्र भ्रमणको रोजाइँमा पर्दै आएको छ।

उक्त क्षेत्रमा रहेका प्राचीन देवल, भग्नावशेष दरबार, त्यहाँबाट देखि छाँगा, छहरा, झर्ना, हरियाली वातावरण, त्यहाँ फुलेका रंगीचंगी फूल नै मुख्य आकर्षण रहेको भ्रमणमा पुगेका त्रिपुरा माध्यमिक विद्यालय काटियाचौरका विद्यार्थीले बताए।

स्थानीय देवी-देवताका पुजारीसमेत तीर्थाटन र पूजाआजाका लागि महाराज दरबार क्षेत्रमा पुग्ने गर्दछन्। त्रिपुरासुन्दरी नगरपालिकाले महाराज दरबार क्षेत्रलाई धार्मिक एवं ऐतिहासिक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न माग गरेकाे छ। 

अर्को गन्तव्य महाराज मन्दिर

मुकुटेश्वर क्षेत्रको अर्को प्रसिद्ध गन्तव्य भनेको सयौँ वर्ष पुरानो भग्नावशेषमा सीमित महाराज दरबार पनि एक हो।

दैवी शक्ति भएका विक्रम शाही महाराजको दरबार रहेका स्थानको रूपमा उक्त क्षेत्र परिचित छ। अहिले पनि दरबारका चारैतिर लगाइएका भग्नावशेष रूपमा गाह्राेहरू देख्न पाइन्छ।

स्थानीय ८५ वर्षीया रुवीप्रसाद न्यौपानेका अनुसार बाइसे–चौबिसे राज्यताका विक्रम शाही महाराजले डोल्पाका नौ राज्यको प्रमुखका रूपमा राज्य सम्हालेका थिए।

उनी धार्मिक स्वभावका भएकाले हिमालबाट नुहाउनका लागि बेँसीमा रहेको भेरीनदी र ताम्रावणी नदीको संगमस्थलमा पुग्ने गरेकाे उनले बताए। दूरीका हिसाबले महाराज दरबार क्षेत्रबाट भेरीनदी र ताम्रावणी नदीको संगमस्थलमा पुग्न एक दिन पूरै लाग्छ। 

दैवी शक्ति भएका कारण विक्रम शाही महाराज प्रत्येक दिन नुहाउन तल झर्ने त्यसपछि त्रिपुरासुन्दरी मन्दिरमा आएर देवीको दर्शन गरेर पुनः आफ्नै दरबारमा फर्कने गरेको इतिहास रहेको न्यौपानेको भनाइ छ।

न्यौपानेका अनुसार राजा भएकाले विक्रम शाही महाराजाले जनताका मुद्दा पनि छिनोफाने गर्थे। त्रिपुरासुन्दरीमा दर्शन गरिसकेपछि मन्दिर तल रहेको खौलामा सर्वसाधारण जम्मा गर्ने र अन्यायमा परेकाहरूलाई न्याय दिलाउने गर्थे। 

नेपाल एकीकरण : राज्य बुझाउन नमानेपछि...

न्यौपानेका अनुसार नेपाल एकीकरणको क्रममा डोल्पाका नौवटा राज्य एकीकरण गर्न बहादुर शाहको टोली आयो। 

विक्रम शाही महाराज पनि दर्शनका लागि त्रिपुरासुन्दरी मन्दिरमा झरेका थिए। त्यसै बखतमा बहादुर शाहकाे टोलीले आत्मसमर्पण गर्न भनेपछि आफूले स्वाभिमानका साथ सञ्चालन गरेका राज्य दिन नसक्ने जवाफ दिए। 

बहादुर शाहको टोलीले मार्ने योजना बनाएपछि विक्रम शाहीले शत्रुका हातबाट मर्नुभन्दा आफैँ देवीको स्थानमा मर्छु भनेर मन्दिरमा खुकुरीले सेरिएर मरेको इतिहास छ। 

अहिले पनि विक्रम शाही महाराजको त्रिपुरासुन्दरी मन्दिरमा नित्य पूजाआजा हुने गर्दछ। मन्दिरमा उनको नामको छुट्टै काठको लिंगसमेत ठड्याइएको छ।

देशमा प्रधानमन्त्री, मन्त्रीलगायतका उच्चपदस्थ व्यक्तिहरूलाई अनिष्ट हुने देखियाे भने उक्त लिंगले संकेत गर्ने गरेको मन्दिरका पुजारी देवीकृष्ण उपाध्यायले बताए।

तस्बिरहरू : रामचन्द्र न्याैपाने/नयाँ पत्रिका 

सुझावित समाचार