गत वर्ष २६ कात्तिकमा गुल्मीको इस्मा गाउँपालिका– ५ की ७४ वर्षीया जीवकला थापाको हत्या भयो। करिब एक महिनासम्म प्रहरीले अपराधमा संलग्नको अत्तोपत्तो पाएन।
१७ पुस ०७९ मा शीतगंगा नगरपालिका– १० अर्घाखाँचीकी ६० वर्षीया राधा थापाको हत्या भयो। हत्या गरेर भाग्दै गरेका भारतीय नागरिक २५ वर्षीय सुशान्त सिंहलाई अर्घाखाँची प्रहरीले पक्राउ गर्याे। अनुसन्धानकै क्रममा सिंहले तीनवटा हत्याका घटनामा संलग्न रहेको स्वीकार गरे। थापा लामो समयदेखि घरमा एक्लै बस्थिन्। युटुबमा प्रसारित थापाको रिपोर्ट हेरेपछि सिंहले सोधखोज गर्दै घर पत्ता लगाएर हत्या गरेको खुल्यो।
१४ माघ ०७९ मा मुसिकोट नगरपालिका– ७ वामीनजिकै होटेल व्यवसायी ५८ वर्षीया गोपालकुमारी शेरचनको बीभत्स हत्या भयो। घटना बागलुङ र गुल्मीको सीमानजिकैको थियोे। गुल्मीको वामी प्रहरी र बागलुङको खर्वाङ प्रहरीले केही सुइँको पाएनन्। घटनामा संलग्न व्यक्तिहरू दुई महिनाभन्दा बढी समयसम्म फेला परेनन्।
गुल्मी प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले वामी घटनाको सन्दर्भमा ६ सयजनासँग कुराकानी गरेको दाबी गरे। एसपी र डिएसपी लामो समय वामी प्रहरी चौकीमै बसेर घटनाको अनुसन्धान गरे। श्रेष्ठकै याेजनाअनुसार केही प्रहरीलाई नजिकैका योजनास्थलहरूमा काम गर्न लगाइयो। स्वयं प्रहरीलाई समेत मादक पदार्थ सेवन गराएर होटेल र चोकहरूमा सूचना संकलनका प्रयास भए। तर, कसैले घटनाको कुरा चुहाएनन्।
बागलुङका एक व्यक्तिको सहयोगमा सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर र काठमाडौंबाट आएका व्यक्तिहरूले शेरचनको बीभत्स हत्या गरेका थिए। उनीहरू टिकटकको भिडियोको आधारमा गुल्मी आएका खुल्यो। टिकटकमा देखेको हातभरि औँठी र घाँटीमा सिक्री लगाएका गुल्मी पश्चिमका एक व्यक्तिको हत्याको योजना बनाएर आए पनि असफल भएपछि वामी पुगेको उनीहरूले प्रहरीमा बयान दिएका थिए।
‘प्रहरीको अनुसन्धानका लागि स्थानीयको सूचना महत्वपूर्ण हुन्छ। वामीको घटनामा ६ सयजनासँग कुरा गर्दा पनि कसैले सूचना चुहाएनन्,’ प्रहरी प्रमुख श्रेष्ठले भने, ‘प्रहरी अनुसन्धान विधि पुरानो र अपराधमा संलग्नहरूले प्रविधिलाई समेत छल्ने भएकाले चुनौती धेरै छन्।’
प्रहरीलाई चोरीका घटनाहरू पत्ता लगाउन पनि ठूलै चुनौती भइरहेको छ। केही समयअघि सत्यवती र चन्द्रकोटमा वित्तीय संस्था तथा व्यक्तिका घरहरूमा शृंखलाबद्ध चोरी भए। समयमै चोरीमा संलग्न पक्राउ नहुँदा प्रहरीले आलोचनासमेत खेप्यो। व्यक्तिकोमा नभए पनि सबै वित्तीय संस्थाहरूमा सुरक्षाका लागि सिसिक्यामेरा थिए। तर, प्रहरीले चोरीमा संलग्नको पहिचान गर्न सकेन।
गोरखाका व्यक्तिहरू पोखराबाट योजना बनाएर गुल्मी आएर चोरी गरेको अनुसन्धानका क्रममा खुलेको श्रेष्ठले बताए। ‘चोर्ने व्यक्तिहरू सिसिटिभी फुटेजमा आकृति मात्रै देखिने गरेर पसेका छन्। प्रमाण संकलनमा निकै गाह्रो भइरहेको छ,’ उनले भने, ‘एनसेल सिम प्रयोग गरेर भएका घटनाहरूको पहिचानमा झन् कठिनाइ छ।’ सीमा क्षेत्रमा अनुसन्धान गर्न प्रहरीबीचमै समन्वय नहुने उनको भनाइ छ।
चन्द्रकोट हुँदै सत्यवती र कालीगण्डकीमा भएका चोरीका घटना अरू स्थानीय तहमा हुन नदिनका लागि विशेष सुरक्षा रणनीति बनाएर परिचालन गरिएको थियो। जिल्ला प्रहरी कार्यालय र मातहतका युनिटहरूमार्फत अप्रेसन ९० अर्थात् ९० जनाको विशेष सुरक्षा फौज परिचालन गरेर ट्राफिक र नेपाल प्रहरीको संयुक्त जाँच, होटेललगायतका सार्वजनिक स्थानको निगरानी, शंकास्पद क्षेत्र घेराउ, मोबाइल, सिभिल गस्ती, एम्बुसलगायतका काम गरेर चोरी नियन्त्रण गरिएको प्रहरी प्रमुख श्रेष्ठले बताए।
पहाडी जिल्लाहरूको भौगोलिक अवस्था, खुला सीमा, प्रहरीमा प्रविधि र प्राविधिकहरूको कमी, दरबन्दीअनुसारको जनशक्ति नहुनु र स्थानीयको असहयोगका कारण प्रहरीलाई घटनाको अनुसन्धानमा समस्या भएको छ। नागरिक आफैँले पनि अपराध जोखिमका विषयमा ख्याल नगर्ने प्रहरीको भनाइ छ।
घटनापछि प्रहरी र अदालतमा बयान दिन जानुपर्ने तथा पछि आफैँ फस्ने भ्रमका कारण नागरिक प्रहरीसँग खुल्न नसकेको मुसिकोट नगरपालिका– ७ का रमेश क्षेत्रीले बताए। उनले प्रहरी आफैँले जनशक्ति बढाउने, गस्तीमा सचेत हुने, निगरानी र समन्वय बढाउने तथा स्थानीय तहसँगको समन्वयमा प्रविधि सुधार तथा सचेतनाका काम गर्नुपर्ने बताए।
तीन वर्षमा ७१७ वटा अपराधका मुद्दा
गुल्मीमा तीन वर्षमा सात सय १७ वटा अपराधका मुद्दा दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको त्रिवर्षीय तथ्यांकअनुसार आर्थिक वर्ष ०७९/८० मा दुई सय ३५ अपराधका मुद्दा दर्ता भएका छन्।
आर्थिक वर्ष ०७८/७९ मा दुई सय २२ र आर्थिक वर्ष ०७७/७८ मा दुई सय ६० मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए।
जिल्लामा सबैभन्दा धेरै आत्महत्याका मुद्दा दर्ता हुने गरेका छन्। तीन वर्षमा दुई सय ५० आत्महत्याका मुद्दा दर्ता भएका छन्। त्यस्तै, भवितव्य ज्यान र फुटकर ज्यानका मुद्दा दोस्रो स्थानमा दर्ता हुने गरेका छन्। तीन वर्षमा भवितव्य ज्यान र फुटकर ज्यानका एक सय ९८ मुद्दा दर्ता भएका छन्। अभद्र व्यवहारका मुद्दाहरू पनि एक सय आठवटा दर्ता भएका प्रवक्ता प्रहरी नायव उपरीक्षक पाण्डेयले जानकारी दिए।