रुरु क्षेत्र गाउँपालिकाले टीकासँगै दोसल्ला ओढाएर सम्मान पत्र दिएपछि कुलचन्द्र ज्ञवालीले विगतको तीतो यथार्थ स्मरण गरे। जुन वेला रोगले फर्म नष्ट भएर बिउ र विषादीको खर्च माग्न गाउँपालिका पुग्दा उल्टै आलोचना खेपेर घर फर्किएका थिए।
‘कम्तीमा सरकारको नेतृत्व गर्नेहरूले किसान सम्झिन थाले। मलाई सम्मानले खुसीसँगै विगतको स्मरण दिलायो,’ उनले भने, ‘आज मूल्यका चोटका बीच कर्मले सम्मान पाएको छ।’
रुरु क्षेत्र गाउँपालिका– ४ का ज्ञवालीले ५२ रोपनी जग्गामा पाँच वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका छन्। ज्ञवाली परिवार नै कृषि कर्ममा छन्। कुलचन्द्रका अनुसार गत वर्ष मात्रै ६३ लाखको तरकारी कारोबार भएको छ।
उनले विधाअनुसारका समस्या फरक भए पनि मूल्य नपाउँदाको चोट सबैसँग भएको प्रतिक्रिया दिए। ज्ञवालीले उत्पादन धेरै भए बजार किसानको घरसम्म आउने भए पनि उत्पादनले मूल्य नपाएको गुनासो गरे।

रुरु क्षेत्र गाउँपालिका– २ का चिरञ्जीवी अर्याललाई पनि गाउँपालिकाले सम्मान गरेको छ। उनले एक हजार नाै सय कुखुरा पालेका छन्। दैनिक एक हजार सात सय अन्डा उत्पादन हुन्छ। नाफाको ग्यारेन्टी, बिमामा किसानको पहुँच अभिवृद्धि तथा बजार र मूल्यको समस्या अर्यालले सुनाए।
उनले पालिकाले साना–ठूलालाई स्तरको छुट्याएर अनुदान वितरण गर्नुपर्ने र दाना तथा घाँसमा अनुदान पाए किसानलाई राहत हुने प्रतिक्रिया दिए।
वार्षिक १६ हजार लिटर बढी दूध बिक्री गर्ने रुरु क्षेत्र गाउँपालिका– ५ का बाबुराम श्रेष्ठ, ५० भन्दा बढी बाख्रापालन गरेर वार्षिक साढे चार लाखभन्दा बढीको बिक्री गर्ने रुरु क्षेत्र गाउँपालिका– १ का राजेन्द्र थापालाई पनि उत्पादनमा आधारित उत्कृष्ट कृषकलाई सम्मान गरिएको पशु शाखा प्रमुख अमित ज्ञवालीले जानकारी दिए।
त्यस्तै, एक सय ४५ बोट सुन्तलाबाट वार्षिक ५० क्विन्टल सुन्तला बिक्री गर्ने रुरु क्षेत्र गाउँपालिका– ४ का युवराज ज्ञवाली, व्यावसायिक मौरीपालन गर्ने रुरु क्षेत्र गाउँपालिका– ६ का टेकबहादुर पचभैया र १८ रोपनीमा १३ वटा पोखरी निर्माण गरेर व्यावसायिक माछापालन गर्ने रुरु क्षेत्र गाउँपालिका– ५ का कृष्णप्रसाद ज्ञवालीलाई पनि गाउँपालिकाले सम्मान गरेको छ। ज्ञवालीले वार्षिक चार लाखभन्दा बढीको माछा बिक्री–वितरण गर्ने गरेका छन्।
बच्चा र माउ गरेर २७ वटा बंगुर पालन गरेका रुरु क्षेत्र गाउँपालिका– २ की सिर्जना प्रजा सार्की, खुदो र गुणको व्यापारमा अब्बल रुरु क्षेत्र गाउँपालिका– ३ का चोलानाथ ज्ञवालीलाई पालिकाले सम्मान गरेको छ।
ज्ञवालीले वार्षिक १० देखि १५ लाखको कारोबार गर्ने गाउँपालिकाका पशु स्वास्थ्य शाखा प्रमुख ज्ञवालीले बताए। त्यस्तै, ४५ वटा बोटमार्फत वार्षिक दुई लाखको लिची व्यापार गर्दै आएका रुरु क्षेत्र गाउँपालिका– १ का टेकबहादुर कामीलाई पनि गाउँपालिकाले सम्मान गरेको छ।
किसानलाई कृषि पेसामा ऊर्जा प्रदान गर्न कृषक सम्मानलाई नियमित गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौडेलले बताए।
पौडेलका अनुसार व्यावसायिक कृषि गर्नेहरूका लागि कृषि कर्जामा अनुदान दिने, जग्गा भाडामा लिएर व्यावसायिक कृषि कर्म गर्नेहरूका लागि जग्गा भाडामा अनुदानलगायत, दूधमा उत्पादनमा आधारित अनुदान प्रदान गर्ने गरिएको छ।
रुरु क्षेत्र गाउँपालिकाका प्रमुख यदु ज्ञवालीले माटोमा रमाउनेहरूको सम्मानले सबैलाई ऊर्जा प्राप्त भएको बताए। गाउँपालिकाले आयातित कृषि उपजको सेवनका कारण अहिले अधिकांश घरमा गम्भीर रोगका बिरामी बढिरहेको अवस्थामा व्यावसायिक कृषि कर्ममार्फत समृद्धि प्राप्त गरिरहेका किसानलाई प्रोत्साहन गरेको ज्ञवालीले बताए।
उनले बेरोजगारीको नाममा गाउँका उर्वर खेतबारी बाँझो बनाएर परदेश पस्ने युवाहरूको अवस्थालाई केही हदसम्म रोक्न आफूहरूले कृषि र पशुपालनका योजनाहरू नीति तथा कार्यक्रममा समेटेको बताए।