अन्य समयको दाँजोमा वर्षायाममा एलर्जिक, ब्याक्टेरियललगायत आँखाको संक्रमणका समस्या लिएर अस्पताल धाउनेको संख्या धेरै हुन्छ । यस समय हावामा आर्द्रता बढी हुने भएकाले एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण सहजै सर्न सक्छ । इन्फेक्सन हुँदा आँखा रातो हुने, चिलाउने, पाक्ने, चहर्याउने, आँखाबाट पानी बग्नेलगायत समस्या देखिन्छन् । यस्ता लक्षण देखिएमा चिकित्सकसँग सम्पर्क राख्नुपर्छ । भिडभाडमा निस्कनुहुँदैन । संक्रमणका लक्षण देखिएमा बच्चालाई स्कुल पठाउनुहुँदैन । उनीहरूमार्फत अन्यमा संक्रमण सर्न सक्छ ।
कतिपय मानिसले आँखा चिलाउँदा वा पाक्दा चिसो पानी आँखामा छ्याप्ने पनि गर्छन् । तर, यो गलत अभ्यास हो । पानी सफा छ भन्दैमा बाल्टीमा राखेर आँखा डुबाउने, हातले आँखामा पानी छ्याप्ने गर्नुहुँदैन । किनकि, तपाईंको औँलाहरूमा रहेका कीटाणुले संक्रमण निम्त्याउन सक्छन् । आँखालाई हातले रगेड्नु पनि हुँदैन । औँलामा रहेका ब्याक्टेरिया आँखामा फैलन सक्छन् । हात सफा गरेर चिसो पानी वा आइसले सेक्न भने सकिन्छ ।
रोकथाम
- प्रदूषणबाट बच्न सूर्यको विकिरणबाट आँखालाई जोगाउनुपर्छ । यसका लागि बाहिर निस्कँदा अल्ट्राभ्वाइलेट रे प्रोटेक्सन भएका चस्मा लगाउन जरुरी छ । रुमाल, टावेललगायत सामग्रीमार्फत संक्रमण सर्न सक्छ । त्यसैले आँखा पाकेका मानिसले प्रयोग गरेका यस्ता सामग्री अन्य मानिसले प्रयोग गर्नुहुँदैन ।
- आँखामा समस्या देखिएका वेला मेकअप गर्नुहुँदैन । यसले समस्या बढाउन सक्छ ।