संघले निजामती ऐन अड्काएपछि धमाधम सचिव बढुवा गर्न थाले प्रदेश सरकार

बिहिबार, २१ असार, २०८०
डिजिटल संस्करण
संघले निजामती ऐन अड्काएपछि धमाधम सचिव बढुवा गर्न थाले प्रदेश सरकार

पोखरामा भएको अन्तर प्रदेश मुख्यमन्त्री बैठकपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाई गत १५ असारमा १७बुँदे साझापत्र बुझाइँदै । फाइल तस्बिर

मधेसपछि संघीय सरकारलाई बागमती प्रदेशको ‘काउन्टर’

संविधान जारी भएको आठ वर्ष र मुलुकले संघीयताको अभ्यास थालेको ६ वर्ष पुग्दा पनि संघ सरकारले निजामती सेवा ऐन जारी नगरेपछि प्रदेश सरकारले काउन्टर दिन थालेका छन् ।

संघीय संरचनाको पहिलो कार्यकालमा संघीय छाता ऐन पर्खेर बसेका प्रदेश सरकार (मधेसबाहेक)ले आफैँ प्रदेश सचिव (११औँ तह)मा कर्मचारी बढुवा गर्न थालेका हुन् । ०७५ मा कर्मचारी समायोजन हुँदा प्रदेश र स्थानीय तहमा पुगेका कर्मचारीको वृत्तिविकास अन्योल भइरहेका वेला मधेस र बागमतीले प्रदेश निजामती सेवा ऐनमा व्यवस्था गरेर कर्मचारी बढुवा गरिरहेका हुन् । 

अहिले प्रदेश प्रमुख सचिव (विशिष्ट श्रेणी) र प्रदेश सचिव (राजपत्रांकित प्रथम श्रेणी) संघले नै खटाइरहेका वेला बागमतीको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डा. चन्द्रप्रसाद लुइँटेल र पूर्णबहादुर दर्जीलाई शिक्षा एवं प्रशासन सेवातर्फ एघारौँ तह (प्रदेश सचिव)मा बढुवा गर्ने निर्णय गरेको छ । 

गत वर्ष १८ फागुनमा बागमती प्रदेश निजामती सेवा ऐन जारी भएपछि २३ जेठमा ११औँ तहका कर्मचारी सचिव हुने गरी प्रदेश लोकसेवा आयोगसमक्ष बढुवासम्बन्धी सूचना प्रकाशनका लागि सिफारिस गरेको थियो । बागमती सरकारका प्रवक्ता एवं कानुनमन्त्री गंगानारायण श्रेष्ठले प्रदेश निजामती सेवा ऐनमा रहेको ११औँ तहका कर्मचारी सचिव हुने व्यवस्थालाई टेकेर प्रदेशमा नै दरबन्दी कायम रही लुइँटेल र दर्जीलाई प्रदेश सचिवसरह रहने गरी ११औँ तहमा बढुवा गरिएको जानकारी दिए ।

बागमतीको निजामती सेवा ऐन, २०७९ को दफा १५ को उपदफा १ मा प्रदेश निजामती अधिकृतस्तरका एघारौँ तह सचिव, दशौँ, नवौँ, आठौँ, सातौँ र छैटौँ तथा सहायकस्तरका कर्मचारीका लागि पाँचौँ, चौथो, तेस्रो र तहविहीन कर्मचारीको परिकल्पना गरेको छ ।

प्रदेश सरकारले अन्य सेवाहरूको पनि बढुवा प्रक्रिया सुरु गर्ने जनाएको छ । खुला प्रतियोगिता, आन्तरिक अन्तरसेवा प्रतियोगिता र अन्तरतह प्रतियोगिताद्वारा पूर्ति हुने पदमा प्रदेश लोकसेवा आयोगको सिफारिसमा नियुक्ति गरिने व्यवस्था छ । बागमतीमा अधिकृतस्तर ११औँ तहको पदमा प्रदेश सरकारको मन्त्रिपरिषद्ले, अधिकृतस्तर दशौँ र नवौँ तहको पदमा प्रमुख सचिवले तथा आठौँ, सातौँ र छैटौँ वा सोसरहको पदमा सम्बन्धित मन्त्रालयका सचिवले नियुक्ति र पदस्थापन गर्ने व्यवस्था गरिएको छ । 

प्रदेश सचिव नियुक्तिको पहिलो अभ्यास मधेसबाट
प्रदेश सचिव नियुक्तिको पहिलो प्रादेशिक अभ्यास भने मधेस सरकारले गरेको हो । ०७७ मै प्रदेश निजामती सेवा ऐन जारी गरेको मधेसले अहिलेसम्म आधा दर्जन कर्मचारीलाई ११औँ तह (प्रदेश सचिव)मा बढुवा गरिसकेको छ । मधेसले ०७७÷७८ बाटै बढुवा सुरु गरेको हो ।

प्रदेश निजामती कर्मचारी ऐन, २०७७ र कर्मचारी समायोजन ऐन, २०७५ लाई टेकेर कर्मचारीको वरिष्ठताका आधारमा प्रदेश सचिवसम्मका कर्मचारीको बढुवा गरेको छ । प्रदेश सरकारले गत जेठमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा. प्रमोदकुमार यादवलाई जिम्मेवारी दिएको छ ।

यसअघि प्रदेश सरकारले प्रदेश वन निर्देशनालयका निर्देशक जगनाथप्रसाद जैसवाल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका जागेश्वर यादव, शिक्षा विकास निर्देशनालयका निर्देशक चूडामणि फुयाललाई ११औँ तहमा बढुवा गरिसकेको छ ।  यसबाहेक प्रदेश सरकारले सातौँ, आठौँ र नवौँ तहका कर्मचारीलाई पनि  बढुवा गरिसकेको छ । मधेस प्रदेश सरकारको कर्मचारी खटनपटनको काम मुख्यमन्त्री कार्यालयबाट हुँदै आएको छ भने सोही मन्त्रालयमा कर्मचारी बढुवा समिति छ । समितिमा प्रदेश लोकसेवा आयोगका एक सदस्यले उक्त समितिको अध्यक्षता गर्ने व्यवस्था छ ।  

प्रदेशकै सचिव रहने व्यवस्था गर्न ऐन संशोधन गर्दै कर्णाली
कर्णाली प्रदेशले पनि आफ्नै सचिव रहने कानुनी व्यवस्था कायम गर्ने भएको छ । यसअघि ०७८ मा जारी निजामती ऐनमा प्रदेश सचिव नियुक्तिबारे उल्लेख थिएन । तर, ११औँ तहको कर्मचारी प्रदेश सचिव रहने व्यवस्था गर्ने गरी ऐन संशोधनको तयारी रहेको कानुनमन्त्री कृष्णबहादुर जिसीले बताए । संशोधन विधेयक मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेको छ । यसअघि जारी ऐनमा प्रदेश निजामति सेवाको अधिकृत ११औँ तह वा सोसरहको पदमा प्रदेश सरकार र अधिकृत नवौँ तह र दशौँ तहको पदमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अधिकृत छैटौँ, सातौँ र आठौँ तहको पदमा नियुक्ति तथा पदस्थापन गर्ने व्यवस्था छ । 

कोसी, गण्डकी र सुदूरपश्चिमले ऐन जारी गरे, तर संघीय ऐन कुर्दै 
कोसी, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश निजामती सेवा ऐन जारी गरिसकेका छन् । तर, यी प्रदेशमा प्रदेश लोकसेवामार्फत कर्मचारी भर्ना भइरहे पनि बढुवा भने सुरु हुन सकेको छैन । प्रदेश सरकार संघीय निजामती ऐनको पर्खाइमा छन् । 

गत असोजमा अध्यादेशको सहारामा कर्मचारी भर्ना सुरु गरेको कोसीले फागुनमा मात्र प्रतिस्थापन विधेयकमार्फत ऐन जारी गरेको थियो । निजामती ऐन राजपत्रमा प्रकाशित भइसके पनि कोसीमा संघकै सहसचिव प्रदेश मन्त्रालय हाँकिरहेका छन् । 

गण्डकीले १४ फागुनमा जारी गरेको निजामती सेवा ऐनमा  ११औँ तहसम्मको कर्मचारी नियुक्त गर्ने व्यवस्था छ भने कर्मचारीको उमेरहद ६० वर्ष कायम गरिने भनिएको छ । तर, सरकारले यो ऐनमार्फत कर्मचारी बढुवा गर्न सकेको छैन । गण्डकी सरकारका प्रवक्ता सरस्वती अर्याल तिवारीले तत्काल सचिव नियुक्त गर्ने योजना नरहेको बताइन् । ‘प्रदेश सभामा बजेटको छलफल भरहेकाले सरकारको ध्यान बजेटतर्फ छ । सरकारले निजामती ऐन पारित गरिसकेको छ,’ उनले भनिन्, ‘हेर्दै जाऊ भोलि समय र परिस्थितिले सचिव नियुक्त गर्नु पर्ने अवस्था आएमा नियुक्त गर्नु पर्ला र सरकारले गर्छ पनि ।’

सुदूरपश्चिममा ऐन बाझियो संशोधनको तयारी
सुदूरपश्चिमममा भने प्रदेश निजामती ऐनका केही प्रावधान आपसमा बाँझिएको भन्दै ऐन कार्यान्वयनमा आउन नसकेको हो । पहिलो प्रदेश सभाले गत वर्ष १३ भदौमा पारित गरेको यो ऐन १९ भदौमा प्रदेश प्रमुखले प्रमाणीकरण गरेका थिए । प्रमाणीकरणसँगै ऐन लागू भए पनि त्यसमा भएका कुनै पनि प्रावधान कार्यान्वयनमा आउन नसकेका प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव विश्वदीप बेस्राले बताए । बाझिएका बुँदा संशोधनका लागि प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए । ‘यो ऐनमा भएका केही बुँदा आपसमा बाझिएका छन् । संघीय निजामति ऐन पनि आएको छैन । त्यही कारण कार्यान्वयन हुन नसकेको हो,’ उनले भने, ‘बाझिएका बुँदाहरू संशोधनको तयारी भइरहेको छ ।’ ऐन संशोधनको प्रस्ताव प्रदेश सभाले पारित गर्नुपर्नेछ ।

ऐनमा बढुवा, पदनाम, नियुक्तिलगायतका केही विषय बाझिएका र केही अस्पष्ट रहेको उनले बताए । ‘कुन तहको बढुवा गर्ने भन्ने विषय ऐनकै एकअर्काे प्रावधानसँग बाँझिएको छ । पदनाम स्पष्ट छैन । प्रमुख सचिवको कार्यकाल तीन वर्षको भनिएको छ, तर त्यसको तह र नियुक्ति स्पष्ट छैन,’ निमित्त सचिव बेस्राले भने, ‘यी विषय संशोधन भएपछि ऐन लागू हुन्छ ।’ निजामतीतर्फ ११औँ तहसम्म बढुवाको व्यवस्था गरिएको तर एक ठाउँमा १३औँ तहसम्म उल्लेख रहेको उनले बताए ।

प्रदेश निजामती सेवामा चौथोदेखि ११औँ तहसम्म रहने व्यवस्था ऐनमा छ । स्वास्थ्य सेवातर्फ १२औँ तहसम्मको व्यवस्था गरिएको छ । प्रदेश सरकारले अधिकृतस्तर ११औँ तहका कर्मचारीमध्येबाट ज्येष्ठता र कार्यकुशलताका आधारमा अधिकृतस्तर १२औँ तहको प्रमुख सचिव पदमा बढुवा गर्ने भनिएको छ ।

प्रदेश लोकसेवा आयोगमार्फत नवौँ तहसम्म खुला र आन्तरिक दुवैबाट पदपूर्ति गर्ने तथा ११औँ तहसम्म ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र त्योभन्दा माथि प्रदेश सरकारले नियुक्त र पदस्थापन गर्ने भनिएको छ । अधिकृत ११औँ र १२औँ तहका कर्मचारीलाई एक वर्ष र त्यसभन्दा तल्लो तहका कर्मचारीलाई दुई वर्षसम्म सरुवा गर्न नपाइने व्यवस्था यो ऐनमा गरिएको छ । तर। मुख्यमन्त्री कार्यालयको अनुमति लिएर भने तोकिएको अवधि नपुग्दै सरुवा गर्न सकिने भनिएको छ । प्रदेश निजामती ऐन कार्यान्वयनमा नआए पनि प्रदेश लोकसेवा आयोगले कर्मचारी भर्ना प्रक्रिया सञ्चालन गरिरहेको छ ।

लुम्बिनीले ल्याउन सकेन ऐन
लुम्बिनी र कर्णाली सरकारले भने प्रदेशमा निजामती सेवा ऐन ल्याउन सकेका छैनन् । यी प्रदेशमा लोकसेवामार्फत कर्मचारी भर्ना भए पनि बढुवा र वृत्तिविकासबारे अन्योल छ । लुम्बिनी मुख्यमन्त्री कार्यालयका कानुन सचिव राजेन्द्र थापाले ०७६ मै विधेयकको मस्यौदा बने पनि प्रदेश सभामा पेस हुन नसकेको बताए । कानुन नहुँदा कार्यविधिबाट काम भइरहेको उनले बताए । नेपाल निजामती कर्मचारी युनियन रुपन्देहीका सल्लाहकार शिव पंगेनी प्रदेशमा कानुन नबन्दा कर्मचारीको वृत्तिविकास रोकिएको बताउँछन् ।

सबै कार्यालयमा प्रदेशका कर्मचारी राख्छौँ : शालिकराम जम्कट्टेल, मुख्यमन्त्री, बागमती

प्रदेश निजामती ऐन लागू गर्न सुरु गरेर संघीयता कार्यान्वयनको एउटा महत्वपूर्ण कामको थालनी गरेका हौँ । अब  सकेसम्म प्रदेशका सबै कार्यालयमा प्रदेशकै कर्मचारीलाई जिम्मेवारी दिने तयारी थाल्नेछौँ । प्रदेशकै कर्मचारी हुँदा कार्यसम्पादनमा निकै सजिलो हुने र प्रदेशका काम प्रभावकारी हुने विश्वास लिएका छौँ । हाम्रै कर्मचारी प्रशसनले मन्त्रालय र कार्यालयको नेतृत्व गर्नेछ ।  यसले हाम्रो काम कारबाहीमा वा भनौँ कार्यसम्पादनमा जुन अप्ठ्यारो देखिँदै आएको थियो त्यो हट्छ र प्रदेशवासीलाई सेवा दिनेकाममा धेरै सहज हुन्छ । संघीय सरकारले पनि सहज रूपमा लिइदिनुपर्छ र संघीय निजामती ऐनले पनि बाटो खोलिदिनुपर्छ । हामीले गरेको बढुवा कानुनसम्मत छ । पोखरामा भएको मुख्यमन्त्रीको सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग संघीय निजामती ऐन ल्याउँदा प्रदेशहरूलाई सहज हुने गरी ल्याउन आग्रह गरिसकेका छौँ । संघीय सरकारले ल्याउने निजामती ऐनबाट प्रदेशहरूलाई कुनै अप्ठ्यारो पर्दैन । 

संविधानले दिएको अधिकार प्रयोग गरेका हौँ : सञ्जयकुमार यादव, अर्थमन्त्री, मधेस 

पाँच वर्षअघि नै तत्कालीन प्रधानमन्त्री र मुख्यमन्त्रीबीचको छलफलबाट निजामतीसहित छाता ऐन तत्काल जारी गर्ने र प्रदेश सचिव नियुक्तिको अधिकार प्रदेश सरकारलाई नै दिने आश्वासन पाएका हौँ । तर, संघ सरकारले ऐन जारी गरेन । सिंहदरबारबाट कर्मचारी पठाउने अनि चाँडोचाँडो सरुवा भएर जाने, सरुवा भएर मधेस आउन महिनौँ लगाउने समस्या बढेपछि हामीले संविधानले दिएको अधिकार प्रयोग गरेर ऐन जारी गरेका हौँ । र, सोहीअनुसार कर्मचारी नियुक्ति र बढुवाको काम भइरहेको छ । हालै मात्र पोखरामा मुख्यमन्त्री र प्रधानमत्रीको छलफलमा तत्काल ऐन जारी हुने आश्वासन पाएका छौँ । यदि ढिलाइ भएमा सबै मन्त्रालयमा मुख्यमन्त्री कार्यालयले सचिव खटाउनेछ, यो ऐनमा भएको व्यवस्था हो । 

संघको कमजोरीको सजाय प्रदेशले किन भोग्ने ? : उमेश मैनाली, पूर्वअध्यक्ष, लोकसेवा आयोग 
सिद्धान्ततः संघले कर्मचारी संघ खटाउने होइन ।  प्रदेश र स्थानीय तह आ–आफैँले पदपूर्ति गर्ने हो । व्यवस्थित नहुन्जेलसम्म, ऐन–कानुन नबुन्जेलसम्म संघले खटाउने व्यवस्था गरिएको हो । तर, ०७२ मा संविधान जारी भएकामा अहिलेसम्म संघीय निजामती सेवा ऐन जारी गरिएको छैन । संघले खटाउने कर्मचारीको स्थायित्व नहुने भएपछि प्रदेशले आफैँ ऐन जारी गरेर कर्मचारी नियुक्ति र बढुवा गर्न थालेका हुन् । संघीय सांसद र सरकारले गरेको गल्तीको सजाय प्रदेश र स्थानीय तहले किन भोग्ने ? विधेयक नै अगाडि  बढेको छैन ।  संविधानमै प्रदेश सेवा र स्थानीय सेवा सञ्चालनसम्बन्धी व्यवस्था भएकाले सोही व्यवस्था ऐन जारी गरेर कार्यान्वयन गरेका हुन् ।  संघ आफू ऐन पनि नबनाउने अनि प्रदेश र स्थानीय तहले बनाएको ऐन खारेज गर भनेर निर्देशन दिने ? यो मिल्दैन । प्रदेश सचिव, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत संघले खटाउन मिल्दैन, यो संघीयताको मर्मविपरीत हो  । 

हेटौँडामा पोष्टराज अधिकारी, जनकपुरधाममा हदिश खुद्दार, बुटवलमा विष्णु घिमिरे, पोखरामा रोहितराज पराजुली, सुर्खेतमा रमेश रावल र धनगढीमा तेजराज भट्ट

सुझावित समाचार