नेपाल लगातार दोस्रो खेलमा पराजित

आइतबार, २८ जेठ, २०८०
डिजिटल संस्करण

नेपाली राष्ट्रिय क्रिकेट टोली दोस्रो एकदिवसीय अभ्यास खेलमा नेदरल्यान्ड्ससँग पाँच विकेटले पराजित भएको छ । जिम्बावे प्रस्थान गर्नुअघि दक्षिण अफ्रिकामा भएको दुवै अभ्यास खेलमा नेपाल पराजित भएको हो । बिहीबार पहिलो खेलमा नेपाल स्कटल्यान्डसँग सात विकेटले पराजित भएको थियो । आइसिसी एकदिवसीय विश्वकप छनोटको ग्लोबल क्वालिफायर तयारीका लागि दक्षिण अफ्रिकामा रहेको नेपाली टोली यतैबाट जिम्बावे प्रस्थान गर्नेछ ।

चलेन नेपालको ब्याटिङ
दक्षिण अफ्रिकाको टक्स ओभलमा नेपालले प्रस्तुत गरेको एक सय ५७ रनको लक्ष्य नेदरल्यान्ड्सले ३६.१ ओभरमा पाँच विकेट गुमाउँदै भेट्टाएको थियो । नेदरल्यान्ड्सका ब्याटर वेस्ली ब्यारेसीले अविजित ६३ रनको योगदान गरेका थिए । कप्तान स्कट एडवार्डले २२ र विक्रमजित सिंहले २१ रनमा बनाए । नेपालका गुलसन झा र ललितनारायण राजवंशीले समान दुई तथा प्रतिश जिसीले एक विकेट लिएका हुन् ।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले ३६.५ ओभरमा सबै विकेट गुमाउँदै एक सय ५६ रनको योगफल तयार पारेको थियो । नेपालका कप्तान रोहितकुमार पौडेलले ३०, गुल्सन झाले २४, प्रतिश जिसीले १९, सोमपाल कामीले १८ र भीम सार्कीले १० रन बनाए । अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । नेदरल्यान्ड्सका लोगन भान विकले सात ओभरमा २६ रन खर्चेर सर्वाधिक पाँच विकेट लिएका थिए । क्लेटन फ्लोयडले दुई तथा रयाक क्लेन र सरिज अहमदले एक विकेट लिएका हुन् ।

१८ जुन देखि ९ जुलाईसम्म हुने छनोटमा आयोजक जिम्बावे, नेपाल, आयरल्यान्ड, नेदरल्यान्ड्स, ओमान, स्कटल्यान्ड, युनाइटेड अरब इमिरेट्स (युएई), अमेरिका र वेस्ट इन्डिज गरी १० टोलको सहभागिता छ । नेपालले १८ जुनमा जिम्बावेसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । दोस्रो खेल अमेरिका, तेस्रो खेलमा वेस्ट इन्जिड र चौथो खेलमा नेदरल्यान्डसँग खेल्ने तालिका छ । 

See More On

सुझावित समाचार