बिक्री नभएपछि बारीमै सुक्यो किसानको तरकारी

शुक्रबार, २६ जेठ, २०८०
डिजिटल संस्करण
बिक्री नभएपछि बारीमै सुक्यो किसानको तरकारी

बारीमै सुकेको दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं ११ मोतिपुरका राजेश डाँगीले लगाएको बन्दा । बन्दा बिक्री नभएर बारीमा सुकेर खेर जान थालेपछि किसानले वस्तुलाई खुवाउन थालेका छन्। तस्बिर : दीपक बोहरा/नयाँ पत्रिका

दाङको तुलसीपुर उपमहानगरपालिका– ११ मोतीपुरका राजेश डाँगी टन्टलापुर घामको पर्वाह नगरी आफ्नो खेतबारीमा पुग्छन्। उनलाई गर्मीले गर्दा निस्केको पसिनाको कुनै पर्वाह छैन। पसिना पुछ्दै बारीमा पुग्दा पनि उनमा उत्साह भने छैन।

उनले १७ कट्ठामा लगाएको बन्दा यस वर्ष काम नलाग्ने भएको छ। बिक्री नभएपछि वस्तुभाउलाई खुवाउनुपर्ने बाध्यता आएको छ। ‘१७ कट्ठामा लगाएको हुँ, एउटा पनि बिक्री भएन’, उनले भने, ‘अब गाई, बाख्रालाई खुवाउनुभन्दा विकल्प भएन।’ 

उनले यसरी खेती गर्न लागेको १० वर्षभन्दा बढी भयो । गएको वर्ष बन्दा राम्रै बिक्री भएको थियो । त्यही भएर पनि यस वर्ष हौसिएर उनले १७ कट्ठामा खेती गरे। 

‘गत वर्ष राम्रै माग भएको थियो, बिक्री पनि राम्रै भएको थियो,’ उनले भने, ‘त्यही भएर मैले यस वर्ष धेरै क्षेत्रमा यो खेती गरेको हुँ।’ गएको वर्ष उनले १० कट्ठामा मात्रै बन्दा खेती गरेको बताए।

भारतबाट आउने तरकारीले गर्दा यहाँको बन्दा बिक्री नभएको उनको गुनासो छ। ‘सबै भारतबाट आइहाल्छ,’ उनले भने, ‘त्यसले गर्दा हामीले उत्पादन गरेको तरकारीले बजार पाउँदैन।’ त्यस्तै सोही ठाउँका किसान डम्बरकुमारी खत्रीको पनि बारीमा सुक्दै गरेको बन्दा देख्दा मन कुँडिन्छ। 

कृषिप्रधान देशमा किसानले लगाएको तरकारी नै बिक्री नहुनुले मुलुक कता जाँदै छ भन्ने चिन्ताले पिरोल्ने गरेको उनी बताउँछिन्। 

‘कृषिप्रधान देश भन्छन्, हामीले लगाएको तरकारी बारीमै सुक्छ,’ उनले भने, ‘तरकारी बिक्री नभए पनि नसुक्ने, नबिग्रिने गरेर राख्न मिल्ने र प्रशोधन गरी अचारजस्ता कुरा बनाउने गरी सरकारले व्यवस्था गर्नुपर्थ्याे।’ 

गत वर्ष व्यापारी बारीमा लिन आउने गरेको भए पनि यस वर्ष किन्नसमेत नमानेको उनको भनाइ छ। यस्तै भइरहेमा अर्को वर्ष खेती गर्ने कि नगर्ने भन्ने कुराले आफूलाई दोधारमा परेको उनको भनाइ छ।

उनीहरूजस्तै जिल्लामा बन्दा खेती गर्ने किसानको हालत त्यस्तै छ। रु. पाँच किलोमा बिक्री गर्न खोज्दा पनि बिक्री नभएर गाईवस्तुलाई खुवाउनुपर्ने अवस्था आएको उनको भनाइ छ। खेती गर्दा रु. एक–डेढ लाख लगानी भए पनि त्यो लगानी उठाउनसमेत हम्मे–हम्मे परेको उनले बताए।

सुझावित समाचार