इन्टरनेटको लतबाट बच्ने उपाय

आइतबार, ७ जेठ, २०८०
डिजिटल संस्करण

इन्टरनेटले तपाईंलाई ज्ञानवद्र्धक तथा मनोरञ्जक सामग्रीहरू प्रदान गरिरहेको हुन्छ । एक क्लिकमै तपाईंले चाहेको कुरा भेटाउन सक्नुहुन्छ । तर, इन्टरनेटको लत लाग्यो भने तपाईंमा धेरै समस्या पनि देखिन सक्छन् । त्यसैले आवश्यकताबाहेक इन्टरनेट धेरै चलाउनु राम्रो होइन ।

सबैभन्दा पहिले इन्टरनेटले तपाईंको समयतालिकामा असर गर्छ । निजी जिन्दगीमा पनि असर गर्छ । इन्टरनेटमा अत्यधिक समय व्यतीत गर्दा अन्य जिम्मेवारी र काम छुटेको पत्ता हुँदैन । इन्टरनेटको लत लाग्नेलाई रातको समय राम्रो निद्रा लाग्दैन । लामो समय स्क्रिनमा बस्नेको आँखामा समस्या देखिन्छ । आँखा सुक्खा हुन्छ, कतिपयको आँखा चिलाउँछ वा पोल्छ । कतिपयलाई टाउको दुखाइ हुन्छ । एकै पोजिसनमा बस्दा पिठ्युँमा दुखाइ, गर्दनमा दुखाइलगायत समस्या देखिन्छ । शारीरिक गतिविधि वा व्यायाम कम हुन्छ । जसकारण वजन बढ्न सक्छ । कतिपयले इन्टरनेट मात्रै चलाइराख्छन् र खाना खान पनि भुल्छन्, जसकारण वजन घट्न सक्छ ।

समस्याबाट कसरी बाहिर निस्कने ? 
समस्या स्वीकार गरेपछि मात्रै मानिसले उपचारको विधि पहिल्याउने हो । त्यसैले समस्याबाट बाहिर निस्कनका लागि पहिले तपाईंले इन्टरनेटको लतलाई गम्भीर समस्याका रूपमा स्विकार्नुपर्छ । त्यसपछि पनि तपाईंले एकैपटक इन्टरनेटको लत हटाउन सक्नुहुन्न । तपाईंले बिस्तारै इन्टरनेटमा बिताउने समय घटाउँदै लग्नुपर्छ । 
हप्तामा तपाईंले ३६ घन्टाभन्दा धेरै समय इन्टरनेटमा बिताउनुभयो भने यसलाई लत मानिन्छ । तपाईंले यसलाई घटाएर १६ घन्टाभन्दा कम समयमा झार्नुपर्छ । राम्रो महसुस गर्नका लागि अन्य गतिविधिमा व्यस्त राख्नुस् ।

मानिसहरूसँग भेट्न सुरु गर्नुस् । खेल खेल्नुस् । परिवारसँग धेरैभन्दा धेरै समय बिताउने कोसिस गर्नुस् । घुम्न जानुस् । लामो दूरीको यात्रा गर्नुस् । किताब पढ्नुस् । डायरी लेख्न थाल्नुस् । यी उपायले इन्टरनेटको लतबाट छुटकारा पाउन मद्दत मिलेन भने मनोचिकित्सकको सहायता लिन सकिन्छ । 

सुझावित समाचार