संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगामी तीन दिनभित्र मातहतका कार्यालयमा खटाइएका कर्मचारीहरूले रमाना लिएको/ दिएको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ।
एक साताभित्र खटाइएको क्षेत्रको रमाना लिन वा दिन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीको निर्णयअनुसार २७ वैशाखमा मन्त्रालयले सम्बन्धित कार्यालयलाई परिपत्र गरेको थियो।
सोही परिपत्रको कार्यान्वयन गर्न मन्त्रालयले बुधबार तीन दिनभित्र विवरण उपलब्ध गराउन निर्देशन दिएको मन्त्री मोदीका प्रेस संयोजक बुद्ध लोप्चनले जानकारी दिए।
परिपत्रमा भनिएको छ, ‘मन्त्रालय/ आयोग/ सचिवालय/ प्रदेश वा अन्तर्गतका कार्यालयहरू र स्थानीय तहहरूमा सरुवा/पदस्थापना/ कामकाज/ काजमा खटाइएका र काज फिर्ता गरिएका संघीय निजामती कर्मचारीहरूको रमाना दिए/ लिएको विवरण मिति २०८०-०२-०७ गतेभित्र उपपलब्ध गराइदिनुहुन मन्त्रालयको निर्णयअनुसार अनुरोध छ।’
यसअघिको परिपत्रमा रमाना भई नजाने कर्मचारीलाई उपलब्ध गराएको सेवा, सुविधा र पारिश्रमिक सम्बन्धित कार्यालय प्रमुख र आर्थिक प्रशासन प्रमुखबाट असुलउपर गर्नेसमेत उल्लेख थियो।
मन्त्री मोदीको निर्णयपछि रमाना नलिई बसेका दर्जनभन्दा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र संघीय कार्यालय मातहतका कर्मचारीहरूले रमाना बुझेका छन्।
रमाना लिए/ दिएका विवरण प्राप्त भएपछि अटेरी गर्नेहरूमाथि अन्य कारबाहीका प्रक्रियाअगाडि बढाइने मन्त्रालयले जनाएको छ।