कोसीमा माओवादी र जसपा सरकारमै बस्दा सत्ता परिवर्तनमा समस्या, कांग्रेसको असन्तुष्टि

आइतबार, १७ बैशाख, २०८०
डिजिटल संस्करण

६ वटा प्रदेशमा केन्द्रको समीकरणअनुसार सत्तारूढ दलको नेतृत्वमा प्रदेश सरकार छन् । एमाले सत्ताबाहिरै छ । तर, कोसी प्रदेशमा भने एमाले नेतृत्वमा सरकार छ । एमालेको बहुमत भएर सत्ताको नेतृत्व गरिरहेको होइन । बरु एमालेका हिक्मतकुमार कार्कीले नेतृत्व गरेको कोसी सरकारलाई केन्द्रको सत्तारूढ दल माओवादी र जसपाले नै साथ दिएको छ । 

केदार कार्की सांसद, कांग्रेस
माओवादी र जसपा सरकारबाट बाहिरनुपर्छ अनि मात्र हुन्छ । सत्ता गठबन्धनको सिद्धान्तअनुसार उहाँहरूले समर्थन फिर्ता लिनुपर्ने हो । तर, के कारणले लिनुभएको छैन हामी खोज्दै छौँ ।

एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई केन्द्रको सत्ता नेतृत्व गरिरहेको दल माओवादीले र जनता समाजवादी पार्टीले नै सहयोग गरिरहेको छ । जबसम्म माओवादी र जसपा सरकारबाट बाहिरिँदैनन्, तबसम्म सरकार गठनको छलफल अघि नबढ्ने कांग्रेस सांसद केदार कार्कीले बताए । ‘माओवादी र जसपा सरकारबाट बाहिरनुपर्छ अनि मात्र हुन्छ,’ उनले भने, ‘सत्तागठबन्धनको सिद्धान्तअनुसार उहाँहरूले समर्थन फिर्ता लिनुपर्ने हो । तर, के कारणले लिनुभएको छैन, हामी खोज्दै छौँ ।’ एमालेले गत २५ पुसमा माओवादी, राप्रपा र जसपासहित ६० सांसदको समर्थन जुटाएर सरकार बनाएको थियो । माओवादी र जसपा कोसी सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । 

९३ सांसद रहेको कोसी प्रदेशमा एमालेको ४०, कांग्रेसको २९, माओवादीको १३ (सभामुखसहित), राप्रपाको ६, एकीकृत समाजवादीको चार र जसपाको एक सांसद छन् । नयाँ सरकार गठनका लागि ४७ जना सांसद आवश्यक पर्छ । कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपासँग ४७ जना सांसद छन् । यद्यपि, सभामुखले विश्वासको मत दिन नमिल्ने भएका कारण सत्ता परिवर्तन गलपासो बनेको हो । एमाले र राप्रपासँग ४६ सांसद छन् । केन्द्रमा पनि राप्रपा गठबन्धनमा नरहेका कारण उसले प्रदेशमा सत्तागठबन्धनलाई साथ दिने सम्भावना न्यून छ । 

सरकारलाई समर्थन गरिरहेको माओवादीले पनि संसद्को अंकगणितलाई दोष दिँदै उम्कने गरेको छ । सरकार परिवर्तनको खेलमा लाग्दा राजनीति अस्थिरता निम्तने र मध्यावधि निर्वाचनतर्फ जाने संशयले सरकारबाट नबाहिरिएको माओवादी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले बताए । 

कोसी प्रदेशमा माओवादीले मुख्यमन्त्रीको दाबी गरेको छ । माओवादीको मुख्यमन्त्री दाबीले पनि प्रदेश सरकार परिवर्तमा समस्या भएको कांग्रेसको बुझाइ छ । यद्यपि, माओवादीले भने मुख्यमन्त्रीको दाबी रहे पनि सरकार परिवर्तन नहुनुमा यो कारण नभएको बताए । ‘हाम्रो दलभित्र मुख्यमन्त्री दाबी त छँदै छ । तर, सरकार परिवर्तन नहुनुको कारणचाहिँ यो होइन । तर, शीर्ष तहले के गर्छ भन्ने हो,’ नेम्वाङले भने, ‘संसद्को अंकगणित नै यस्तो छ । अहिले सभामुखलाई नजोडौँ निष्पक्ष हुन दिऔँ भन्ने हाम्रो धारणा हो । त्यसकारण, सभामुखलाई जोडेका छैनौँ ।’

इन्द्र आङ्बो नेता, माओवादी

गठबन्धनको सरकार बनाउन प्रारम्भिक छलफल भइरहेको छ । संघीय सरकारमा मन्त्रिपरिषद् विस्तारको कुरा, ६ वटा प्रदेशमा सरकारमा गठबन्धनका दलहरूको सहभागिता र कोसीमा सरकार गठनबारे छलफल भइरहेको छ ।

तर, माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले भने कोसी प्रदेशमा सरकार परिवर्तनका लागि संसदीय अंकगणित अप्ठ्यारो नभएको बताए । उनले सहज नभए पनि सरकार गठन हुन सक्ने संख्या भएको दाबी गरे ।

‘कोसी प्रदेशमा गठबन्धनको सरकार बनाउन प्रारम्भिक छलफल भइरहेको छ । संघीय सरकारमा मन्त्रिपरिषद् विस्तारको कुरा, ६ वटा प्रदेशमा सरकारमा गठबन्धनका दलहरूको सहभागिता र कोसी प्रदेशमा सरकार गठनको कुरा शीर्ष तहमा छलफल भइरहेको छ । चाँडै नै ठोस निष्कर्षमा पुग्छ,’ आङ्बोले भने । उनले माओवादी सरकार गठनमा बाधक बन्ने, अल्झाउने र बार्गेनिङ गर्ने पक्षमा नरहेको बताए । ‘हाम्रो अल्झाउने, रोक्ने र कुनै खालको बार्गेनिङ गर्ने उद्देश्य छैन,’ उनले भने, ‘हामी केन्द्रको गठबन्धनको निर्णय मान्न तयार छौँ ।’

कांग्रसले पनि मुख्यमन्त्रीको दाबी गरिरहेको छ । कांग्रेस सांसद कार्कीले यसपटक मुख्यमन्त्रीमा कांग्रेसको दाबी रहेको बताए । ‘अघिल्लोपटक पनि हामीले त्याग गरेका हौँ । यसपटक हामी ठूलो दलको हैसियतमा पनि मुख्यमन्त्री पाउनुपर्छ भन्ने हो,’ कार्कीले भने । 

कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री कसलाई बनाउने भन्ने विषयमा कुनै विवाद नरहेको दाबी गरे । उनले आलोपालोमा सरकारको नेतृत्व गर्ने गरी सहमति हुने बताए । ‘कसलाई मुख्यमन्त्री बनाउने भन्ने विवाद त छैन । यहाँ हामी आलोपालोमा जाने हो । यहाँ कांग्रेस, माओवादी र एकीकृत समाजवादीले आलोपालोमा सरकारको नेतृत्व गर्ने हो,’ उनले भने, ‘हामीले शीर्ष नेतालाई भेटेर आलोपालोका लागि भनेका छौँ । त्यसलाई टुंग्याइदिए सहज हुने थियो । हामी नेतृत्वले गरेको निर्णय कार्यान्वयन गर्न तयार छौँ ।’

कोसी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले १०० दिनको उपलब्धि सार्वजनिक गर्ने क्रममा सहमतिको सरकार निर्माणका लागि आह्वान गरे । कोसी प्रदेशको परिस्थितिका कारण सहमतीय सरकार बन्न सक्ने बताउँछन्, कांग्रेस संसदीय दलका नेता थापा । ‘मुख्यमन्त्रीले सहमतिको सरकारका लागि आह्वान गर्नुभएको छ । अहिले कोसी प्रदेशको अवस्था हेर्दा सान्दर्भिक नै देखिन्छ,’ थापाले भने, ‘कि त राप्रपालाई साथमा लिएर जानुपर्‍यो !’

कोसी प्रदेशका मुख्यमन्त्री कार्की केन्द्रमा राजनीतिक समीकरण फेरबदल भए पनि प्रदेशमा भने पुरानो समीकरणमा समस्या नआएको बताए । ‘२४ पुसमा पार्टीहरूले लेखेर विश्वास व्यक्त गरे ती पार्टीबीचमा अहिले कुनै असमझदारी आएको छैन । फिर्ता हुने र हट्ने कुरा आएको छैन । त्यसैले यहाँ निरन्तर होला भन्ने छ । यसलाई राष्ट्रिय राजनीतिमा आउने फेरबदलले पनि छोएन,’ मुख्यमन्त्री कार्कीले भने, ‘न्यूनतम साझा कार्यक्रममा हामीले सहकार्य नै गरिरहेका छौँ । अहिले पनि हामी सल्लाहमै काम गरिरहेका छौँ । म कसैलाई मन्त्रीबाट हटाउने पक्षमा पनि छैन । राम्रो गर्नेलाई साथमा लिएर जाने हो ।’

सुझावित समाचार