मलेसियामाथि ओमानको सहज जित

आइतबार, १० बैशाख, २०८०
डिजिटल संस्करण

एसिसी प्रिमियर कपको एकदिवसीय क्रिकेटअन्तर्गत समूह ‘ए’ को आज भएको खेलमा ओमानले मलेसियालाई आठ विकेटले हराएको छ।

मूलपानी क्रिकेट मैदानमा दुई सय २८ रनको लक्ष्य ४१.४ ओभरमा सफलतापूर्वक पूरा गर्दै ओमान विजयी भएको हो। जितसँगै उसले महत्वपूर्ण दुई अंक जोडेको छ र तीन खेल सकिँदा चार अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। 

दुई खेल मात्र खेलेको नेपालको दुवै जितसहित चार अंक नै छ। राम्रो रनरेटका आधारमा नेपाल पहिलो स्थानमा छ। 

ओमानको जितमा जितेन्दर सिंह नायक बने। उनले एक सय ११ बलमा एक छक्का र १३ चौकाको सहयोगमा एक सय एक रन बनाए। 

त्यस्तै, कश्यप प्रजापतिले ६६ रन र जिसन मक्सुदले ५२ रन बनाए। बलिङतर्फ मलेसियाका मुहम्मद अमिरले दुई विकेट लिए। 

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय २७ रन बनाएको थियो। मलेसियाका लागि वीरनदीप सिंहले ९४ रन तथा मोहम्मद स्याहदातले ५५ रन बनाएका थिए। 

मलेसियालाई मध्यम स्कोरमा रोक्ने क्रममा ओमानका जिसन मक्सुदले चार तथा आयन खान र बिलल खानले दुई-दुई विकेट लिएका थिए।

यही समूहमा रहेको नेपालले भोलि आफ्नो तेस्रो खेल खेल्नेछ। 

सुझावित समाचार