गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै

शनिबार, ९ बैशाख, २०८०
डिजिटल संस्करण

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदै छन् । अल्पमतमा परेको ३० दिनभित्र विश्वास मत लिनुपर्ने कानुनी व्यवस्था अनुसार मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिन लागेका हुन् । उनी २५ पुसमा मुख्यमन्त्री नियुक्त भएर १० चैतमा अल्पमतमा परेका थिए । 

प्रदेश सभाको अधिवेशन आज दिउँसो ३ बजेबाट सुरु हुँदैछ । मुख्यमन्त्री अधिकारीले विश्वासको मतका लागि ९ गते बस्ने बैठकको कार्यसुचिमा राखिदिन प्रदेश सभा सचिवालयलाई बुधबार पत्राचार गरेको मुख्यमन्त्रीका प्रेस संयोजक सुसन घिमिरेले जानकारी दिए । 

पाँच दलको प्रतिनिधित्व रहेको ६० सदस्यीय गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका २७, एमालेका २२, नेकपा माओवादी केन्द्रका सभामुख सहित आठ, राप्रपाका दुई र एकीकृत समाजवादीका एक सदस्य छन् । 

नेकपा एमाले २२, नेकपा माओवादी केन्द्रका आठ, राप्रपाका दुई र मनाङ १ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएर निर्विरोध निर्वाचित भएका र पछि एकीकृत समाजवादीमा प्रवेश गरेका राजीव गुरुङ गरि ३३ जनाको समर्थनमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा २५ पुसमा अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए । 

त्यसपछि उनले २९ पुसमा विश्वासको मत लिएका थिए । २५ गते मुख्यमन्त्री नियुक्तीका लागि हस्ताक्षर गरेका राजीव गुरुङ विश्वासको मत लिने दिन भने बैठकमा अनुपस्थित रहेका थिए ।

६० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्रीका लागि ३१ सदस्यको समर्थन आवश्यक रहन्छ । सभामुख सहित आठ सदस्य रहेको माओवादीले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री अधिकारी अल्पमतमा परेका थिए । हाल अधिकारीलाई एमालेका २२ र राप्रपाका दुई गरि २४ जनाको मात्र समर्थन रहेको छ । 

माओवादीको समर्थन फिर्तासँगै मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाउने अवस्था गण्डकीमा छैन । मुख्यमन्त्री अधिकारीको पक्षमा एमालेका २२ र राप्रपाका दुई गरि २४ जनाको मात्र समर्थन रहने प्रष्ट छ । जबकी सरकारले विश्वासको मत पाउन ३१ जना सदस्यको समर्थन आवश्यक रहन्छ । यसरी हेर्दा अधिकारीले त्यो संख्यामा समर्थन जुटाउन सक्ने अवस्था देखिदैन ।

विश्वासको मत पाएमा अधिकारीको पद यथावत रहनेछ भने विश्वासको मत लिन असफल भए प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम प्रदेश सभामा सबैभन्दा बढी सदस्य भएको संसदीय दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्त गर्नेछन् । जस अनुसार कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे मुख्यमन्त्री हुने छन् । 
 

सुझावित समाचार