रिलिजको तीन दिनअघि फिल्म रोक्न अन्तरिम आदेश

‘प्रसाद २’ का निर्माताले साढे ६२ लाख खाएको भन्दै उच्च अदालतमा रिट

बुधबार, २२ चैत, २०७९
डिजिटल संस्करण

फिल्ममा पैसा हाले राम्रो आम्दानी हुने प्रलोभन देखाउँदै नयाँ–नयाँ लगानीकर्तालाई ‘मुर्गा’ बनाउने नेपाली फिल्म क्षेत्रमा पुरानै प्रवृत्ति हो । यही प्रवृत्तिका कारण आफू ठगिएको भन्दै निर्माता केशव पाण्डे अहिले न्याय माग्दै प्रहरी हुँदै अदालतको शरणसम्म पुगेका छन् ।

१६ असारमा आयोजित फिल्म ‘प्रसाद २’ निर्माणको भव्य घोषणासभामा पाण्डेलाई फिल्म निर्माताको परिचय गराइएको थियो । यो फिल्मको कुनै पनि प्रचार सामग्रीमा पाण्डेको नाम छैन । फिल्म रिलिजको चरणमा पुग्दा चलचित्र विकास बोर्डले समेत आफूलाई अन्याय गरेको भन्दै पाण्डे फिल्म प्रदर्शन रोक्न अदालत पुगेका छन् । 

मंगलबार उच्च अदालत पाटनले अर्को छलफलबाट निर्णय नभएसम्म फिल्मको प्रदर्शन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । २४ चैतमा रिलिज मिति तोकिएको यो फिल्मका लागि आफूले गरेको लगानीको हिसाबकिताब नभएसम्म रिलिज रोक्न अन्तरिम आदेशको माग गरेका थिए ।

न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले आगामी २६ चैतलाई अर्को पेसी तोक्दै दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । ‘आदेशमा के–कति कारणले अन्तरिम आदेश नदिनुपर्ने हो भनेर विपक्षीलाई आधार, कारण र प्रमासहित लिखित जवाफको मागसमेत गरिएको छ,’ उच्च अदालत पाटनकी प्रवक्ता उपराजिस्ट्रार मन्दिरा शाहीले भनिन्, ‘२६ चैतमा दुवै पक्षलाई छलफलमा बोलाइएको छ । छलफलबाट निर्णय नभएसम्म फिल्म प्रदर्शन नगर्नु–नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश जारी भएको छ ।’ अदालतमा निवेदक पाण्डेका तर्फबाट अधिवक्ताहरू सरोज अधिकारी, अरुण पौडेल र श्यामकुमार विश्वकर्माले बहस गरेका थिए । 

मंगलबार चलचित्र विकास बोर्डको पहलमा दिउँसो ४ बजेतिर ‘प्रसाद–२’ टिम फिल्म सेन्सरका लागि सेन्सर बोर्ड पुगिसकेको थियो । फिल्म सेन्सर प्रक्रिया चलिरहेकै वेला प्राविधिक संघको आपत्ति र अदालतबाट स्टे अर्डरको खबर आएपछि फिल्मको सेन्सरसमेत रोकिएको छ ।

विवादको अन्तर्य के हो ?

करिब दुई वर्षअघि साथीमार्फत ‘प्रसाद’का निर्माता सुवास थापासँग पाण्डेको परिचय भएको थियो । त्यसको एक वर्षपछि चिनजान बाक्लिँदै जाँदा मेडिकल व्यवसायी रहेका पाण्डेको आर्थिक आम्दानीबारे थापाले पत्तो पाए । फिल्म निर्माण गर्दा नाम पनि हुने, राम्रो कमाइ पनि हुने प्रलोभन देखाउँदै ‘प्रसाद’को सिक्वेल ‘प्रसाद २’ मा लगानी गर्न प्रस्ताव राखे । ‘विश्वासिलो साथी पनि जोडिएकाले मैले सोझो पारामा विश्वास गरेर लगानी गर्न तयार भएँ,’ निर्माता पाण्डे भन्छन्, ‘दुवैजनाले बराबर लगानी गर्ने सहमति थियो । त्यसपछि थापाले पैसा माग्दै गए, मैले पटक–पटक गरेर फिल्म सुटिङमा जानुअघि नै ६२ लाख ५० हजार रुपैयाँ दिएँ । जब फिल्म छायांकनका लागि कास्कीको ल्वाङघले पुग्यो, त्यसपछि पो पत्तो पाएँ– म त ठगिएछु, मुर्गा पो भएछु ।’

पाण्डेका अनुसार छायांकनमा पुग्दासम्म उनको तर्फबाट लगानी भएको रकम सबै सकियो । सुटिङ निरन्तरताका लागि त्यहाँ थप रकमको आवश्यकता प¥यो । सहमतिअनुसार पाण्डेले जति रकम लगानी गरे, अब त्यति नै रकम थापाको तर्फबाट लगानी हुनुपर्ने थियो । ‘तर, उहाँसँग त पैसा नै रहेनछ, अझै मलाई नै हाल्नुस्, म पछि मिलाउँछु पो भन्न थालियो,’ पाण्डे भन्छन्, ‘बाहिर यस्तो हल्ला आएपछि यही विषयलाई लिएर मतभेद भएको थियो । म आफैँ कास्की पुगेपछि मैले आफू ठगिएको थाहा पाएँ । त्यसपछि फिल्मको सुटिङ रोकियो ।’

बीचमै सुटिङ रोकिएर काठमाडौं फर्किएपछि निर्माता थापाले पाण्डेलाई उनको लगानी फिर्ता गर्ने र नयाँ लगानीकर्ता खोजेर फिल्म निर्माणलाई अघि बढाउने सहमति गरे । सहमतिअनुसार पाण्डेलाई पटकपटक गरेर ६२ लाख ५० हजारको चेक थमाए । 

तर, चेकमा तोकिएको अवधिमा पैसा निस्किएन । पाण्डेको हातमा न फिल्म पर्र्यो, न पैसा । पटक–पटक झुक्याएपछि पाण्डेले चलचित्र निर्माता संघ गुहारे । केही नभएपछि पाण्डेले थापाविरुद्ध जिल्ला प्रहरी परिसर टेकुमा चेक अनादरको आरोपमा बैंकिङ कसुरमा जाहेरी दर्ता गरेका छन् । 

प्रहरीमा जाहेरी दिएपछि पनि थापाले पैसा तिर्न एक साताको भाखामा मागे । तर, तिरेनन् । त्यसपछि जाहेरी दर्ता भयो । एक साताअघि उच्च अदालत पाटनबाट थापाविरुद्ध पक्राउ पुर्जीसमेत जारी भइसकेको छ । तर, थापा भने फरार छन् । जिल्ला प्रहरी परिसर टेकुका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार अहिले थापालाई प्रहरीले खोजिरहेको छ । ‘हामी उनलाई पक्राउका लागि खोजिरहेका छौ’,’ एसएसपी कार्कीले भने । 

थापाले भने नयाँ निर्माताका रूपमा सुदर्शन बस्नेतलाई भित्र्याएर फिल्म तयार गरिसकेका छन् । पाण्डेलगायत थापाले रकम तिर्न बाँकी प्राविधिकलगायतले पनि चलचित्र विकास बोर्डमा उजुरी हालेपछि सोमबार फिल्मको सेन्सर गर्नुअघि बोर्डले सबै पक्षलाई छलफलका लागि बोलाएको थियो । छलफलमा बोर्ड अध्यक्ष भुवन केसी, ‘प्रसाद २’का निर्देशक सुदर्शन थापा, अर्का निर्माता सुदर्शन बस्नेत, वितरक गोपालकाजी कायस्थ, उजुरीकर्ता पाण्डेलगायत उपस्थित थिए । तर, छलफल पीडितको रकम फिर्ता गराउनभन्दा पनि जसरी पनि फिल्म रिलिज गराउनमा केन्द्रित भएपछि असहमति जनाउँदै पाण्डे छलफलबाट बाहिरिए । 

थापाले आफूसँग फिल्म निर्माणका लागि गरेको सहमतिको कम्पनी र चलचित्र विकास बोर्डमा फिल्म दर्ताका क्रममा राखेको कम्पनीसमेत फरक गरेर ठगी गरेको पाण्डेले बताए । ‘मसँग एउटा कम्पनीबाट सहमति गरे, पछि लफडा होला भनेर छोराको नाममा अर्को कम्पनी खोलेर त्यसबाट पो फिल्म दर्ता गरेका रहेछन्,’ उनले भने ।

चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाका अनुसार थापाले प्राविधिकहरूको ११ लाख ६० हजार तिर्न बाँकी छ । यो रकम नतिरेसम्म फिल्मको सेन्सर गर्न नदिने संघको अडान छ । ‘चलचित्र विकास बोर्डसँग सहमतिअनुसार चलचित्र प्राविधिकको पारिश्रमिक नदिईकन कुनै पनि फिल्मको सेन्सर गर्न नदिने परम्परा छ,’ लामाले भने, ‘तर, मंगलबार यो फिल्मको पेलेरै सेन्सर गर्न खोजियो । दबाबका बाबजुद पनि हामी कुनै पनि छलफलमा सहभागी भएनौँ ।’ थापाले सोमबार फेसबुकमा फिल्म प्रदर्शनपछि मात्रै सबैको पैसा तिर्ने स्टाटस लेखेका छन् ।

सुझावित समाचार