मन्त्रिपरिषद् विस्तारलगत्तै चार दलले समाजवादी मोर्चा बनाउँदै

मोर्चा निर्माणमा माओवादी, एकीकृत समाजवादी, जसपा र नेसपाबीच सैद्धान्तिक सहमति, घोषणा हुन मात्रै बाँकी रहेको नेताहरूको दाबी

आइतबार, २८ फागुन, २०७९
डिजिटल संस्करण

भविष्यमा पार्टी एकता गर्ने रणनीतिसहित चार राजनीतिक दलले तत्कालका लागि समाजवादी मोर्चा निर्माण अन्तिम चरणमा पुर्याएका छन् । समाजवादी मोर्चाबारे माओवादी, एकीकृत समाजवादी, जसपा र नेसपाबीच सैद्धान्तिक सहमति भइसकेको र घोषणा हुन मात्रै बाँकी रहेको नेताहरूले दाबी गरेका छन् । 

शीर्ष नेतृत्व राष्ट्रपति–उपराष्ट्रपति निर्वाचनमा व्यस्त भएका कारण मोर्चा घोषणामा ढिलाइ भएको छ । ३ चैतमा उपराष्ट्रपति निर्वाचनलगत्तै मन्त्रिपरिषद् विस्तार हुने र त्यसपछि समाजवादी मोर्चा घोषणा हुने नेताहरूको भनाइ छ । प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमै समाजवादी मोर्चा बन्ने बताएका छन् ।

मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने माओवादी केन्द्रीय सदस्यहरूको बैठकलाई शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै प्रचण्डले समाजवादी मोर्चाकै जगमा कम्युनिस्टहरूबीच बृहत्तर एकताका निम्ति बहस सुरु गरिने बताए ।

‘शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा राजनीतिक निकास दिने जिम्मेवारी हाम्रो काँधमा छ । यसका निम्ति समाजवादी शक्तिहरूको सहकार्य र एकता जरुरी छ,’ उनले भने, ‘केही दिनमा समाजवादी मोर्चा बन्छ । संसारमा एकपटक कम्युनिस्ट आन्दोलन पराजित भएपछि उठेर आएका विरलै दृष्टान्त छन् । चाहे पूर्वी युरोप हेर्नुस्, चाहे पश्चिम बंगाल वा अन्य ठाउँको क्रान्ति हेर्नुस्, क्रान्तिले धक्का खाएपछि उठ्न कठिन हुन्छ । नेपालमा पनि हामी चुनौती र सम्भावनाको दोसाँधमा छौँ ।

बृहत्तर वामपन्थी एकतामार्फत चुनौती छिचोलेर समाजवादको ढोका खोल्नुपर्छ ।’ एमालेभित्र पनि ठूलो पंक्ति वामपन्थी एकताको पक्षमा रहेको दाबी प्रचण्डको छ । यद्यपि, एमालेको मूल नेतृत्व कम्युनिस्ट एकताको विरुद्धमा रहेको उनको जिकिर छ । ‘समाजवादी मोर्चा बनेपछि त्यसले कम्युनिस्ट पार्टीहरूको एकताका निम्ति नयाँ आधार सिर्जना गर्नेछ, त्यसको पहल पनि हामी माओवादीहरूले नै लिनुपर्छ,’ प्रचण्डले भने, ‘एमालेभित्र पनि ठूलो पंक्ति वामपन्थीहरूको एकताको पक्षमा छ । त्यो मत कम्युनिस्ट आन्दोलनको हितमा छ । तर, एमालेको मूल नेतृत्व कम्युनिस्ट एकताको विरूद्धमा छ ।’ प्रचण्डले माओवादी धाराका कम्युनिस्ट घटकबीच पनि छलफल भइरहेको बताए ।

समाजवादी मोर्चा निर्माणबारे गत ४ मंसिरको संघ र प्रदेश निर्वाचनअघिदेखि नै छलफल भए पनि ठोस प्रगति भइसकेको छैन । सातदलीय गठबन्धनको सरकार बनेपछि समाजवादी मोर्चा गठनको प्रक्रिया रोकिएको थियो । ‘हामी धेरै नजिक पुगेका छौँ, शीर्ष तहमा पनि छलफल भइरहेको छ । केही प्राविधिक विषय मात्रै मिलाउन बाँकी छ,’ एकीकृत समाजवादीका एक नेताले भने । समाजवादी मोर्चा निर्माणलगायत विषयमा माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीचको सहमतिकै आधारमा माओवादीले जसपालाई उपराष्ट्रपति छाडेको ती नेताको दाबी गरेको छ । 

राष्ट्रपतिको निर्वाचनअघि ७, ११ र १२ फागुनमा मोर्चाबारे प्रचण्ड, नेपाल र यादवबीच समझदारी बनेको हो । त्यसअघि १३ पुसमा तीन नेताबीच मोर्चा निर्माणबारे छलफल भएको थियो । त्यही समझदारीअनुसार माओवादीले उपराष्ट्रपतिमा दाबी छाडेको थियो । त्यही जगमा आठदलीय गठबन्धनमा कांग्रेसलाई राष्ट्रपति र जसपालाई उपराष्ट्रपति दिने समझदारी बनेको भएको थियो । 

जसपा अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चा निर्माणको प्रक्रिया निकै अगाडि बढेको बताए । ‘विचार मिल्ने शक्तिबीच मिलेर जाने कुरा भएको छ । प्राविधिक विषय मिलाएर मोर्चा गठन गर्न बाँकी छ,’ उनले भने । यद्यपि, पार्टी एकताका लागि भने नामको अगाडि नेकपा हटाउनुपर्ने जसपाको सर्त छ । माओवादी र एकीकृत समाजवादी नामको अगाडि नेकपा हटाउन तयार छैनन् । त्यसैले मोर्चामार्फत कार्यगत एकता गर्दै पार्टी एकताको दिशमा अगाडि बढ्ने रणनीति नेताहरूको छ । 

विचार मिल्नेसँग मोर्चा निर्माणको प्रयास भइरहेको माओवादी महासचिव एवं एकता कार्यदलका सदस्य देव गुरुङले बताए । ‘हामी त सुरुदेखि नै समाजवादी मोर्चा र बृहत् वाम–समाजवादी एकताको पक्षमा छौँ । विगतमा एउटै कमिटीमा बसेर काम गरेका शक्तिबीच मोर्चा र एकताका हुनु स्वाभाविक हो । मोर्चा निर्माण र पार्टी एकताको सवालमा शीर्ष तहमा पनि छलफल भइरहेको छ ।’

एकीकृत समाजवादीका उपमहासचिव एवं कार्यदल सदस्य प्रकाश ज्वाला समाजवादी मोर्चा घोषणा गर्न मात्रै रहेको बताउँछन् । ‘राष्ट्रपति, उपराष्ट्रपति निर्वाचनलगायत कारण मात्रै घोषणा हुन ढिला भएको हो । मोर्चा बनाएर जाने विषयमा सैद्धान्तिक सहमति भइसकेको छ । अब छिट्टै घोषणा हुन्छ,’ उनले भने ।

समाजवाद निर्माण गर्न बलियो शक्ति आवश्यक रहेको निष्कर्षसहित उनीहरू मोर्चा निर्माणमा छन् । तात्कालिक राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक मुद्दा मिल्ने दलहरूसँग सहकार्य, कार्यगत एकता र मोर्चाबन्दी गर्न सकिने नीति लिइएको जसपाका प्रवक्ता मनीष सुमनले बताए । ‘विभिन्न चरणमा कार्यदल र शीर्ष नेताहरू स्तरमा छलफल भएको छ । निकट भविष्यमै समाजवादी मोर्चा बनाउने दिशामा अगाडि बढेका छौँ,’ उनले भने । 

समाजवादी मोर्चा र पार्टी एकताको आधार तयार पार्न तीनवटै दलले कार्यदल बनाएका छन् । माओवादीले उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा, एकीकृत समाजवादीले महासचिव डा. बेदुराम भुसालको संयोजकत्वमा र जसपाले वरिष्ठ नेता राजेन्द्र श्रेष्ठको संयोजकत्वमा कार्यदल बनाएका छन् । कार्यदलले विभिन्न चरणमा छलफल गर्दै आएको छ ।

सुझावित समाचार