पशुपति क्षेत्र विकास कोषले शिवरात्रिको मौका छोपेर वनकाली क्षेत्रमा रहेको झन्डै दुई रोपनी जग्गा व्यापारी प्रयोजनका लागि भाडामा लगाएको छ । रोटेपिङलगायत मनोरञ्जनात्मक कार्यक्रमका लागि भन्दै कोषले २० लाख रुपैयाँमा एमएमबिकेएल इभेन्ट्स एन्ड बहुउदेश्यीय प्रालिलाई उक्त जग्गा ठेक्कामा लगाएको हो ।
यहाँ विभिन्न मनोरञ्जनात्मक खेलसहित मेला र बजार पनि लाग्नेछ । कोषले कम्पनीसँग एकसाताको सम्झौता गरेर भाडामा दिएको छ । यसबाहेक पशुपति क्षेत्रभित्र विभिन्न सिँगारपटार व्यवस्थापनसम्बन्धी कार्यका लागि सातवटा ठेक्का लगाइएको छ । ती ठेक्का एक करोडको सीमाभित्रै रहेको कोषले जनाएको छ । तर, वनकाली क्षेत्रको जग्गा भाडामा दिँदा शिवरात्रिको दिन भक्तजनलाई ठाउँ साँघुरो हुने देखिएको छ । यो ठाउँमा पार्किङ, रक्तदान, स्वास्थ्य शिविरजस्ता कार्यक्रम गर्न उचित हुन भए पनि कोषले त्यसलाई व्यापारिक फाइदाका लागि भाडामा लगाएको हो ।
त्यस्तै, वनकाली क्षेत्रमै रहेको अन्य खाली जग्गामा पनि विभिन्न टहरा निर्माण गरिएको छ । सोही कम्पनीले अन्य व्यापारिक कार्यका लागि टहरा निर्माण गरेको हो । सो जग्गा यसअघि पार्किङमा थियो । तर, शिवरात्रि तथा तिजको वेलामा कोषले यो जग्गा एक साता अवधिका लागि २० लाख रुपैयाँका दरले ठेक्का लगाउँदै आएको छ । कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले पुरानै सहमतिका आधारमा ठेक्का दिइएको बताए । ‘हामीले यो क्षेत्रमा विषेश पर्वका वेला ठेक्का दिँदै आइरहेका छौँ,’ उनले भने, ‘यो पनि त्यसैको निरन्तरता हो, एकसातापछि ठाउँ खाली भइहाल्छ ।’
३० लाख भक्तजन आउने कोषको दाबी
शिवरात्रिमा झन्डै ३० लाख भक्तजन आउने प्रक्षेपण पशुपति क्षेत्र विकास कोषले गरेको छ । यसअघिका वर्षहरूमा १० लाख भक्तजन आउने अनुमान गर्दै आएको कोषले यसपटक तेब्बरभन्दा बढी आउने अनुमान गरेको हो । बुधबार पत्रकार सम्मलेन आयोजना गर्दै कोषले विगतका वर्षहरूमा भन्दा यो वर्ष भक्तजन बढ्ने भएकाले त्यहीअनुसारको व्यवस्थापन र तयारी पनि गरेको दाबी गरेको छ । तर, विगतमा आएका भक्तजनको तुलनामा यो संख्या निकै धेरै हो । विगतमा कोषले १० लाख भक्तजन आउने दाबी गरे तापनि सरदर तीन–चार लाखसम्मले शिवरात्रिको दर्शन गर्न भ्याउँछन् । हालसम्म यत्तिको संख्यामा पशुपतिनाथमा कुनै मेला महोत्सवमा भक्तजनको उपस्थिति छैन । तर, यसपटक भने त्यो संख्या ह्वात्तै बढ्ने दाबी कोषको छ । त्यस्तै, यो वर्ष पाँच हजार साधुसन्त आउने अनुमान छ । तर, बुधबारसम्म पाँच सय मात्रै हाराहारी साधुसन्त आएका छन् । अन्य आउने क्रम जारी छ ।
यस्तो छ तयारी
यो वर्ष नेपालबाहिरबाट आउने भक्तजनको संख्या पनि बढ्ने कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए । उनले त्यहीअनुसार प्रबन्ध मिलाउन कोेष लागिपरेको जानकारी दिए । ‘विगतका वर्षहरूमा भन्दा यस वर्ष भक्तजनको अत्यन्तै धेरै उपस्थिति हुन्छ,’ उनले भने, ‘यसपटक नेपालबाहिरबाट आउने भक्तजनको संख्या पनि बढ्छ ।’ उनले एकजना भक्तजनले बढीमा ५० सेकेन्डमा दर्शन गरिसक्ने बताउँदै चारवटा लाइनबाट बिहानदेखि रातिसम्म करिब ३० लाखले दर्शन गरिसक्ने बताए । उनका अनुसार चारवटा ढोकाबाट दर्शन गर्न सकिने व्यवस्था गरिएको छ । तिलगंगा, वनकाली र गुह्येश्वरीतर्फबाट भक्तजन लाइन बस्नुपर्नेछ । मन्दिरनजिक आएपछि भने चारवटा लाइन बनाएर भक्तजनलाई मन्दिर प्रवेश गराइनेछ । कोषले बिहान ३ बजेदेखि नै दर्शनका लागि मन्दिरको ढोका खुला राख्नेछ । कोषका अनुसार शिवरात्रिको दिन झन्डै चार हजार स्वयंसेवक परिचालित हुनेछन् ।