एमडिएमएसबारे वेदेशिक रोजगारीमा रहेका कामदारको धारणा के छ ?
सरकारले सञ्चालन गर्न लागेको एमडिएमएसप्रति विदेशमा काम गर्ने हामी नेपालीको कुनै आपत्ति छैन । सरकारले जुन उद्देश्यका लागि सञ्चालन गर्न लागेको छ, यो एकदमै उचित छ । यसले अवैधानिक रूपमा नेपाल भित्रिने मोबाइललाई रोक्छ । राजस्वमा भएको चुहावटलाई नियन्त्रण गर्छ । तर, हाम्रो माग भनेको हामी विदेशमा रहँदा चलाइरहेका मोबाइल पनि एमडिएमएसमा दर्ता हुनुपर्छ भन्ने हो । हामी नेपाल जानुपर्यो भने आफूले चलाएको मोबाइल छाडेर त जाँदैनौँ नि ।
साथमा नै लिएर जान्छौँ । तर, त्यो मोबाइलका लागि त भन्सारले प्रज्ञापनपत्र दिँदैन । प्रज्ञापनपत्र नदिएपछि एमडिएमएसमा दर्ता नहुने प्राधिकरणको निर्णयले हामीलाई दुःखी बनाएको हो । त्यसैले हाम्रो माग भनेको हामीले प्रयोग गरिरहेका पुराना मोबाइल पनि नेपाल आउँदा सिस्टममा दर्ता होस् भन्ने हो । तर, एमडिएमएस नै बन्द होस् भन्ने होइन ।
विदेशबाट आउँदा एउटा मात्रै मोबाइल ल्याउन पाउने व्यवस्थाप्रति कामदारको भनाइ के छ ?
हामी आफ्नो परिवार छोडेर वर्षौंदेखि विदेशी भूमिमा काम गरिरहेका छौँ । खाडी र मलेसियामा काम गर्ने नेपालीले पठाएको रेमिट्यान्सले मुलुकको अर्थतन्त्र धानिएको छ । नेपाली कामदारले गरेको यो योगदानलाई पनि सरकारले मध्यनजर गरी कम्तीमा पनि दुईवटासम्म मोबाइल साथमा लैजान दिनुपर्छ भन्ने लाग्छ । सरकारले दुईवटा मोबाइललाई भन्सार छुट दिनुपर्छ । बाँकी मोबाइलका लागि त व्यक्ति आफैँले पनि भन्सार भुक्तानी गर्नुपर्छ । हामी मुलुक बनोस् भन्ने पनि चाहने अनि राजस्व पनि भुक्तानी गर्न नचाहने हो भने त कसरी मुलुक बन्न सक्छ र ?
भन्सारमा मोबाइल ल्याउन कसैलाई सहज र कसैलाई असहज किन हुन्छ ?
म लामो समयदेखि कतारमा काम गर्दै आएको छु । म प्रत्येक ६–६ महिनामा नेपाल फर्कन्छु । तर, प्रायजसो विमानस्थलको भन्सारमा खाडी र मलेसियाबाट आएका कामदारलाई बढी चेकजाँच गरेको देख्छु । हामी जाँदा होस् वा आउँदा, भन्सार कर्मचारी हुन् वा अन्य कर्मचारी, हामीलाई शंकाको दृष्किोणले हेर्छन् । हेय भावले हेर्छन् ।
सायद खाडी र मलेसिया जाने भन्नेबित्तिकै अनपढ, गँवार र अदक्ष लाग्छ होला । यिनीहरूलाई जे गरे पनि हुन्छ भनेर होला, कर्मचारीले गर्ने व्यवहार तुच्छ खालको हुन्छ । तर, युरोप, अमेरिकालगायतका मुलुकबाट आएका कामदारको भने चेकजाँच अलि कम हुन्छ । सायद उनीहरूलाई सरकारी कर्मचारीले हेर्ने दृष्टिकोण उच्च खालको हुन्छ होला ।