सवारीसाधनको भन्सार जाँच पास गर्न व्यवसायीलाई भन्सारका महानिर्देशकको आग्रह

बिहिबार, २१ पुष, २०७९
डिजिटल संस्करण

सरकारलाई राजस्वमा दबाब परिरहेको बताउँदै भन्सार नाकामा आइसकेका सवारीसाधनको यथासम्भव भन्सार जाँचपासका लागि भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाले व्यवसायीलाई आग्रह गरेका छन् । बुधबार अटो व्यवसायीसँगको छलफलमा उनले भन्सार नाकाहरूमा कुन–कुन ब्रान्डका के–कति सवारीसाधन छन् तथ्यांक उपलब्ध गराइदिनसमेत आग्रह गरे ।

छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले सरकारले विभिन्न चरणमा ल्याएका नीतिकै कारण अटोमोबाइल व्यवसाय धराशयी हुने अवस्थामा पुगेको महानिर्देशक बुढालाई जानकारी गराए । चर्को ब्याजदर, अटो कर्जामा एक सय ५० प्रतिशत जोखिम भार, सवारी कर्जाको ‘लोन टु भ्यालु’ रेसियोको सीमा ५० प्रतिशतमा झारिएको लगायतले सवारीसाधन बिक्री हुन नसकेका कारण भन्सारमा आइपुगेका सवारीसाधन भन्सार जाँचपास गराउन नसकेको उनको भनाइ थियो । उनले व्यावसायिक महत्वका सवारी तथा ढुवानीका साधनको बिक्रीसमेत दुईतिहाइले घटेको जानकारी गराए । 

नाडाका पूर्वअध्यक्ष सुनील खेतानले भन्सार जाँचपासका लागि विभागले तोकेका सबै कागजात पेस गर्दा पनि भन्सार जाँच पासमा कठिनाइ भइरहेको गुनासो गरे । नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले कोभिडको समयमा नियन्त्रणमा आएको सवारीसाधनको पार्टपुर्जा तथा एसेसरिजको अनधिकृत आयात निकै बढ्न थालेको जानकारी गराउँदै नियन्त्रणका लागि आवश्यक पहल गर्ने आग्रह गरे ।  

नाडाको टु ह्विलर समितिका सभापति अभिक ज्योतिले चर्को ब्याजदरका कारण मोटरसाइकल आयातमा ५० प्रतिशतले कमी आएको बताए । राजस्व समितिका सभापति आकाश गोल्छाले नेपालमा सवारीसाधनको एसेम्बल प्लान्ट खोल्न फिजिबिलिटी नभएका सवारीसाधन आयातकर्ताले एसेम्बल प्लान्ट खोल्न फिजिबिलिटी भएका कम्पनीसँग मिलेर आफ्नो ब्रान्डको एसेम्बल गर्न सकिने व्यवस्थाका लागि आवश्यक पहल गर्न महानिर्देशक बुढालाई आग्रह गरे ।

सुझावित समाचार