कोभिड–१९ लाई मृत्यु र विनाशले मात्र सम्झाउँदैनन् । गत तीन वर्षमा महामारीले विश्वव्यापी असमानतालाई व्यापक बनाउन पनि अभूतपूर्व योगदान गरेको छ । ब्लुमबर्ग बिलियनर्स इन्डेक्सअनुसार विश्वका एक सय ३१ अर्बपतिहरूले महामारीको समयमा आफ्नो कुल सम्पत्ति दोब्बरभन्दा धेरैले बढाए । सन् २०२२ को डिसेम्बर २७ का दिन विश्वका सबैभन्दा धनी व्यक्ति बर्नार्ड अर्नाल्टको कुल सम्पत्ति एक खर्ब ५९ डलर थियो, जुन सन् २०२० सुरुको तुलनामा लगभग ६० अर्ब डलरले बढी हो ।
यही मितिमा विश्वका दोस्रो धनी व्यक्ति इलोन मस्कको सम्पत्ति एक खर्ब ३९ अर्ब डलर कायम थियो । यो सूचीमा तेस्रो स्थानमा रहेका भारतका गौतम अडानीले यो अवधिमा आफ्नो सम्पत्तिमा सबैभन्दा बढी १० गुणा वृद्धि साक्षात्कार गरेका छन् । अडानीको सम्पत्ति सन् २०२० को सुरुमा करिब १० अर्ब डलर हाराहारी थियो, जुन २०२२ को अन्त्यमा आइपुग्दा बढेर एक खर्ब १० अर्ब डलर पुगेको छ ।
यसैबीच, सन् २०२० मा मात्रै पनि प्रतिदिन औसत आय दुई डलरभन्दा कमसहित करिब एक करोड मानिस चरम गरिबीमा धकेलिए । विश्वव्यापी गरिबीको दर सन् २०२१ को अन्तसम्ममा आइपुग्दा ७.८ प्रतिशतबाट बढेर ९.१ प्रतिशतमा पुग्यो । अहिले आकाश छोएको मुद्रास्फीति र मूल्यवृद्धिका कारण विश्वभरका न्यून आय भएका मानिसको आयले जीवन धान्न नै धौधौ भएको स्थिति छ ।
मूल्यवृद्धिलाई रोक्न केन्द्रीय बैंकहरूले ब्याजदर वृद्धि र अतिरिक्त तरलता आवशोषण गरेर अर्थतन्त्रमा पैसाको प्रवाह घटाइरहेका छन् । तर, यसको उल्टो असर देखिरहेको छ । अमेजन, ट्विटर र मेटाजस्ता प्रविधि कम्पनीदेखि गोल्डम्यान स्यासजस्ता बैंकहरूले समेत पछिल्लो समय धमाधम कर्मचारी कटौतीको घोषणा गरिरहेका छन् । यसबाट बेरोजगारीमा वृद्धि भएको छ । संकटको समयमा पनि धनी देशहरू किन झन् धनी भइरहेका छन्, के प्रत्येक आर्थिक मन्दीमा यो अपरिहार्य हो ?
यसको छोटो जवाफ यस्तो हुन सक्छ– महामारीजस्ता संकटमाझ अधिकांश मुलुकले अर्थतन्त्रलाई टेको दिन व्यवसायलाई कर छुट र वित्तीय प्रोत्साहनजस्ता नीति अपनाउँछन् । ऋण प्रवाह र खर्चलाई सहज बनाउन केन्द्रीय बैंकहरूले अर्थतन्त्रमा पैसाको बाढी लगाउँछन् । यसले धनीहरूलाई वित्तीय बजारमा लगानीमार्फत आफ्नो पैसा बढाउन सहयोग पुग्छ । तर, फराकिँदो असमानतालाई रोक्नै नसकिने भने होइन ।
महामारी सुरु भएपछि विश्वभरका केन्द्रीय बैंकहरू वित्तीय बजारलाई जोगाउने काममा लागे । अर्थतन्त्रलाई ध्वस्त हुनबाट जोगाउन केन्द्रीय बैंकहरूले ब्याजदर घटाए, जसले गर्दा ऋणको लागत घट्यो र पैसाको आपूर्ति बढ्यो । अर्थतन्त्रमा कम्पनीहरूलाई लगानी गर्न प्रोत्साहित गर्ने उद्देश्यका साथ बैंकहरूले वित्तीय बजारमा १०औँ खर्ब डलर सञ्चित गरे ।
प्रमुख केन्द्रीय बैंकहरूले सन् २०२० यता विश्व अर्थतन्त्रमा एक सय १० खर्ब डलरभन्दा सञ्चित गरेका छन् । यी हस्तक्षेपहरूले स्टक, बन्ड र अन्य वित्तीय उपकरणको मूल्यमा उछाल ल्याउन अभिप्रेरित ग¥यो । म्याकिन्सेले गरेको पाँच हजार कम्पनीहरूको सेयर मूल्यको विश्लेषणअनुसार महामारीको एक वर्षमा पुँजी बजार एक सय ४० खर्ब डलरले बढेको थियो, जसमा विशेषगरी प्रविधि क्षेत्रका २५ कम्पनीको हिस्सेदारी ४० प्रतिशत पुग्छ । यो महामारीको अवधिमा अर्बपतिहरूको सम्पत्तिमा सबैभन्दा ठूलो वृद्धि भएको अक्सफाम अमेरिकाका आर्थिक न्याय निर्देशक नबिल अहमदले भने ।
– अलजजिरा