इजरायलमा बेन्जामिन नेतन्याहुको पुनरागमन

बिहिबार, ७ पुष, २०७९
डिजिटल संस्करण

इजरायलको दक्षिणपन्थी लिकुड पार्टीका नेता बेन्जामिन नेतन्याहु गठबन्धनमार्फत नयाँ सरकार गठन गर्न सफल भएका छन्।  

नेतन्याहुले मध्यरातको समयसीमाभन्दा केही मिनेटअघि ट्विटरमा लेखेका छन्, ‘म देशको आवश्यकताअनुसार इजरायलमा नयाँ गठबन्धन सरकार गठन गर्न सफल भएको छु।’

नेतन्याहुको लिकुड पार्टीले एक विज्ञप्ति जारी गर्दै नेतान्याहुले राष्ट्रपति आइज्याक हर्जोगलाई फोन गरी नयाँ सरकार गठन गरेको जानकारी गराएको छ।

लिकुडले आफ्ना पाँच साझेदारमध्ये तीन अति दक्षिणपन्थी पार्टी र दुई यहुदी अति–पुरातनवादी पार्टीसँग अन्तिम गठबन्धन सम्झौतामा हस्ताक्षर गर्न बाँकी छ। इजरायलको कानुनअनुसार नयाँ सरकारले सन् २०२३ को जनवरी २ सम्ममा शपथ लिनुपर्छ। 

नेतन्याहु आफ्ना गठबन्धन साझेदारहरूको समर्थनको बदलामा मागहरू पूरा गर्न विगत केही हप्तादेखि प्रयासरत थिए।  

भ्रष्टाचारको आरोपपछि डेढ वर्षअघि मात्र सत्ताच्युत गरिएका इजरायलको सबैभन्दा लामो समयसम्म सत्ता चलाएका नेता नेतन्याहुले निर्वाचनमा आफ्नो दल लिकुड पार्टीलाई जिताउने सबैप्रति आभार प्रकट गर्दै आफूले देश र नागरिकको हितका लागि काम गर्ने प्रतिबद्धता गरेका छन्। 

नेतन्याहुको समूहले गत नोभेम्बर १ मा सम्पन्न इजरायलको संसदमा एक सय २० सिटमध्ये ६४ सिट जितेको थियो। 

सुझावित समाचार