टर्कीको एक अदालतले इस्तानबुलका मेयर एकरेम इमामोग्लुलाई दुई वर्ष सात महिनाको जेल सजाय सुनाएको छ । आगामी वर्ष हुने आम निर्वाचनमा राष्ट्रपति रिसेप तैयप एर्दोगानको कडा प्रतिद्वन्द्वीका रूपमा हेरिएका इमामोग्लुलाई अदालतले राजनीतिक सहभागितामा पनि प्रतिबन्ध लगाइदिएको छ । फैसलालाई पुनरावेदन अदालतले प्रमाणीकरण गरेपछि कार्यान्वयन हुनेछ । ५२ वर्षीय इमामोग्लु टर्कीको सबैभन्दा बढी जनसंख्या भएको सहर इस्तानबुलका मेयर हुन् । उनी सन् २०१९ मा टर्कीको प्रमुख विपक्षी दल रिपब्लिकन पिपुल्स पार्टी (सिएचपी) को प्रतिनिधित्व गर्दै मेयर निर्वाचित भएका थिए ।
कुन मुद्दामा सजाय भएको हो ?
इमामोग्लुले सन् २०१९ मा इस्तानबुल मेयरको चुनावपछिको एक सम्बोधनमा निर्वाचन अधिकारीको मानहानी गरेको मुद्दा चलाइएको थियो । त्यस सम्बोधनमा उनले एके पार्टीका उम्मेदवारलाई झिनो अन्तरले पराजित गरेपछि प्रारम्भिक मतदान रद्द गर्नेहरूलाई ‘मूर्ख’ भनेका थिए । एके पार्टीले इमामोग्लुको प्रारम्भिक जितलाई अस्वीकार गरेको थियो । प्रारम्भिक मतदान अस्वीकार गरिएपछिको पुनः मतदानमा इमामोग्लु भारी मतान्तरले विजयी भएका थिए । इमामोग्लुको ‘मूर्ख’ भन्ने टिप्पणी गृहमन्त्री सुलेमान सोयलुले उनीविरुद्ध प्रयोग गरेको उस्तै भाषाको प्रतिक्रिया भएको बताउने गरेका छन् ।
फैसलापछिको प्रतिक्रिया
बुधबार फैसला वाचनपछि इमामोग्लुका सयौँ समर्थकले ‘सरकारले राजीनामा’ माग्दै नगरपालिकाको मुख्यालयअघि जुलुस निकालेका थिए । बसमाथि चढेर भिडलाई सम्बोधन गरेका इमामोग्लुले फैसलालाई ‘गैरकानुनी’ भन्दै यसले ‘आजको टर्कीमा न्याय छैन भन्ने प्रमाणित गरेको’ आरोप लगाए । टर्कीका न्यायमन्त्री बेकिर बोजडागले भने उक्त निर्णय राजनीतिक रूपमा प्रेरित नभएको दाबी गरे । ‘अदालत तथा न्यायाधीशलाई तिनको न्यायिक अधिकार अभ्यास गर्ने विषयमा न कुनै पनि सरकारी अंग, अधिकारी वा व्यक्तिले आदेश वा निर्देशन दिन सक्छ, न कुनै सिफारिस वा सुझाब नै गर्न सक्छ,’ मन्त्री बोजगाडले भने ।
आगामी आमनिर्वाचनमा राष्ट्रपति रिसेप तैयप एर्दोगानका कडा प्रतिद्वन्द्वीको रूपमा हेरिएका इस्तानबुलका मेयर इमामोग्लुलाई दुई वर्ष सात महिनाको जेल सजाय । उनलाई राष्ट्रपति पदमा उम्मेदवारी दिनबाट रोक्ने मनसायले फैसला आएको आशंका ।
अमेरिकी विदेश मन्त्रालयले यो निर्णयप्रति ध्यानाकर्षण भएको बताउँदै निर्णयबाट ‘स्तब्ध र निराश’ भएको बताएको छ । मन्त्रालयका प्रमुख उपप्रवक्ता वेदान्त पटेलले भने, ‘यो अन्यायपूर्ण फैसला मानवअधिकार, मौलिक स्वतन्त्रता र विधिको शासनविपरीत छ ।’ टर्कीका लागि युरोपेली संसद्का प्रतिवेदक नाचो सान्चेज आमोरले पनि फैसलाको आलोचना गरेका छन् ।
फैसलापछि के हुनेछ ?
मानहानी मुद्दाका क्रममा इस्तानबुलका मेयरविरुद्ध दण्डसंहिताको छुट्टै खण्ड पनि सक्रिय गरिएको थियो, जसले उनलाई राजनीतिमा भाग लिनबाट रोक्छ । त्यसले गर्दा इमामोग्लु आगामी जुनमा हुने राष्ट्रपतिको चुनावमा उम्मेदवार हुन पाउनेछैनन् । इमामोग्लुको टोलीले उनको सजायको पुनरावेदन गर्ने निर्णय गरेको छ । तर, उक्त जेल सजाय वा राजनीतिक प्रतिबन्धविरुद्धको पुनरावेदन मुद्दा चलिरहँदा जुनको चुनाव सकिसक्ने प्रक्षेपण छ । इमामोग्लु जेल बस्नुपर्ने सम्भावना भने देखिँदैन, किनभने चार वर्षभन्दा कम सजाय पाएका मानिसलाई टर्कीमा बिरलै जेलमा राखिन्छ । उनले आफूविरुद्धको मुद्दामा पुनरावेदन लडिरहँदा मेयरको काम भने जारी राख्न सक्नेछन् ।
आगामी चुनावलाई कस्तो असर पर्नेछ ?
अर्को वर्ष हुने राष्ट्रपतीय चुनावमा विपक्षीहरूले साझा उम्मेदवार उठाउन सके मात्र एर्दोगान र उनको एके पार्टीलाई धक्का दिन सक्ने मत सर्वेक्षणले देखाएका छन् । तर, देशको ६ दलीय विपक्षी गठबन्धन साझा राष्ट्रपतीय उम्मेदवारमा सहमत हुन सकिरहेको छैन ।
टर्कीको राजनीतिमा एर्दोगानको वर्चस्वलाई पछिल्लो समय देखिएको आर्थिक संकटले हल्लाएको छ । तर, पछिल्ला मत सर्वेक्षणले युक्रेनमा रुसी आक्रमणपछि एर्दोगानले देखाएको वैश्विकस्तरको कूटनीतिक कौशलले उनको लोकप्रियता पुनः बढ्दै गएको देखाउँछ । इमामोग्लुविरुद्धको फैसलाले विपक्षी गठबन्धनलाई आगामी चुनावमा तिनका व्यक्तिगत स्वार्थलाई पन्छाएर साझा उम्मेदवार उठाउन थप दबाब दिएको मानिएको छ ।
– एजेन्सीको सहयोगमा