चुनावबाट सिक्नुपर्ने पाठ

अहिलेको निर्वाचन परिणामपछि कुनै पनि दलको बहुमत नभएको खिचडी संसद् बन्ने पक्का भएकाले अबको पाँच वर्ष देशका लागि सहज हुनेछैन

मंगलबार, १३ मंसिर, २०७९
डिजिटल संस्करण

नेपालमा संघीय प्रणाली प्रारम्भ भएपश्चात् दुईवटा संसदीय चुनाव सम्पन्न भए । चुनावबाट संसदीय राजनीतिमा केही नयाँ पात्रको उदय भए पनि अधिकांश पुरानै अनुहार छन्, जसलाई नेपाली समाजले भलिभाँती चिनेको छ । यिनै पात्रहरूले राजनीतिक सुधारको दायित्वबोध गरी काम गर्नुपर्ने चुनौतीपूर्ण अवस्था छ, किनभने सरकार र पार्टी चलाउने जिम्मेवारी यिनै पात्रको काँधमा छ ।

चुनावबाट नयाँ दलहरूको उदयसमेत भएको छ । पुराना दलहरूको संसदीय हैसियतमा समेत फेरबदल भएको छ । पार्टी स्थापनाको ६ महिना पनि नपुग्दै राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय दलका रूपमा उदाएको छ । अबका दिनमा अहिलेकै चुनावी गठबन्धन कायम रहन्छन् या रहँदैनन् र नेपालको राजनीतिले कुन बाटो समात्छ भन्ने विषयमा आमचासो छ । यसको समुचित जवाफ पाउन केही समय पर्खनैपर्छ । एउटा कुरा भने प्रस्ट छ, कुनै पनि दलको बहुमत नभएको खिचडी संसद् भएकाले अबको पाँच वर्ष त्यति सहज हुनेछैन । यस्तो परिस्थितिमा राजनीतिक नेतृत्वले सुझबुझ देखाउन सक्यो भने मात्र आगामी यात्रा सुगम र सहज हुन सक्छ । अन्यथा भविष्यका पाँच वर्ष पुनः निरर्थक हुने प्रबल सम्भावना छ ।

२०४८ यता जम्मा ११ वटा चुनाव भएछन्, जसमा सातवटा संसदीय चुनाव (संविधानसभासमेत) र चारवटा स्थानीय चुनाव पर्छन् । सबै चुनावको अग्रणी र सक्रिय प्रचारक हो यो पंक्तिकार । यस्ता पात्र र सहयात्री धेरै छन्, जसको लेखाजोखा राजनीतिक दलहरूमा कमै छ । सबै चुनावमा श्रम, मिहिनेत र योग्यता खन्याएका कारण केही विशिष्ट अनुभव भएका हामीजस्ता धेरै सदस्य छन्, जो सदैव उपेक्षित र तिरस्कृत छन् । ‘नेपालमा दक्षताले महŒव पाउँदैन र योग्यताको कदर हुँदैन ।’ शताब्दी पुरुष स्व. सत्यमोहन जोशीको विचार हो यो । आजसम्म नेपाल अघि नबढ्नुमा यही प्रमुख कारण जिम्मेवार छ । समाजमा राम्रा र सज्जन मानिस बग्रेल्ती छन्, जसलाई लाचार र कमजोर मानिसको संज्ञा दिइन्छ ।

टाठाबाठा र धूर्त मानिसले समाजलाई आफ्नो इसारामा फनफनी नचाएका छन् । बेइमानी, छलकपट र अवसरवाद व्यक्तिको अघि बढ्ने न्यूनतम योग्यता प्रमाणित भएको छ । छट्टु र स्वार्थी व्यक्तिहरू सदैव पुरस्कृत छन् । समाजका  अगुवाले पनि यस्तै व्यक्तिलाई आफ्नो वैयक्तिक स्वार्थका निम्ति विश्वास गर्छन् र अघि बढाउँछन् । राजनीतिक दलको चरित्रसमेत समाजकै चरित्रको अंश न हो, जसले दलहरूलाई खर्लप्प निलेको छ र वशमा पारेको छ । दलभित्रका सोझा र सज्जन मानिस रमिते छन् । मौरीका प्रकारमध्ये कर्मी मौरीले चाका बनाउँछ, मह जम्मा गर्छ, घार जोगाउँछ । भाले मौरी घुमिघुमी खान्छ । मरिमेटेर काम गर्ने व्यक्तिले संस्था बचाउँछ, धूर्त व्यक्तिले ढलिमली गर्छ, भाले मौरीजस्तो । अनि न संस्था, न समाजको उन्नति हुन्छ । हामी वर्षौंदेखि यही चपेटामा परेका छौँ ।

आजभन्दा अघि नेपालमा भएका सबै आमनिर्वाचनमा कांग्रेसले एक्लै प्रतिस्पर्धा ग¥यो । यसपल्ट गठबन्धन बनाएर चुनावमा गयो । ०७४ को आमनिर्वाचनबाट कम्युनिस्टहरूले गठबन्धनको परम्परा सुरु गरे । एमाले र माओवादी मिल्नु कुनै अनौठो कुरा थिएन । तर, यसपटक राष्ट्रिय आवश्यकताको तर्क र त्यसैको जगमा पाँचदलीय गठबन्धन भयो । भिन्न विचार, सिद्धान्त र दर्शन भएका पार्टीहरूले तालमेल गरी चुनावी प्रतिस्पर्धा गरे र परिणाम निकाले । तर, परिणामबाट कोही पनि सन्तुष्ट छैन । खासगरी कांग्रेस र माओवादी दुवै दलमा यो असन्तुष्टि ज्यादा देखिन्छ । एकीकृत समाजवादीका नेताले त गम्भीर आरोप नै लगाए । दलहरूलाई प्राप्त सिट अपेक्षाकृत कम छ र कतिपय ठाउँमा त कमजोरी पनि छ । मूल कुरा त यसपटकको गठबन्धन निकै जटिल थियो ।

कांग्रेस मतदाताहरू जीवनमा पहिलोपटक राष्ट्रव्यापी रूपमा माओवादी र एकीकृत समाजवादी दललाई मतदान गर्दै थिए र माओवादी तथा समाजवादी मतदाता कांग्रेसलाई । लोसपा र जनमोर्चाको समेत यही अप्ठेरो थियो । एकअर्कालाई मतदान केका लागि भनेर दुवै दलले समयमै प्रस्ट्याउन सकेनन् । स्वस्फुर्त मतदान हुन सम्भव थिएन । समय क्रममा वातावरण बन्दै गयो तर समय घर्किसकेको थियो । एकअर्काको सम्पूर्ण मत आदानप्रदान हुन सकेन । फेरि अर्को कुरा, कतिपय ठाउँमा त उम्मेदवार र दल नै एकअर्काप्रति पूर्वाग्रही देखिए । सहयात्री दलको मत लिने तर आफ्नो मत चाहिँ नदिने प्रवृत्ति हाबी भयो । यसबाट धेरै उम्मेदवार सिकार भए ।

यसपटकको गठबन्धन निकै जटिल थियो । कांग्रेस मतदाताहरू जीवनमा पहिलोपटक राष्ट्रव्यापी रूपमा माओवादी र एकीकृत समाजवादीलाई मत दिँदै थिए र माओवादी तथा समाजवादी मतदाता कांग्रेसलाई । लोसपा र जनमोर्चाको समेत यही अप्ठेरो थियो ।
 

अब के हुन्छ त ? : अब के हुन्छ भनेर प्रश्न गर्दा जोसुकैले सहजै भनिदिन्छ, केही पनि हुँदैन । आजसम्म जे हुँदै आयो, त्यही हुन्छ । नेपालको राजनीति सुनिँदैन, भन्ने नकारात्मक जनधारणालाई बदलेर आजसम्म जानी–नजानी गरेका गल्ती कमजोरी दोहोरिन नदिन के गर्ने ? यसको थालनीको तयारी गर्ने कि नगर्ने ? अब पनि परम्परागत ढंगले सोच्ने र काम गर्ने हो भने समाजको प्रगति सम्भव छ त ? हाम्रो समाजले खोजेको प्रगति हासिल गर्ने उपाय के हुन सक्छ ? यसमा चिन्तन गर्ने कसले ? कार्ययोजना बनाउने कसले ? लागू गर्ने कसले ? सपना, अठोट र पागलपन भएको नेता को हो ? राष्ट्र निर्माणका लागि थोरै बहुलठ्ठीपन चाहिन्छ । र, काममा अग्रसरता देखिनुपर्छ । राजनीतिक चेतनाको दृष्टिकोणले आधा नेपाल अझै पनि पछौटे नै छ र आर्थिक हिसाबले गरिब छ । यतिका वर्षसम्म भएका काम न्यून र अपर्याप्त छन् । विकासको रुपरेखा नै स्पष्ट छैन, आधारशिला अत्यन्त कमजोर छ । विकासको मोडेल नै उपयुक्त छैन । आजसम्म भरपर्दो र दिगो विकासको सुरुवात नै भएन । 

अब के गर्ने त ? : यतिवेला गम्भीर रूपमा चिन्तन गर्ने र अग्रसरता लिने समय आएको छ । तर, राजनीतिक स्थायित्व नहुने खतरा निर्वाचनको परिणामले देखाएको छ । दलहरूले परिपक्वता नदेखाए संसद्ले पाँच वर्ष आयु पूरा नगर्न सक्छ । यस्तो समयमा नेतृत्वले बुद्धिमत्ता देखाउनुपर्छ । अब के गर्ने त भन्ने विषयमा देहायका सुझाब उपयुक्त हुन सक्छन् :

नेतृत्वमा छिनाझप्टी नगर्ने :  चुनावपछिको अबको चासो दलको नेता को हुने भन्ने हो । पहिलो कुरा त गठबन्धनसँग फराकिलो बहुमत छैन । थप अरू दलहरूको जोडजाडले मात्र सरकार बन्न सक्ने अवस्था छ । त्यसैले गठबन्धनका दलहरूले आ–आफ्नो संसदीय दलको नेता सर्वसम्मतिले चयन गर्नुपर्छ । एक त निर्वाचन परिणाम चित्तबुझ्दो छैन । त्यसमाथि दलको नेता चयनमा हानथाप भयो भने जनतामा राम्रो सन्देश जाँदैन । खुला दिमाग र मित्रतापूर्ण छलफल गर्ने हो भने यसमा कुनै समस्या देखिँदैन । कांग्रेसले वर्तमान समयको संकट र चुनौती बुझेर अघि बढ्ने हो भने एकमतले नेता छान्न सक्छ । देखिएका विकल्पमध्ये सबैभन्दा राम्रो विकल्पमा सहमति जुटाउनु राम्रो हुन्छ । संसदीय दलको नेता सर्वसम्मत भयो भने यो निर्णय कांग्रेस पुनर्जीवनको प्रस्थानबिन्दु हुन सक्छ । यसका निम्ति दलको नेता चयनमा जसले त्यागको भावना प्रदर्शन गर्छ, उसले कार्यकर्ताको मन जित्छ र जनतामा समेत राम्रो सन्देश जान्छ । यसले कांग्रेसको छविलाई उजिल्याउँछ । यदि सहमति सम्भव नभए मित्रवत् प्रतिस्पर्धा गर्ने र परिणामलाई सहज रूपमा लिनेबाहेक अर्को विकल्प छैन ।

सरकारमा नयाँ मान्छे पठाउने : दलहरूले  सरकार विस्तार गर्दा नयाँ व्यक्ति पठाउनुपर्छ । राजनीतिक नियुक्ति र सरकारी अवसरमा योग्य र क्षमतावान् व्यक्तिलाई मौका दिनुपर्छ । लोकतन्त्र भनेको अवसरको समुचित, न्यायोचित र सन्तुलित वितरण हो । लाखौँ मतदाता र शुभेच्छुकको समर्थन र सद्भावमा खडा भएका राजनीतिक दलहरूमा सीमित व्यक्तिको हालिमुहाली चलिरहनुलाई सच्चा लोकतन्त्र मानिँदैन । अर्को, निर्णय प्रक्रियामा सरोकारवालाको सहभागिता लोकतन्त्रको आधारभूत सर्त हो । नेपालमा सरोकारवालाको हैसियत रैतीसरह छ । यस्तो स्थितिबाट पार्टी र देशलाई मुक्त गर्न अहिले व्याप्त बेथितिलाई अन्त्य गर्नुपर्छ । अहिले राजनीतिक दलसँग भएको जनशक्तिले देशको आवश्यकतालाई धान्दैन । र, लोकतन्त्र भनेको ‘गुणतन्त्र’ पनि हो, भिडतन्त्र होइन । व्यक्तिको योग्यता र क्षमता प्रमुख कुरा हो । आजसम्म यस सिद्धान्तको पालना र अनुशरण पटक्कै भएन । जनताले पार्टीका गतिविधि नियालिरहेका हुन्छन् । राम्रा र गलत कामबारे जानकारी लिने र मूल्यांकन गर्ने गरिरहेको हुन्छ । त्यसैका आधारमा जनधारणा बन्छ । दलहरूले जनताको विवेकलाई नजरअन्दाज गर्नु हुँदैन ।

प्रायश्चित्तको भावनाले काम गर्ने : नेपालको राजनीति पछिल्लो समय धेरै बिग्रेको छ । राजनीतिमा जे पनि हुन्छ भन्ने बुझाइ व्याप्त छ । नेपाली नागरिक निर्दोष छन् । नेता र राजनीतिक दललाई सदैव साथ दिन्छन् । तर, यतिका वर्षसम्म कहिले राणा र कहिले पञ्चायतले नेपाली नागरिकमाथि चरम विभेद र शोषण ग¥यो । प्रजातन्त्र कालले समेत जनताको मन जित्ने काम गर्न सकेन । गणतन्त्र कालसमेत भद्रगोल छ । राजनीतिक प्रणाली बदलिएर केही हुँदो रहेनछ । कागजमा लेखिएका सिद्धान्तलाई व्यवहारमा नउतारेसम्म जनताको जीवनमा कुनै फेरबदल नआउँदो रहेछ । अब सुध्रिने अन्तिम मौका छ । समयले यो मौका कांग्रेसलाई दिएको छ । यसलाई सदुपयोग गर्न सक्नुपर्छ । जति बिग्रिने हो बिग्रिसक्यो, नत्र नेपाल कम्तीमा मध्यम आयको मुलुक बनिसक्थ्यो । 

यो दोषको जिम्मा हामीले नै लिनुपर्छ । र, अब राम्रो गर्छौं भनेर क्षमता देखाउनुपर्छ । हामीलाई इतिहासले अवसर दिएको छ । यसलाई सदुपयोग गर्नैपर्छ । कम्तीमा पार्टीका उच्चपदस्थ नेताहरूले आफ्नो दायित्व बुझेर बलियो आन्तरिक एकता कायम गर्नुपर्छ । जसले देशको शासन र पार्टीको बागडोर सम्हालेको छ, उसैले नयाँ शिराबाट गतिलो सुरुवात गर्नुपर्छ । अन्य दलहरू पनि राष्ट्रिय स्वार्थमा एकढिक्का हुनुपर्छ । मौका पाउँदा पनि केही नगर्ने र राम्रो गर्न कोसिस पनि नगर्ने नेता र दललाई जनताले पुनः मौका दिँदैनन् । हामीले प्राप्त मौका खेर फालेका छौँ, अब थप खेर जान दिनुहुँदैन । राम्रो सुरुवातबाटै विगतको गल्तीको प्रायश्चित्त पनि हुनेछ ।
 (घिमिरे कांग्रेस नेता हुन्)
 

सुझावित समाचार