मधेशका मुख्यमन्त्री राउतलाई कांग्रेस नेता कुर्मीको चुनौती

मंगलबार, २९ कार्तिक, २०७९
डिजिटल संस्करण

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत पर्साको निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट चुनावी प्रतिस्पर्धामा छन् । ५ बर्षसम्म निरन्तर मुख्यमन्त्री भएका उनले पुनः दोहोरिने अभिलाषासहित प्रदेश सभाको सदस्यमा उम्मेदवारी दिएका छन् । उनी आवद्ध जनता समाजवादी पार्टीले पनि मधेश प्रदेशमा आफ्नो सरकार जोगाइराख्न सत्ता गठबन्धनलाई अन्तिम घडीमा छाडेर एमालेसँग गठबन्धन गरेको थियो । जसपाले एमालेसँगको गठबन्धनबाट मधेश प्रदेशको प्रदेश सभातर्फ आफ्नो सरकार बनाउन अनुकुल हुने गरी धेरै सिटमा उम्मेदवारी पनि दिएको छ ।

५ बर्षसम्म मुख्य मन्त्री भएर ख्याती कमाएका र दोस्रो पटक पनि मुख्यमन्त्रीको दह्रिलो दाबी गरिरहेका राउतसँग सतागठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता रामनारायण कुर्मी चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । यदपी, कांग्रेस नेता कुर्मीलाई सत्ता गठबन्धन भित्रकै एक घटक लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को बागी उम्मेदवारले असहज बनाएका छन् ।

एमाले–जसपा गठबन्धनको बलियो प्रतिस्पर्धीका सामू सत्ता गठबन्धन भित्रबाटै बागी उम्मेदवार खडा भएपछि कुर्मीलाई थप चिन्ता बढेको हो । सो क्षेत्र कांग्रेसलाई छाड्ने पार्टी निर्णय बिपरित लोसपाको केन्द्रिय सदस्य शशिकपुर मियाँ र लोसपाकै वीरगन्ज महानगरका अध्यक्ष ओमप्रकाश सरार्फले स्वतन्त्र भएर उम्मेदवारी दिएका छन् ।

०७४ को निर्वाचनमा नेपाली कांग्रेसका विजय सरार्फलाई दुई हजार ९ सय ७५ मतान्तरले पराजित राउन निर्वाचित भएका थिए र पछि उनी प्रदेशको मुख्यमन्त्री समेत बने । राउतले त्यतिबेला ९ हजार ८ सय ४ मत पाएका थिए । कुर्मी भने अघिल्लो निर्वाचनमा पनि पराजित भएका पात्र हुन् । उनी ०७४ को निर्वाचनमा पर्सा १ को (क) बाट उठेका थिए । यसपटक सो क्षेत्र माओवादी केन्द्रको भागमा परेपछि कुर्मी पुरानो क्षेत्र छाडेर प्रदेश ख मा उम्मेदवार हुन आइपुगेका हुन्।

कुर्मीले मधेस प्रदेशको राजधानी वीरगन्ज बनाउने र ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गतको साइकल वितरणमा भएको भ्रष्टाचारमा राउतको संलग्नताा भएको बिषयलाई मुख्य एजेन्डा बनाएर निर्वाचनमा होमिएका छन ।

यसअघिकै निर्वाचनमा जनताको माझमा गरिएको प्रतिबद्धता र एजेन्डाहरूमा केही प्रगति नभएकाले मुख्यमन्त्री राउतले अब फेरि उम्मेदवार भएर जनताको आँखामा छारो हाल्ने योजना बाँडिरहेकाले त्यसलाई विफल बनाउन उम्मेदवारी दिएको कुर्मीले बताए । यसअघि पराजित भएर पनि निरन्तर जनताकै माझमा रहेका कारण जनताले विश्वास गर्ने र मतदान गर्ने उनी बताउँछन् । देशको आवश्यकतालाई मध्यनजर गरेर गठबन्धन भएको बताउँदै कुर्मीले पाँचदलीय गठबन्धनलाई कसैले हराउन नसक्ने दाबी गरे ।

मुख्यमन्त्री राउतले भने आफ्नो कार्यकालका कामबारे विपक्षीले गलत प्रचार गरे पनि आफू नै पुनः निर्वाचित हुने दाबी गर्छन् । मुख्यमन्त्री राउतले मधेश प्रदेशको राजधानी वीरगनजलाई नै बनाउन प्रयत्न गरे पनि एकल प्रयासमा केही नभएको प्रस्टीकरण दिए ।

मुख्यमन्त्री राउनले आफ्नो कार्यकालमा लोकप्रिय एवं प्रभावकारी कार्यक्रम गरेको बताउँदै साइकल वितरणमा भएको अनियमितताबारे कर्मचारीहरू जवाफदेही हुने बताउँदै आएका छन् । मुख्यमन्त्री राउतले युवाहरूलाई स्वरोजगार बनाउने, दलित, गरिबहरूको आवास निर्माण गर्ने, शिक्षा, स्वास्थ्य, कृषिलाई बढी प्राथमिकता दिने काम गरेको बताएका छन् ।

लोसपाबाट टिकट नपाएर बागी उम्मेदवारी दिएका ओमप्रकाश सर्राफले मतदातामाझ गएर मुख्यमन्त्री राउतले वीरगन्जका लागि केही नगरेकाले उनलाई हराउने अभियानअन्तर्गत उम्मेदवारी दिएको बताउने गरेका छन् । सर्राफले ०७४ मा पनि मुख्यमन्त्रीकै विरुद्धमा स्वतन्त्र उमेदवारी दिएर ५ सय ७१ मत ल्याएका थिए ।

त्यस्तै, लोसपा छाडेर स्वतन्त्र उम्मेदवारी दिएका शशिकपुर मियाँले मुख्यमन्त्री राउतको भ्रष्टचारबाहेक केही काम नदेखिएको तथा पाँचदलीय गठबन्धन निहित स्वार्थमा मात्रै केन्द्रित रहेको आरोप लगाए ।

गत वैशाख ३० मा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पर्सा १ को (ख) मा वडाध्यक्षले प्राप्त गरेको मतलाई केलाउँदा जसपाले ८ हजार ४ सय ३५ मत ल्याई सबैभन्दा अगाडि देखिन्छ । त्यस्तै, नेपाली कांग्रेसले ६ हजार चार सय ७३, नेकपा एमालेले ५ हजार पाँच सय १३ र लोसपाले एक हजार एक सय २५ मत ल्याएका थिए । माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले तीन सय ८८ मत ल्याएका थिए । यो तथ्यांकलाई हेर्दा एमाले–जसपा गठबन्धनबाट उम्मेदवारी दिएका राउत सहज अंक गणितमा देखिन्छन् ।

सुझावित समाचार