मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
शुरोजंग पाण्डे काठमाडाैं
२०७९ कार्तिक २२ मंगलबार ०७:४०:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

दलहरू डिजिटल प्रचारमा आक्रामक

Read Time : > 3 मिनेट
२०७९ कार्तिक २२ मंगलबार ०७:४०:००

डिजिटल ‘प्लाटफर्म’को पनि भरपूर उपयोग, पार्टी र उम्मेदवारहरूको सामाजिक सञ्जालका आधिकारिक पेज र ग्रुप पेज उत्तिकै सक्रिय

निर्वाचन आयोगले १५ दिनको समयसीमा तोकेर चुनाव प्रचार खुला गरेपछि राजनीतिक दलहरू आक्रामक चुनावी प्रचार अभियानमा छन् । मतदाता घरदैलो, कोणसभा, माइकिङ, आमसभाजस्ता परम्परागत प्रचारसँगै दलहरूले घोषणापत्रका एजेन्डा, उम्मेदवारका प्रतिबद्धता, सरकारमा हुँदा भएका कामदेखि विपक्षीका कमजोरीलाई विभिन्न तरिकाले ‘काउन्टर’ दिन डिजिटल ‘प्लाटफर्म’को पनि भरपूर उपयोग गरेका छन् । 

प्रचार व्यवस्थित गर्न केन्द्रदेखि प्रदेश, जिल्ला हुँदै निर्वाचन क्षेत्रसम्म संयन्त्र खडा गरेका दलहरूले सञ्चारमाध्यम परिचालनका लागि सूचना डेस्कदेखि विज्ञापन सामग्रीको समेत वितरण गरेका छन् । चुनाव नजिकिँदै जाँदा पार्टी र उम्मेदवारहरूको सामाजिक सञ्जालका आधिकारिक पेज र ग्रुप पेज पनि उत्तिकै सक्रिय बनाइएको छ । 

मूलतः सत्तारूढ गठबन्धन र एमालेबीच देशभर चुनावी प्रतिस्पर्धा छ । तर, गठबन्धनले संयुक्त प्रचार संयन्त्र नबनाई आबद्ध दलहरूले आ–आफ्नै संयन्त्र र शैलीबाट पार्टीको घोषणापत्र र उम्मेदवारकेन्द्रित प्रचार गरिरहेका छन् । कांग्रेसले परम्परागत चुनावी प्रचार शैलीसँगै डिजिटल प्रचारलाई विभिन्न उपसमिति नै निर्माण गरेर व्यवस्थित ढंगले चुनावी घोषणापत्र र एजेन्डाको प्रचार गरिरहेको छ । 

सञ्चारमाध्यमहरूमा सूचना व्यवस्थापनदेखि डिजिटल प्लाटफर्मबाट अडियो–भिडियो सूचना सामग्री सम्प्रेषणलाई उसले प्राथमिकता दिएको छ । चुनावी परिचालन समितिका प्रवक्ता डा. प्रकाशशरण महतले परम्परागत प्रचार शैलीलाई निरन्तरता दिँदै पार्टीले डिजिटल प्रचारको भरपूर उपयोग गरिरहेको बताए । 

‘सीमित दिनका लागि निर्वाचन आयोगले खुला गरेको समयसीमामा परम्परागत प्रचार शैली उम्मेदवारको घरदैलो, बैठक, अन्तक्र्रिया र सभाहरू भइरहेका छन् । तर, यसबाहेक सूचना प्रविधिको भरपूर उपयोग गरेका छौँ । गाउँगाउँसम्म स्मार्ट फोनको पहुँच पुगिसकेको पक्षलाई ध्यान दिँदै छिटोछरितो तरिकाले सूचना प्रचार गर्ने पक्षलाई ध्यान दिएका छौँ,’ महतले नयाँ पत्रिकासँग भने, ‘पार्टीले प्राविधिक टिम नै बनाएर घोषणापत्रका प्रचार गर्नुपर्ने मुख्य विषयवस्तु र नारालाई फोकस गरेर सम्प्रेषण गरिरहेका छौँ ।’ 

कांग्रेसले रेडियो, टिभी, अनलाइनमार्फत विज्ञापन सामग्री सम्प्रेषणको पनि तयारी गरेको छ । ती कामका लागि उसले विभिन्न क्षेत्रगत उपसमिति बनाएर जिम्मेवारी दिएको छ । त्यस्तै, सामाजिक सञ्जाल कमिटी, शुभेच्छुक संगठन कमिटी, विभिन्न विधागत, क्षेत्रगत कमिटीहरू प्रचारमा लगाएको छ । कांग्रेसको आधिकारिक फेसबुक अकाउन्टमा तीन लाख १० हजार सदस्य जोडिएका छन्, जहाँ उसले गठबन्धन सरकारको कामका भिडियो सामग्री, घोषणापत्रमा सामाजिक सुरक्षा भत्ता उमेर घटाएर ६८ हुँदै ६५ झारेको विषयलगायतलाई समेटेर सामग्री सम्प्रेषण गरिरहेको छ । 

एमालेले मतदाता घरदैलो र कोणसभाका अतिरिक्त ठूला प्रकृतिका परम्परागत आमसभालाई पनि जोड दिएको छ । अध्यक्ष केपी ओली पूर्वनिर्धारित देशभरका ४० वटा आमसभामा सहभागी हुन देश दौडाहामा छन् । १८ कात्तिकदेखि सुदूरपश्चिमको बैतडी, कञ्चनपुर, बाजुरा हुँदै पछिल्लोपटक उनले स्याङ्जा, बाग्लुङ, पोखराको सभालाई सम्बोधन गरेका छन् । यसबाहेक एमालेले तीन लाख ६० हजार जोडिएको पार्टीको आधिकारिक फेसबुक अकाउन्टलाई एक्टिभ गरेर डिजिटल प्रचारमा जोड दिएको छ । सामाजिक सञ्जाल प्रयोग र भिडियो सामग्री उत्पादनका लागि छुट्टै टिम बनाएको एमालेले प्रचार विभागसँग जोडिएका व्यक्तिहरूबाहेक काममा सक्रिय उपसमिति भने बाहिर सार्वजनिक गरेको छैन । 

घोषणापत्रका मुख्य कुराहरूलाई ट्वान्टी ग्यारेन्टीका रूपमा एमालेले धुमधामले डिजिटल प्रचार गराइरहेको छ । त्यस्तै, मुख्य नेताहरूको सम्बोधन, पार्टी प्रवेशलगायतका गतिविधिलाई नियमित छोटो भिडियो बुलेटिनका रूपमा सूर्य खबर सञ्चालन गरिरहेको छ । खासगरी ओली नेतृत्वको सरकारले गरेका काम र उम्मेदवारका भिजन तथा प्रतिबद्धतालाई एमालेले प्रचार गरिरहेको छ । केन्द्रीय प्रचार विभागका सचिव गगन विष्टले केन्द्रीय निर्वाचन परिचालन कमिटीले नै प्रचारको कामलाई पनि व्यवस्थित गरिरहेको बताए । ‘हामीले यसपटक केन्द्रमा छुट्टै प्रकृतिको प्रचार संयन्त्र बनाएनौँ, निर्वाचन परिचालन कमिटीको सचिवालयले नै प्रचारको तमाम कामको व्यवस्थापन गरिरहेको छ,’ विष्टले भने, ‘हामीले डिजिटल प्लाटफर्ममार्फत सामाजिक सञ्जाललाई बढी प्रयोग गर्ने, यससँग जोडिएको टिकटक तथा सर्ट भिडियो सामग्रीहरू, सन्देशमूलक सामग्रीहरू पनि बनाएर प्रचार गरिरहेका छौँ ।’ 

माओवादीले पनि कांग्रेस र एमालेकै शैलीमा परम्परागत र सूचना प्रविधिको उपयोग गर्दै चुनावी प्रचार अगाडि बढाइरहेको छ । तर, एमाले र कांग्रेसले जस्तै विविधतापूर्ण तरिकाले डिजिटल प्लाटफर्म उपयोगको सवालमा भने माओवादी केन्द्र केही पछि देखिएको छ । माओवादीले पार्टीको फेसबुक अकाउन्टलाई एक्टिभ गर्नेदेखि गीत र सर्ट भिडियोमार्फत चुनावी एजेन्डा प्रचार गर्ने कुरालाई प्राथमिकतामा राखेको छ । ‘हामीले चुनावी प्रचारलाई आक्रामक रूपमा कसरी लैजान सकिन्छ भनेरै तयारीसहित अगाडि बढ्न खोजिरहेका छौँ,’ उपाध्यक्ष तथा पार्टी प्रवक्ता कृष्णबहादुर महराले भने, ‘अहिलेको चुनाव सामान्य चुनाव होइन, यो अग्रगमनकारी शक्तिले जित्ने कि पश्चगामीले जित्ने भन्ने चुनाव हो, त्यसैले प्रचार सामग्रीलाई त्यसअनुसार नै तयारी गरेर अगाडि बढाउन पार्टी संयन्त्रहरूलाई निर्देशन दिइएको छ ।’

सत्तारूढ गठबन्धनभित्रको अर्को दल एकीकृत समाजवादीले आफ्नो दलले कम्युनिस्ट पार्टीको अनुशासनभित्र रहेर सभ्य र शिष्ट ढंगले प्रचार शैलीलाई अपनाइरहेको बताएको छ । प्रचार विभागका उपप्रमुख शम्भु श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘कसैविरुद्ध गालीगलौजमा उत्रिनेभन्दा स्वस्थ र सभ्य तरिकाले घोषणापत्रका कुरालाई प्रचार गरिरहेका छौँ, कसैलाई हराउनका लागि अराजनीतिक प्रचार गर्नुहुन्न भन्ने मान्यतामा हामी स्पष्ट छौँ ।’ 

जनता समाजवादी पार्टीले घरदैलो र कोणसभाका अतिरिक्त मधेसी समुदायकेन्द्रित राष्ट्रिय भाषामा लोकगीत, सडकनाटक बनाएर अरूभन्दा भिन्न प्रचार शैली अपनाएको छ । ‘हाम्रा उम्मेदवारहरूले मधेसका लोकगीत क्यासेट निकालेर प्रचार गरिरहनुभएको छ, सडकनाटकलाई पनि उत्तिकै प्राथमिकता दिएका छौँ,’ प्रवक्ता मनीष सुमनले भने । 

लोसपाले पनि मधेसमा जसपाकै प्रचार शैली अपनाएको छ भने अर्को दल राप्रपाले फेसबुक पेज सक्रिय बनाएर पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको सम्बोधनलाई लाइभ गर्ने, नीति कार्यक्रम र घोषणापत्रका विषयलाई सर्ट भिडियो बनाएर प्रचार गराउने, ख्यातिप्राप्त व्यक्तिहरूलाई पार्टीको पक्षमा मत माग्न लगाउनेलगायतका प्रचार रणनीतिलाई अपनाएको छ ।