१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o७:१८:oo
Read Time : > 4 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

गठबन्धन : फासीवादलाई निम्तो

चुनावी विजयको आकर्षणमा वर्तमान संसदीय राजनीतिका सबै दल आफ्ना राजनीतिक एजेन्डाबाट विचलित भइसकेका छन्

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o७:१८:oo

पुरानो युग धार्मिक सत्ता अर्थात् सांस्कृतिक राष्ट्रहरूको थियो । तर, एउटै राज्यमा बहुसांस्कृतिक र बहुजातीय उपस्थितिका कारण नयाँ खालको बहुराष्ट्रिय राज्य आवश्यक भयो । पुराना राष्ट्रहरू एकल धार्मिक सांस्कृतिक राज्य भएकाले निश्चित एकल धार्मिक प्रथा र मिथकीय नैतिकताले सञ्चालित हुने गथ्र्यो । नयाँ राज्यहरू बहुधार्मिक बहुसांस्कृतिक राज्यलाई एकल धार्मिकताले सञ्चालन गर्नु सम्भव थिएन । ऐतिहासिक क्रममा अनेक सामाजिक अन्तर्संघर्ष र अन्तर्सम्बन्धको बीचबाट मानवीय र सामाजिक हितका आधारमा साझा समझदारीको विकास भयो । यो ‘राजनीति’ थियो ।

मानवीयता, धर्मनिरपेक्षता समानता र स्वतन्त्रतामा आधारित यस समझदारीले समुदायमा रहेको व्यक्तिको निजी धार्मिक र सांस्कृतिक आस्थाको सम्मान त गथ्र्यो, तर राज्यलाई सबै धार्मिकता र सांस्कृतिकताबाट निरपेक्ष मान्थ्यो । यसलाई तपाईं पुरानो मिथ चेतनाअनुकूल धर्मनिर्देशित सांस्कृतिकताको विकल्पमा नयाँ ऐतिहासिकबोधबाट विकसित वैज्ञानिक चेतनाअनुकूल मानवीयता निर्देशित नयाँ राजनीतिक सांस्कृतिकता पनि भन्न सक्नुहुन्छ । यस नयाँ चेतना तथा इतिहासबोधबाट प्रेरित भएर आर्थिक, सांस्कृतिक र शासकीय शोषणबाट मुक्त हुन विगत तीन सय वर्षमा विश्वमा अनेकौँ सामाजिक आन्दोलन जनसंघर्ष, विद्रोह र क्रान्ति भएका छन् । 

आधुनिक समाजका पनि आफ्नै जटिलता छन् । वर्गविभाजित समाजमा यी राजनीतिक विचारधारा निश्चित वर्गका हितमा रहेकाले नयाँ राजनीतिक विचार (जनवाद, लोकतन्त्र, समाजवाद, प्रजातान्त्रिक समाजवाद, पुँजीवाद, साम्यवाद आदि) पनि आपसमा अन्तर्विरोधी छन्; र समाजमा गतिशील वर्गसंघर्षमा आ–आफ्नो वर्गहितको संरक्षण गर्छन् । 

वर्तमान विश्वका आधुनिक राज्यहरू यिनै राजनीतिक वैचारिक ढाँचामा छन् । हुन त बौद्ध, इस्लाम र यहुदी धर्मबाट निर्देशित केही धार्मिक राज्य पनि छन्, तर यी राज्यले पनि राजनीतिक चेतना तथा प्रक्रियालाई अवमूल्यन गर्नसकेका छैनन् । तात्पर्य के हो भने, वर्तमान युगका सबै राज्य राजनीतिक विचार र ढाँचाका छन् ।यस समग्र गन्थन–मन्थनको आशय के हो भने, राजनीतिक विचार वर्तमान युगको निर्देशक र कार्यकारी हो । यसले जनतालाई आफ्नो अधिकारप्रति सचेत गराउँछ, संगठित गराउँछ र शोषण र पश्चगामी विचार र सामाजिक संरचनाबाट मुक्तिका निम्ति प्रयत्न गर्न तथा पश्चगामिता र यथास्थितिवादिताविरुद्ध प्रतिरोध गर्न प्रेरित गर्छ ।

नेपालमा ००७ साल, ०४७ साल र ०६२÷६३ को गणतान्त्रिक परिवर्तन सबैमा यी राजनीतिक विचार मुख्य कारक रहेका छन् । गणतान्त्रिक परिवर्तन नेपालमा युगान्तकारी राजनीतिक परिघटना थियो । यसले एकातिर नेपालमा १८ सय वर्षको राजतन्त्रको निरन्तरता निर्णायक रूपमा समाप्त गरिदियो भने अर्कातिर धर्मनिरपेक्षता, समानता र उत्पीडित वर्ग र उत्पीडित सामाजिक समुदायको मुक्तिको प्रश्नलाई बहसमा ल्याइदियो । यसको अर्थ, नेपालको नयाँ गणतान्त्रिक राज्यको आकांक्षा मानवीयतामा आधारित आधुनिक राज्य निर्माण गर्नु थियो । यो नेपाललाई राष्ट्र होइन, देश बनाउने मानवीय आकांक्षा थियो । 

राष्ट्र सांस्कृतिक भावनामा आधारित हुन्छ र यसमा बहुसंख्यकलाई आफ्नो संस्कृतिविशेषलाई देशको मुख्य परिचय वा राष्ट्रभक्तिका रूपमा प्रस्तुत गर्न उन्मादित गर्छ । देश मानवीय हुन्छ, यसले धार्मिक आस्थालाई स्विकार्नु वा नस्विकार्नुलाई वैयक्तिक अधिकार मान्छ र आफूलाई सबै धर्मबाट निरपेक्ष राखेर समाजलाई मानवीय समानताका आधारमा व्यवहार गर्छ । त्यसैले, देशभक्ति एउटा उदार र मानवोचित धारणा हो, जसमा सबै अटाउन सक्छन् । यस अर्थमा नेपालमा गणतान्त्रिकता महान् जनआकांक्षा र सम्भावना बोकेको कदम थियो । यस अर्थमा राजनीतिले सर्वोच्च सम्मान पाउनुपथ्र्यो । गणतन्त्रको विगत १५ वर्षमा, आधुनिक राजनीतिका अनिवार्य तत्व धर्मनिरपेक्षता, मानवीयता, समानता तथा देशभक्ति राजनीतिक संस्कृति मात्र होइन, सामाजिक संस्कृति पनि बन्नुपथ्र्यो । तर, अहिले राजनीति सबैभन्दा अपमानित स्थितिमा छ । अहिले फेरि राजनीतिक संस्कृति बहसबाट हराउँदै गइरहेको छ । फेरि पुरातन धार्मिक राष्ट्र र संस्कृतिका विषय सतहभन्दा माथि छन् । 

गणतन्त्रवादीहरूले राजतन्त्रवादीसँग, धर्मनिरपेक्षतावादीहरूले धार्मिक संगठनसँग र सर्वहारावादी वर्गीय कम्युनिस्ट राजनीति गर्नेहरूले पुँजीवादीहरूसँग गठबन्धन गरेपछि समग्र राजनीतिमा जनताका निम्ति अविश्वास र उदासीनताबाहेक अरू केही बाँकी रहँदैन
 

माओवादीको जनयुद्धपछि अग्रगामी राजनीतिक विचार र एजेन्डा जनताका औपचारिक एजेन्डामा परिणत भएका थिए । अहिले पुरातनपन्थी शक्ति र राजतन्त्रवादीहरूले वर्तमान गणतन्त्र र धर्मनिरपेक्षताबारे राजनीतिक दलहरूले जनमत नलिएर जबर्जस्ती थोपरेको झुटा प्रचार गरिरहेका छन् । गणतन्त्रको मूल कारक माओवादी जनयुद्धको सर्वहारा श्रमिक पक्षधरता, जनगणतन्त्र तथा धर्मनिरपेक्षता उनीहरूको खुला एजेन्डा थियो । माओवादी मात्र होइन, अन्य कम्युनिस्ट संगठन र आफूलाई प्रजातान्त्रिक समाजवादी भन्ने बिपीलगायत नेताहरूको लेखनमा धर्र्मनिरपेक्ष राज्यको नै समर्थन गरिएको छ । 

बिपीले त नेपालमा धर्मनिरपेक्षताको विरोध गर्नु नेपाली जनतासँग धोका हुनेसमेत भनेका छन् । त्यसैले, पुरातनपन्थी र राजतन्त्रवादीहरूको कुप्रचार इतिहासलाई बंग्याएर प्रस्तुत गर्ने तथा प्रतिगामी उद्देश्य पूरा गर्ने दाउ मात्र हो । तर, यसभन्दा पनि दिक्दारी के छ भने गणतान्त्रिक राजनीतिक दलहरू नै चुनावी अवसर छोप्न आफ्नो वैचारिक निष्ठाबाट स्खलित भएर पुरातन र प्रतिगामी तत्वलाई अनुकूल हुने वातावरण निर्माण गरिरहेका छन् । 

राजनीतिक संस्कृतिको यो अवमूल्यन गणतान्त्रिक परिवर्तनको नेतृत्व गर्ने राजनीतिक दलहरूको राजनीतिक वैचारिक विचलन हो । गणतान्त्रिक आन्दोलन र त्यसपछि मधेस आन्दोलनलगायत अधिकार र पहिचानका एजेन्डालाई संश्लेषित रूपमा पुरानो राज्यसत्ताबाट शोषित र विभेदमा परेका उत्पीडित वर्ग र उत्पीडित समुदायको पक्षधर राज्य निर्माणको एजेन्डा भन्नु उपयुक्त हुनेछ । 

परिणामले के देखाएका छन् भने, त्यतिवेला जनप्रतिनिधि चयनका निम्ति पुरानै चुनावी पद्धतिको अवलम्बन गर्नु, राजनीतिक नेतृत्वहरूको अनुभवहीनता र अवसरवादिताको कारण बन्यो । चुनावी विजयको आकर्षणमा वर्तमान संसदीय राजनीतिका सबै राजनीतिक दल आफ्ना राजनीतिक एजेन्डाबाट स्खलित भइसकेका छन् । यसपटकको चुनावी माहोलमा भने यो स्खलन अत्यन्त निकृष्ट रूपमा देखिएको छ । चुनावी वर्चस्वका निम्ति राजनीतिक दलहरू आफूले प्रतिगामी घोषित गरेका दलहरूसँग समेत गठबन्धन गरेका छन् ।

कम्युनिस्टहरूको वर्गीय दृष्टिकोणबाट यो उत्पीडित वर्ग र समुदायविरोधी त हो नै, दलीय चुनावलाई लोकतन्त्रको सर्वोच्च अभिव्यक्ति र पार्टीहरूको विचारलाई जनअनुमोदन मान्नेहरू पनि जनविरोधी देखिएका छन् । अहिले जसरी शेरबहादुर देउवा–प्रचण्डको नेतृत्वमा नेका–माके–एस–लोसपा गठबन्धन र केपी ओली नेतृत्वको एमाले–जसपा–राप्रपा गठबन्धन चुनावी मैदानमा एकअर्काका सामुन्ने गलाकाट प्रतिस्पर्धामा छन्, त्यसले नेपाली राजनीतिको वैचारिक र जनपक्षीय धरातल पूर्णतः ध्वस्त भएको देखिन्छ । यसले नेपाली राजनीतिमा वैचारिक र वर्गीय पक्षधरता होइन, विकासको अवसरवादी आश्वासन मात्र बाँकी रहेको देखिन्छ ।

गणतन्त्रवादीहरू राजतन्त्रवादीहरूसँग, धर्मनिरपेक्षतावादीहरू धार्मिक संगठनसँग र सर्वहारावादी वर्गीय कम्युनिस्ट राजनीति गर्नेहरूले पुँजीवादीहरूसँग गठबन्धन गरेपछि समग्र राजनीतिमा जनताका निम्ति अविश्वास र उदासीनताबाहेक अरू केही बाँकी रहँदैन । यसले गणतन्त्रवादी राजनीतिक दलहरूको नैतिक आत्मबल कमजोर गराएको छ । त्यसैकारण, उनीहरूले आफ्नो धर्मनिरपेक्षता, मानवीयता र उत्पीडित वर्ग पक्षधर धारणाको दृढतापूर्वक वकालत गर्न सकिरहेका छैनन् ।

राजतन्त्रको पतन र गणतन्त्रका प्रारम्भिक वर्षहरू र पहिलो संविधानसभा निर्वाचनका वेला राज्य संरचनाको क्षेत्रमा जनतान्त्रिक प्रगतिशील एजेन्डा, समाजवादी चेतना सामाजिक राजनीतिक बहस केन्द्रमा थिए । समाजवाद नयाँ नेपालको सबैभन्दा सुन्दर स्वप्न थियो । त्यतिवेला राजतन्त्र, संकीर्ण धार्मिकता, साम्प्रदायिकता र जातीय संकीर्णताजस्ता दक्षिणपन्थी धारणा धराशयी स्थितिमा थिए । समाजवाद र जनपक्षीय विकास मात्र जनताको अपेक्षामा थियो । विगतमा गणतन्त्रवादीहरू धार्मिक विषयमा नचिप्लिएका होइनन्, तर त्यसलाई वैयक्तिक आस्थाको तर्कभित्र केहीबेर छुट दिन सकिन्छ (यद्यपि यो पनि स्खलन नै हो) । तर, यसपटकका गठबन्धनहरूमा राप्रपाजस्ता राजतन्त्रवादी, संकीर्ण धार्मिक तथा संकीर्ण क्षेत्रीयतावादीहरू जसरी अटाएका छन्, त्यो पुरातनपन्थी र प्रतिगामी शक्तिलाई औपचारिक रूपमा स्वीकार गरिएजस्तो हो । राजनीतिक वैचारिक रूपमा यो फासीवादलाई औपचारिक निम्तो दिएसरह हो । इतिहासका अध्येताहरूलाई थाहा हुनुपर्छ कि २०औँ शताब्दीको ४० को दशकमा जर्मनीमा वाइमर गणतन्त्रभित्रको यस्तै गैरवैचारिकता, अस्थिरता तथा राजनीतिक अवसरवादी प्रतिद्वन्द्विताको बीचबाट कुख्यात फासीवादी तानाशाह एडोल्फ हिटलर जन्मिएका थिए । 

यसपटकको चुनावी माहोलमा राजतन्त्रवादीहरू, संकीर्ण धार्मिक तथा साम्प्रदायिक शक्तिहरू मात्रै धार्मिक राज्य र पुरातनताको प्रचार गरिरहेका छैनन्; आफूलाई गणतान्त्रिक, अग्रगामी र प्रगतिशील भन्ने राजनीतिक दलहरूसमेत संकीर्ण राष्ट्रवादिता, धार्मिक र साम्प्रदायिक कार्ड खेलिरहेका देखिन्छन् । यसपटकको निर्वाचनमा गणतान्त्रिक संस्कृति, धर्मनिरपेक्षता, सर्वहारावादी पक्षधरता र देशभक्तिजस्ता मानवीय र प्रगतिवादी विषयहरू नेताजीहरूको भाषणमा सुन्न गाह्रो भएको छ । यो वर्तमान राजनीतिक संस्कृतिको अवनतिको अत्यन्त गम्भीर र संवेदनशील उदाहरण हो । वस्तुतः आज यस्तो राजनीतिक शक्तिको आवश्यकता छ, जसले समाजका सबै तप्का र वर्गलाई पूर्ण सम्मान र गरिमासाथ स्वीकार गरोस्, गणतन्त्रको जनतान्त्रिक ओजलाई कायम राखोस् । राजनीति र धर्मलाई मिसमास नपारोस् र देशलाई मानवीयता र समानताका आधारमा समृद्धितर्फ डो¥याउन सकोस् । तर, यसपटकको चुनावमा जसरी राजनीतिक दलहरूबीच अनमेल गठबन्धन देखिएको छ, त्यसले देशलाई अग्रगामितातिर होइन, इतिहासको पश्चगामी रछ्यानमा फ्याँकिदिएको छ । राजनीतिक दृष्टिले यो अत्यन्त जटिल समय हो ।     

ad
ad