मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ कार्तिक २० आइतबार १०:३८:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

कतार विश्वकपमा सहभागी  हुन नसकेका ६ ठूला टिम

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ कार्तिक २० आइतबार १०:३८:००

कतार विश्वकप २०२२ मा खेल सुरु हुनुअघि नै केही टिमको अनुपस्थितिले दर्शकलाई दुःखी बनाउनेछ । वर्तमान युरोपेली च्याम्पियन तथा चारपटकको विश्वकप विजेता इटाली यसपटक विश्वकपमा छनोट हुन सकेन । कतारमा इटालीबाहेक युरोप, दक्षिण अमेरिका र अफ्रिकाका अन्य केही ठूला टिम पनि सहभागी हुनेछैनन् । यहाँ नोभेम्बरमा कतारमा हुने विश्वकपमा सहभागी नहुने ६ बलिया टिमको उल्लेख गरिएको छ :

इटाली 
वरीयता : ६
विश्वकपमा उत्कृष्ट प्रदर्शन :  
विजेता (१९३४, १९३८, १९८२ र २००६)

मार्चमा भएको प्लेअफ सेमिफाइनलमा नर्थ म्यासेडोनियाविरुद्ध पराजित भएपछि इटालीले कतार विश्वकपमा स्थान सुरक्षित गर्न सकेन । युरो २०२० को उपाधि विजेता इटाली प्लेअफमा पुग्न नसकेकोमा धेरैलाई पत्याउन गाह्रो परेको थियो । छनोटका सुरुका खेलमा राम्रो प्रदर्शन गरेको भए पनि इटालीले पछिका पाँच खेलमा राम्रो खेल्न सकेन । जसरकाण, आफ्नो समूहमा विजेता बन्न सकेन । समूहमा दोस्रो भएपछि प्लेअफमा पुग्यो । त्यसमा पनि गोल गर्न नसकेपछि इटाली लगातार दोस्रोपटक विश्वकपबाहिरै बस्नुपरेको छ ।

कोलम्बिया 
वरीयता : १७
विश्वकपमा उत्कृष्ट प्रदर्शन :  
क्वार्टरफाइनल (२०१४)

पूर्वविश्वकप गोल्डेन बुट विजेता जेम्स रोड्रिग्वेज, लुइस डियाजलगायत स्टार खेलाडी सम्मिलित कोलम्बिया प्रतियोगिताका लागि छनोट हुने अनुमान लगाइएको थियो । किनकि, विश्वकपका पछिल्ला दुई संस्करणमा उसको प्रदर्शन निकै राम्रो थियो । 

तर, दक्षिण अमेरिकी क्षेत्रको क्वालिफायरमा कोलम्बिया छैटौँ स्थानमै सीमित रह्यो । शीर्ष चार टोली स्वतः छनोट भए । कोलम्बिया बाहिरिएपछि रोड्रिग्वेजले आफ्नो निराशा सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । उनले आफ्नो टिम विश्वकपमा छनोट हुन नसक्दा ‘गहिरो चोट परेकोे’ बताएका छन् । 

स्विडेन
वरीयता : २५
विश्वकपमा उत्कृष्ट प्रदर्शन : उपविजेता (१९५८)

हालसम्म भएका २१ वटा विश्वकपमध्ये स्विडेन १२ वटामा सहभागी भएको छ । यो देशले सन् १९५८ मा प्रतियोगिताको आयोजना गरेको थियो । यस वर्ष यो टिम फाइनलमा ब्राजिलसँग पराजित भएको थियो । गत वर्ष सम्पन्न क्वालिफायरको दोस्रो लेगमा ५ खेलमध्ये तीन खेल हारेपछि स्विडेनको कतार यात्रा धर्मराएको थियो । उनीहरू स्पेनभन्दा पछि पर्दै समूहमा दोस्रो स्थानमा रहे । त्यसपछि प्लेअफमा पोल्यान्डसँग भिडे । जहाँ पोल्यान्डले स्विडेनलाई २–० ले हरायो । 

चिली
वरीयता : २९
विश्वकपमा उत्कृष्ट प्रदर्शन : तेस्रो स्थान (१९६२)

सन् १९३० को पहिलो संस्करणदेखि नै चिलीले विश्वकपमा सहभागिता जनाउँदै आएको छ । सन् १९६२ मा प्रतियोगिता आयोजना गरी तेस्रो स्थानमा रह्यो । पछिल्ला संस्करणहरू १९९८, २०१० र २०१४ मा चिली राउन्ड अफ १६ मा पुगेको थियो । आर्टुरो भिडाल, ग्यारी मेडेल र एलेक्सिस सान्चेजजस्ता खेलाडीले चिलीलाई एउटा उत्कृष्ट टोलीका रूपमा स्थापित गरेका थिए । तर, पछिल्लो समय यी खेलाडीहरूको कमजोर फर्मका कारण चिलीको प्रदर्शन राम्रो रहेन । उनीहरूले कतार २०२२ का लागि अन्तिम चार छनोट खेलमध्ये एउटा मात्र जितेका थिए । 

नाइजेरिया
वरीयता : ३२
विश्वकपमा उत्कृष्ट प्रदर्शन :  
राउन्ड अफ १६ (१९९४, १९९८, २०१४)

नाइजेरियाले सन् १९९४ को विश्वकपमा डेब्यु गरेको थियो । उनीहरूको आक्रमण शैली बेजोड थियो । गोल गरेपछिको मनोरञ्जनात्मक रूपमा उत्सव मनाउने शैलीका कारण पनि फ्यानहरूमाझ नाइजेरियाका खेलाडी तुरुन्तै हिट भए । त्यस वर्ष नाइजेरिया समूहको शीर्ष स्थानमा रहेको थियो । तर, राउन्ड अफ १६ मा रोबर्टो ब्यागियोको नेतृत्वमा रहेको इटालीसँग हारेर फर्कियो । त्यसयता, सुपर इगल्स भनेर चिनिने नाइजेरिया फुटबल टिमले सन् २००६ को विश्वकपबाहेक अन्य संस्करणमा सहभागिता जनाएको थियो । तर, यसपटक घानाविरुद्ध प्लेअफमा पराजित भएकाले कतार विश्वकप खेल्ने सपना पूरा भएन । 

इजिप्ट
वरीयता : ३९
विश्वकपमा उत्कृष्ट प्रदर्शन :  
समूह चरण (१९३४, १९९०, २०१८)

छनोटका लागि भएको सेनेगलविरुद्धको प्लेअफमा स्टार मोहम्मद सलाहसहित अन्य दुई खेलाडी पेनाल्टीमा चुक्दा इजिप्ट विश्वकपबाहिरै रह्यो । विश्वकपमा इजिप्टको इतिहास पनि सम्झनलायक छैन । तीनपटक विश्वकपमा प्रतिस्पर्धा गरे पनि उसले कहिल्यै दोस्रो चरणमा स्थान बनाउन सकेन । २०१८ को संस्करणमा पनि स्टार खेलाडी मोहम्मद सलाह काँधको चोटका कारण फिट थिएनन् ।