१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक २० आइतबार ०८:४३:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

प्रधानमन्त्री कप : अपराजित एपिएफ सेमिफाइनलमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक २० आइतबार ०८:४३:००

विभागीय टोली एपिएफ क्लब काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार कर्णाली प्रदेशलाई ४४ रनले पराजित गर्दै एपिएफले अपराजित यात्रा कायम राखेर अन्तिम चारमा स्थान बनाएको हो । यसअघि एपिएफले त्रिभुवन आर्मी क्लबलाई ५६ रन, सुदूरपश्चिमलाई १० विकेटले पराजित गरेको थियो । अन्तिम खेलमा भने गण्डकी प्रदेशसँग अंक बाँडेको हो ।

जितसँगै समूह ‘ए’मा एपिएफले चार खेलमा तीन जित र एक ‘टाई’सँगै सात अंक जोडेर शीर्ष स्थानमा छ । एक खेल कम खेलेको गण्डकी पाँच अंकसहित दोस्रो स्थानमा छ । त्रिभुवन आर्मी क्लबको दुई खेलबाट दुई अंक छ । कर्णाली र सुदूरपश्चिमले भने कुनै अंक जोड्न सकेका छैनन् । खेलसँगै एपिएफले कम्तीमा शीर्ष दुईमा रहेर सेमिफाइनल पुग्ने पक्का भएको हो । अब समूहमा गण्डकी प्रदेश र आर्मीमध्ये एकले अन्तिम चारमा स्थान बनाउनेछन् । 

आसिफको शतक 
टस जितेर सुरुवाती ब्याटिङ गरेको एपिएफले ४७.२ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ३४ रन बनायो । एपिएफबाट प्लेयर अफ दी म्याच आसिफ शेखले शतक प्रहार गरेका थिए । विकेटकिपर तथा ब्याट्सम्यान आसिफले एक सय ३६ बलमा १५ चौका र एक छक्काको वर्षातसँगै एक सय ३० रन बनाएका थिए । त्यसैगरी, भुवन कार्कीले २३, ओपनर प्रदीप ऐरीले २० र लोकेश बम तथा दीपक बोहराले समान १० रन जोडेका थिए । बलिङतर्फ कर्णालीका प्रकाश जैशी र दीपेन्द्र रावतले समान तीन विकेट लिएका थिए । त्यसैगरी, दिवन पुनले दुई र दिनेश अधिकारीले एक विकेट हात पारे । 

जवाफी ब्याटिङमा उत्रिएको कर्णाली ४८.१ ओभरमा सबै विकेट गुमाउँदै एक सय ९० रनमा समेटिएको थियो । कर्णालीका ओपनर तथा कप्तान रविन्द्र शाहीले अर्धशतकीय इनिङ्स खेले । एक सय ३८ बलमा पाँच चौका र दुई छक्का प्रहार गरेका रविन्द्रले ८० रन बनाएका थिए । त्यसैगरी, विपिन शाहीले ३४, अर्जुन घर्तीले २७ र दिनेश अधिकारीले २० रनको योगदान गरे । बलिङतर्फ एपिएफका मौसम ढकालले सर्वाधिक चार विकेट लिए । उनले १० ओभरमा ५१ रन खर्चिएका थिए । यसैगरी, कमल ऐरी र भुवन कार्कीले समान दुई विकेट हात पारे ।