मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ मङ्सिर १७ शनिबार
  • Saturday, 03 December, 2022
२०७५ चैत १५ शुक्रबार १०:१०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

दलितले पैसा उठाएर, पसिना बगाएर बनाएको मण्डपमा मन्त्रीले महायज्ञ उद्घाटन गरे, पूजा बस्दा दलित लखेटिए

Read Time : > 1 मिनेट
२०७५ चैत १५ शुक्रबार १०:१०:००

बारामा मन्त्रीले उद्घाटन गरेको महायज्ञमा दलित समुदायलाई पूजामा रोक लगाइएको छ । बाराको परवानीपुर गाउँपालिका–१ बुनियादमा बुधबार सुरु भएको विष्णु महायज्ञको उद्घाटन प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले गरेका थिए ।महायज्ञको तयारीका काममा भने दलितहरू खटेका थिए । मण्डप बनाउने, सफाइ गर्ने काम दलितले पनि गरेका थिए ।

उनीहरूले प्रतिघर एक हजारका दरले चन्दा पनि दिएका थिए । तर, उद्घाटन पूजामा आफूहरूलाई बस्न नदिइएको स्थानीय राजेश चमारले बताए । महायज्ञ आयोजक समितिका अध्यक्ष तथा वडाध्यक्ष मिश्री महतोसहितका पदाधिकारीले उद्घाटनको दिन आफूहरूलाई पूजामा बस्न नदिएको चमारले बताए । 

‘महायज्ञको कलशयात्रामा हामी पनि सहभागी भएका थियौँ । मण्डपसम्म आएर टीका लगाउने वेला पूजामा बसेकाले रोक लगाए,’ उनले भने । दलितलाई महायज्ञमा सहभागी नगराउनु दुःखद भएको गाउँका दलितहरूले बताएका छन् । ‘पहिले गाउँमा महायज्ञ हुँदा हामी सहभागी हुन्थ्यौँ,’ स्थानीय निरञ्जन पासवानले भने, ‘अहिले आएर महायज्ञमा बस्न दिइएन, दुःख लागेको छ ।’ यस्तो विभेदपूर्ण कार्य सह्य नहुने उनले बताए । राजपा नेपालबाट बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य एकवाल मियाँको गाउँ हो बुनियाद । महायज्ञको उद्घाटन समारोहमा मियाँसमेत सहभागी भएका थिए । गाउँमा चमार र दुसाद गरी दलितका करिब ३५ घरधुरी छन् । 

‘तीन–चारजनाले दलितलाई रोकेको सुनेको छु, छलफल गरेर समाधान गर्छु,’ वडाध्यक्ष तथा महायज्ञ आयोजक समिति अध्यक्ष महतोले भने, ‘भविष्यमा हुने महायज्ञमा दलितलाई सहभागी गराइनेछ ।’वडाध्यक्ष एवं महायज्ञ आयोजक समितिका अध्यक्ष मिश्री महतोले महायज्ञको पूजामा चमार जातिका मानिसलाई केही व्यक्तिले बस्न नदिएको स्वीकार गरेका छन् । महतोले भने, ‘गाउँमा सबै व्यक्ति एकै किसिमका हुँदैनन् ।

दलितलाई पूजामा सहभागी गराउन पहल गर्छु ।’ यद्यपि उनले आयोजकका तर्फबाट दलितलाई प्रतिबन्ध नलगाइएको दाबी गरे । ‘महायज्ञको अध्यक्ष आफैँ भएकाले मैले त्यस्तो रोकटोक लगाएको छैन,’ उनले भने । यो विवाद समाधानतर्फ गएको पनि उनले बताए । वडाध्यक्ष महतोले समाधान हुन्छ भने पनि छलफलबाट समेत विवाद साम्य भएन ।

विष्णु महायज्ञ चैत २१ सम्म चल्नेछ, तर बिहीबार भएको छलफलपछि पनि महायज्ञमा दलितलाई प्रवेश नदिने आयोजकको अडान परिवर्तन भएन । बरु उल्टै भविष्यका महायज्ञमा दलितलाई सहभागी गराउने भन्दै थुमथुम्याउने कोसिस गरिएको राजेश चमारको भनाइ छ । ‘यसपटक यस्तै भयो, अब अर्को यज्ञ भयो भने दलितलाई सहभागी गराउँछौँ भनेर वडाध्यक्षसहितका अगुवाले भने,’ चमारले भने, ‘त्यसपछि हामीले केही भनेनौँ ।’

 हवन गर्न इँटा बोक्यौँ । फूल किन्न पैसा दियौँ । तर, पूजा गर्ने वेला केटाकेटीसहित हामीलाई लखेटियो ।– राजेश चमार

गाउँमा महायज्ञ लगाउने खबर सुनेपछि हामी धेरै खुसी भयौँ । भद्रभलाद्मी आएर हामीलाई पनि अगाडि सर्न भन्नुभयो । हामी खाल्डो खन्न गयौँ । हवन गर्ने ठाउँका लागि रातभरि इँटा बोक्यौँ । फूल , प्रसाद किन्नुपर्छ भनेर हजार/हजार रुपैयाँ पनि दियौँ । ठूलो कार्यक्रम भएकाले मन्त्रीहरू पनि आउनुभयो । गाउँमा खुसियाली छाएको थियो ।

महायज्ञको कलशयात्रामा हामीले पनि भाग लियौँ । तर, मण्डपसम्म आएर टीका लगाउने वेला हामीलाई अवरोध भयो । हिजो हामीलाई इँटा बोकाउने र हामीसँग पैसा उठाउनेहरूले नै हाम्रो विरोध गरे । यिनीहरू यहाँ बस्छन् भने हामी निस्कन्छौँ भनेर होहल्ला गरे । हाम्रोतर्फबाट बोल्ने टाठो–बाठो कोही भएन । पण्डितजीले हामीलाई टीका लगाइदिन सक्नुभएन । त्यसैले, हामी त्यहाँबाट निस्कियौँ । यहाँ हाम्रो पसिना चल्यो, पैसा चल्यो, तर फूल  चलेन । अपमानित भएर केटाकेटी लिएर घर फर्कियौँ ।