
गत असोज अन्तिम साता वर्षासँगै आएको बाढीपहिरोले अवरुद्ध राष्ट्रिय प्रसारण लाइन (नेसनल ग्रिड) तीन सातापछि सुचारु भएको छ । बाढीपहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएसँगै विद्युत्समेत अवरुद्ध भएको थियो । कर्णाली राजमार्गको दैलेख, कालिकोट हुँदै जुम्ला राष्ट्रिय प्रसारण लाइन जोडिएको छ ।
उक्त क्षेत्रमा बाढीपहिरोले जुम्ला र कालिकोट खण्डमा ९० वटा पोल र तारमा क्षति भएको थियो । विद्युत् आपूर्ति गर्नका लागि निरन्तर मर्मतको काम गरेर विद्युत् सुचारु गर्न सफल भएको नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलले बताए ।
केन्द्रका प्रमुख रावलका अनुसार क्षति भएको स्थानमा मर्मतको काम सकिएपछि अहिले जुम्लामा सबै स्थानमा विद्युत् आपूर्ति भएको छ । करिब तीन सातासम्म विद्युत् अवरुद्ध हुँदा जुम्ला अँध्यारो भएको थियो ।
नेसनल ग्रिड अवरुद्ध भएपछि स्थानीय उत्पादन घुघुत्ती र जाल्पादेवी साना जलविद्युत् आयोजनाको बिजुलीले जुम्ला सदरमुकाम खलंगामा कामचलाउ भए पनि ग्राहक अत्यधिक बढेकाले उज्यालोको खोजी भएको थियो ।
सदरमुकाममा अब बिजुलीको आपूर्ति भएपछि सरकारी काम, आधारभूत उज्यालोका काम सजिलो हुन थालेको छ । नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रमा तीन हजार ६ सय ग्राहक छन् ।