१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
अनिल यादव काठमाडाैं
२o८१ जेठ ५ शनिबार o६:५७:oo
Read Time : > 6 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

उम्मेदवारीमा उथलपुथल : ०७४ का प्रतिस्पर्धी अहिले सहयात्री, त्यतिबेलाका प्रतिस्पर्धी बने सहकर्मी

Read Time : > 6 मिनेट
अनिल यादव, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o६:५७:oo

निर्वाचन यस्तो लडाईं हो, जहाँ हरकोही प्रतिस्पर्धी हारको बदला लिन चाहन्छन् । तर, कहिलेकाही राजनीतिक परिस्थिति यस्तो बन्छ, कैयौले हारको बदला लिने मौकासमेत पाउँदैनन् । र, कैयौले आफ्नो सहकर्मीको सामना गर्नुपर्ने अबस्था पनि आउँछ । आसन्न मंसिर ४ को प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनमा उम्मेद्वारीमै उथलपुथल भएको छ । ०७४ का प्रतिष्पर्धी अहिले सहयात्री र ०७४ का सहयात्री अहिलेका प्रतिष्पर्धी बनेका छन् । ०७४ र अहिलेको निर्वाचनमा बनेका फरक गठबन्धनसँगै उम्मेद्वारीमै देखिएको उथलपुथलले निर्वाचनलाई थप रोमान्चक बनाउने देखिएको छ ।

उम्मेद्वारहरू यसलाई राजनीतिक परिस्थितिको उपज ठान्छन् । विश्लेषक दलहरू मतदाताप्रति इमानदार, जिम्मेवार र उत्तरदायी नहुँदा यस्तो भएको बताउ“छन् । विश्लषेक लोकराज बराल भन्छन्, ‘राजनीतिक दलहरू यतिखेर विचारहिन गठबन्धन गरेर कसरी चुनाव जित्ने, कसरी सरकारमा पुग्ने, कसरी टिक्ने–टिकाउने, कसरी आफ्ना मान्छेलाई सांसद बनाउनेजस्ता कुरामात्रै केन्द्रित छन् । उनीहरूलाई मतदाताप्रति इमानदार, जिम्मेवार र उत्तरदायी हुनुपर्छ भन्ने लागेकै छैन ।’

 पहिले प्रतिस्पर्धी, अहिले सहयात्री 
 शेरबहादुर देउवा–खगराज भट्ट
०७४ को प्रतिनिधिसभा निर्वाचनमा डडेल्धुरामा शेरबहादुर देउवाका मुख्य प्रतिस्पर्धी थिए, माओवादी नेता खगराज भट्ट । त्यतिवेला देउवाले किन हार्नुपर्छ, मैले किन जित्नुपर्छ भनेर सार्वजनिक रूपमै तर्क दिँदै हिँड्थे उनी । तर, अहिले परिदृश्य फरक छ । हिजोका वाम गठबन्धनका उम्मेदवार, अहिले कांग्रेस गठबन्धनमा छन् । त्यसैले उनका तर्क पनि फेरिएका छन् । डडेल्धुरमा आज उनी देउवाका सहयात्री बनेका छन् । देउवा प्रतिनिधिसभामा उठ्दै गर्दा भट्ट यसपटक छाड्दै प्रदेश सभामा झर्न तयार भएका छन् । डडेल्धुरा १ (क) बाट प्रदेश सभाका उम्मेदवार बनेका उनी वाम–लोकतान्त्रिक गठबन्धनलाई जिताउन लागेका छन् । देउवाकै सहयात्री कर्ण मल्ल भने कांग्रेस छाडेर बिपी कांग्रेसबाट उम्मेदवार छन् । 

 वर्षमान पुन–अमरसिंह पुन
०७४ मा वाम गठबन्धनका तर्फबाट रोल्पामा माओवादीका उम्मेदवार रहेका वर्षमान पुनविरुद्ध कांग्रेसका तर्फबाट अमरसिंह पुन उम्मेदवार थिए । तर, सत्तागठबन्धन बनेसँगै तिनै अमरसिंह यसपटक माओवादीका उपमहासचिव रहेका पुनका सहयात्री बनेका छन् । कांग्रेसका तर्फबाट उनी प्रदेश (ख)का उम्मेदवार बनेका छन् । ०७४ मा वर्षमान ४२ हजार ४८ मत ल्याएर विजयी हुँदा अमरसिंहले २० हजार तीन सय ३७ मत ल्याएका थिए । 

 राजेन्द्र महतोविरुद्ध यादव–राय सहयात्री
०७४ को निर्वाचनमा महिन्द्र राय यादव सर्लाही २ मा राजपाका उम्मेदवार थिए । त्यतिवेला कांग्रेसबाट जंगीलाल राय उनका मुख्य प्रतिस्पर्धी थिए । तर, जसपा अलग्गिएपछि डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीमा गए । उनी माओवादी केन्द्रको चुनाव चिह्न लिएर सर्लाही २ मा सत्तागठबन्धनका उम्मेदवार बनेका छन् । कांग्रेसका राय भने अहिले प्रदेशमा झरेर उनका सहयात्री बनेका छन् । 

 रामचन्द्र पौडेल–कृष्णकुमार श्रेष्ठ
तनहुँ १ मा ०७४ मा वाम गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार रहेका कृष्णकुमार श्रेष्ठ (किसान) र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल प्रतिस्पर्धामा थिए । तर, यस निर्वाचनमा गठबन्धनका तर्फबाट पौडेल उम्मेदवार छन् । एकीकृत समाजवादीका नेता श्रेष्ठ आफ्नो निर्वाचन क्षेत्र पौडेललाई छाडेर बारा ४ मा पुगेका छन् ।

  विना मगर–दिवानसिंह विष्ट
०७४ को चुनावमा माओवादी नेतृ विना मगरसँग हारेका दिवानसिंह विष्ट प्रदेशमा झरेर सहकार्यमा छन् भने पाँच वर्षअघि विनाको सहकार्यमा प्रदेशबाट लडेर सांसद बनेका तारा लामा तामाङ ४ मंसिरमा तय भएको प्रतिनिधिसभा निर्वाचनमा मुख्य प्रतिस्पर्धी बनेका छन् । विनालाई दुईपटकका प्रतिस्पर्धीको साथ छ । विना मगर ०७० मा कांग्रेस नेता दिवानसिंह विष्टसँग पराजित हुँदा ०७४ मा बदला लिएकी थिइन् । तर, दुईपटकका प्रतिस्पर्धी विष्ट प्रदेश सभाका लागि (ख)मा उम्मेदवार बनेका छन् । फेरिएको परिस्थितिमा उनीहरू एक–अर्कालाई भोट मागिरहेका छन् ।

 उपेन्द्रविरुद्ध ठाकुर–यादव सहयात्रा
०७४ को निर्वाचनताका तत्कालीन संघीय समाजवादी फोरम (जसपा) र राजपा (लोसपा)बीच चुनावी गठबन्धन बनेको थियो । गठबन्धनबाट सप्तरी २ का उम्मेदवार थिए, उपेन्द्र यादव । त्यतिवेला राजपाका जयप्रकाश ठाकुरले यादवविरुद्ध बागी उम्मेदवारी दिएपछि पार्टीले कारबाही नै गरेको थियो । तर, यसपटक लोसपाले उनै ठाकुरलाई सप्तरी २ मा यादवविरुद्धको उम्मेदवार बनाएको छ । अनि ०७४ मा ठाकुरले यादवविरुद्ध स्वतन्त्र उम्मेदवारी दिँदा माओवादी केन्द्रबाट प्रतिस्पर्धी रहेका उमेशकुमार यादव आज उनका सहयात्री बनेका छन् । ठाकुर गठबन्धनबाट संघका उम्मेदवार बन्दा यादव प्रदेशमा झरेका छन् । उनी सप्तरी २ (क) बाट उम्मेदवार बनेका छन् । ०७४ मा उपेन्द्र २१ हजार ६ सय २० मत ल्याएर विजयी भएका थिए । त्यतिवेला उमेशले ११ हजार पाँच सय ८० र ठाकुरले नौ हजार चार सय ५९ मत ल्याएका थिए । 

 नरेश साह हलवार–हरेशप्रसाद महतो
०७४ मा नरेश साह कलवार सर्लाही ३ का स्वतन्त्र उम्मेदवार थिए । त्यतिवेला कांग्रेसबाट हरेशप्रसाद महतो र माओवादीबाट रामेश्वरप्रसाद यादव उम्मेदवार थिए । त्यतिवेला दुवैलाई यादवले हराएका थिए । यसपटक भने साह माओवादी केन्द्रका तर्फबाट सत्तागठबन्धनका उम्मेदवार बनेका छन्, उनीसँग प्रतिस्पर्धा गरेका महतो त्यहीँ प्रदेश (ख)का उम्मेदवार । दुवै अहिले एक–अर्काका लागि मतदातालाई सँगै मत मागिरहेका छन् । 

 प्रभु साह–सुनीलकुमार यादव
अन्तिम समयमा एमालेको टिकट छाडेर रौतहट ३ मा स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहका प्रतिस्पर्धी पनि यसपटक सहयात्री बनेका छन् । यसअघि ०७४ को निर्वाचनमा उनीसँग प्रतिस्पर्धा गरेका कांग्रेसका सुनीलकुमार यादव यसपटक प्रदेश (ख)मा झरेर प्रदेश सभाका उम्मेदवार बनेका छन् । ०७४ मा वाम गठबन्धनको तर्फबाट माओवादीको उम्मेदवार बनेका साह सत्तागठबन्धनको सहयोगमा अहिले स्वतन्त्र उम्मेदवार बनेका छन् । ०७४ मा साहले यादवलाई करिब नौ हजार मतान्तरले हराएका थिए । साहले २७ हजार सात सय ९९ मत ल्याउँदा यादवले १८ हजार दुई सय ६ ल्याएका थिए । 

 एकवाल मियाँ–देवनारायण थारू
०७४ मा वाम गठबन्धन बन्दा एकवाल मियाँ बारा ४ मा राजपाबाट निर्वाचित भएका थिए । त्यतिवेला एमालेका देवनारायण थारू उनका प्रतिस्पर्धी थिए । तर, मियाँ एमालेमा प्रवेश गरेर यसपटक त्यहाँ प्रतिनिधिसभाका उम्मेदवार छन् । अनि त्यतिवेलाका प्रतिस्पर्धी थारू भने प्रदेश (क)का उम्मेदवार । त्यतिवेला करिब १७ मतले मियाँले थारूलाई हराएका थिए । मियाँको २२ हजार दुई सय ७५ मत आउँदा थारूको २० हजार ६ सय सात आएको थियो । 

 प्रदीप यादव–बिचारीप्रसाद यादव
०७४ मा पर्सा १ बाट तत्कालीन राजपाका उम्मेदवार प्रदीप यादव अहिले एमालेको सहयोगमा जसपाको उम्मेदवार बनेका छन् । त्यतिवेलाका उनका प्रतिस्पर्धी एमालेका बिचारीप्रसाद यादव भने प्रदीपलाई सघाउन तयार हुँदै यसपटक प्रदेश (क) को उम्मेदवार बनेका छन् । यादवले २१ हजार एक सय ३२ मत ल्याउँदा यादवले १६ हजार चार सय ८१ मत ल्याएका थिए । अहिले यादवका प्रतिस्पर्धी लोसपाका लक्ष्मणलाल कर्ण छन् । 

 अभिषेकप्रताप साह– एहसान अहमत खाँ
०७४ को निर्वाचनमा कपिलवस्तु ३ मा कांग्रेसबाट उम्मेदवार बनेका अभिषेकप्रताप साहविरुद्ध बहुजन शक्ति पार्टीका एहसान अहमत खाँ उम्मेदवार थिए । तर, यसपटक खाँ साहका सहयात्री बनेका छन् । दुवै सत्तागठबन्धनका उम्मेदवार बनेका छन् । साह संघतर्फको उम्मेदवार छन् भने खाँ प्रदेश (क)को । ०७४ मा साहले २० हजार एक मत ल्याउँदा खाँले चार हजार नौ सय ९९ मत मात्रै ल्याएका थिए । 

 देवेन्द्रराज कँडेल–चिनक कुर्मी
०७४ को निर्वाचनमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) २ मा कांग्रेसका उम्मेदवार देवेन्द्रराज कँडेलविरुद्ध चुनावी मैदानमा उत्रिएका थिए, नयाँ शक्ति पार्टी नेपालका तर्फबाट चिनक कुर्मी । तर, यसपटक तिनै कुर्मी माओवादी चुनाव चिह्न लिएर प्रदेश (क)का उम्मेदवार बनेका छन् । अहिले दुवै सँगै एक–अर्काका लागि सहयोग मागिरहेका छन् । यसअघिको परिणाममा कँडेल ३४ हजार एक सय ३० मतसहित विजयी हुँदा कुर्मी पाँचौँ स्थानमा थिए ।

 शक्तिबहादुर बस्नेत–राजीवविक्रम शाह
जाजरकोटमा शक्तिबहादुर बस्नेत र राजीवविक्रम शाही कट्टर प्रतिस्पर्धीका रूपमा चिनिन्थे । ०७० र ०७४ को दुवै निर्वाचनमा उनीहरू मुख्य प्रतिस्पर्धी थिए । तर, यसपटक माओवादी र कांग्रेस दुवैले गठबन्धन गरेपछि बस्नेतका विरुद्ध कांग्रेसबाट लडेका शाह यसपटक प्रदेश (ख) को उम्मेदवार बन्न तयार भएका छन् । यसअघि बस्नेतसँग करिब नौ हजार मतान्तरले हारेका थिए ।  

 पृथ्वीबहादुर सिंह–भानुभक्त जोशी
बझाङमा यसअघि संघबाट लडेका कांग्रेसका पृथ्वीबहादुर सिंह प्रदेश (क)बाट उम्मेदवार बनेका छन् । संघमा भने एकीकृत समाजवादीका भानुभक्त जोशीले टिकट पाएका छन् । जब कि यसअघि सिंहका विरुद्ध एमालेका भैरवबहादुर सिंहसँग प्रतिस्पर्धा हुँदा जोशीले उनका विरुद्ध मत मागेका थिए । 

 पहिलेका सहयात्री, अहिलेका प्रतिस्पर्धी 
 लमजुङमा पृथ्वीसुब्बा गुरुङ र देव गुरुङ
लमजुङमा एमालेका पृथ्वीसुब्बा गुरुङ र माओवादीका देव गुरुङ पनि अघिल्लो निर्वाचनमा एकै ठाउँमा थिए । ०७४ मा एमाले–माओवादी गठबन्धनका क्रममा देव गुरुङ लमजुङ बाट केन्द्रका उम्मेदवार थिए भने पृथ्वीसुब्बा लमजुङ  (ख) बाट उम्मेदवार रहेका थिए । अहिलेको निर्वाचनमा लमजुङ १ बाट आमनेसामने छन् । 

 रुपन्देही ३ मा खाण र बोहरा
रुपन्देही ३ मा बालकृष्ण खाण कांग्रेसका उम्मेदवार छन् । अघिल्लो निर्वाचनमा राप्रपाका दीपक बोहरालाई सो निर्वाचन क्षेत्र छाडेर समानुपातिकमा बसेका थिए । यसपटक खाण र बोहरा आमनेसामने छन् ।

 मकवानपुर १ मा थापा र उपाध्याय
०७४ मा तत्कालीन राप्रपा अध्यक्ष कमल थापालाई मकवानपुर १ छाडेर मकवानपुर २ निर्वाचन लडेकी कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ थिइन् । तर, अहिले एमालेको सहयोगमा सूर्य चिह्नबाट निर्वाचनमा होमिएका राप्रपा नेपालका अध्यक्ष थापासँग मकवानपुर १ मा आमनेसामने भएकी छिन् । तर, अघिल्लो निर्वाचनमा एमालेबाट प्रतिस्पर्धी रहेका एकीकृत समाजवादीका विरोध खतिवडा मकवानपुर २ मा सत्तागठबन्धनका तर्फबाट उम्मेदवार छन् ।

 कास्की २ मा भट्टराई र बराल
कास्की २ मा एमालेबाट विद्या भट्टराई र सत्तागठबन्धनबाट एकीकृत समाजवादीका श्रीनाथ बराल प्रतिस्र्धामा छन् । उनीहरू एमालेमा सहकर्मीका रूपमा थिए । ०७४ मा कांग्रेसका देवराज चालिसे प्रतिस्पर्धामा थिए । अहिले बराललाई कांग्रेसको समर्थन छ । कास्की ३ मा एमालेका दामोदर पौडेल बैरागी र माओवादीबाट रामजीप्रसाद बराल उम्मेदवार छन् । गत निर्वाचनमा वाम गठबन्धन हुँदा एमाले र माओवादी एकै ठाउँमा थिए । 

 गुल्मी २ मा विष्ट र झाँक्री
गुल्मी २ मा एमालेका गोकर्ण विष्ट र एकीकृत समाजवादीकी रामकुमारी झाँक्री मैदानमा छन् । विगतमा एमालेमा सहकर्मी रहेर निर्वाचन जिताउन भूमिका खेलेकी झाँक्रीलाई यसपटक माओवादीसहित गठबन्धनको साथ छ । अघिल्लो निर्वाचनमा माओवादीको साथमा विष्ट विजयी भएका थिए ।

 पाल्पा २ मा पाण्डे र गैरे
पाल्पा २ मा अघिल्लोपटक माओवादीको समर्थनमा एमालेबाट जितेका एकीकृत समाजवादीका सोमप्रसाद पाण्डे सत्तागठबन्धनको साझा उम्मेदवार बनेका छन् । उनीसँग उनकै सहकर्मी एमालेका ठाकुर गैरे प्रतिस्पर्धामा छन् । 

 रुपन्देही १ मा विश्वकर्मा र भुसाल
एमालेबाट टिकट नपाएपछि सत्तागठबन्धनको सहयोगमा पूर्वसहकर्मी छविलाल विश्वकर्माविरुद्ध घनश्याम भुसाल स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा छन् । भुसाललाई कांग्रेससहित सत्तागठबन्धनको साथ छ । अघिल्लोपटक माओवादीको समर्थन पाएका विश्वकर्मा एक्लै मैदानमा छन् ।

 धादिङ १ मा पाण्डे र त्रिपाठी
धादिङ १ मा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेसँग एमालेका भूमि त्रिपाठी आमनेसामने छन् । ०७४ को निर्वाचनमा त्रिपाठी एमालेबाट संघमा उम्मेदवार थिए भने पाण्डे धादिङ १ (क) बाट प्रदेश सभाका उम्मेदवार थिए । 

 इलाम १ मा खनाल र बस्नेत 
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल इलाम १ बाट एमाले उम्मेदवार महेश बस्नेतसँग प्रतिस्पर्धामा छन् । दाङ १ मा एमालेबाट शान्ता चौधरी र सत्तागठबन्धनका तर्फबाट एकीकृत समाजवादीका मेटमणि चौधरी मैदानमा छन् । अघिल्लो निर्वाचनमा एमालेमा रहेर सहकार्य गरेका उनीहरू प्रतिस्पर्धाको अवस्थामा पुगेका छन् । ०७४ मा चौधरीले कांग्रेसलाई पराजित गरेका थिए । 

 हिजो हराउनेले आज सहयोग गर्दै छन्....
अघिल्लो निर्वाचनमा हराउनेले यसपटक सहयोग गर्दैछन् । नवलपरासी बर्दघाट (सुस्ता पूर्व)मा कांग्रेसका तर्फबाट गठबन्धनका उम्मेदवार शशांक कोइरालालाई माओवादीले साथ दिँदै छ । मुस्ताङमा एमालेका प्रेमप्रसाद तुलाचनविरुद्ध माओवादीको समर्थनमा कांग्रेसका योगेश गौचन थकाली प्रतिस्पर्धामा छन् । बाग्लुङ २ मा माओवादीका देवेन्द्र पौडेल यसपटक कांग्रेसको समर्थनमा उम्मेदवार छन् ।

गुल्मी १ मा अघिल्लोपटक माओवादीको समर्थनमा एमाले उम्मेदवार प्रदीप ज्ञवालीले जित हासिल गरेकोमा यसपटक कांग्रेसका डा. चन्द्र भण्डारीलाई माओवादीको साथ छ । काभ्रे १ मा माओवादीले सूर्यमान तामाङ दोङलाई उम्मेदवार उठाएको छ । उनलाई कांग्रेसका तीर्थ लामाले साथ दिएका छन् । प्युठान जनमोर्चाको भागमा परेपछि दुर्गा पौडेलसँग कांग्रेसबाट प्रतिस्पर्धी बनेका कांग्रेसका गोविन्दराज पोखरेल पनि गठबन्धनलाई सघाउनुपर्ने अवस्थामा छन् । रुपन्देही ५ मा ०७४ मा कांग्रेस उम्मेदवार भरतकुमार शाहविरुद्ध माओवादीका डिलाराम आचार्य मैदानमा थिए । तर, यसपटक कांग्रेसका शाहलाई माओवादीले भोट मागिरहेको छ । 

ad
ad