Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ कार्तिक ३ बिहीबार १०:१६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्री देउवा पोखरा जाँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ कार्तिक ३ बिहीबार १०:१६:००

गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहका लागि प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा जाँदै छन् । पोखरा रंगशालामा आज  हुने राष्ट्रिय खेलकुदको भव्य समापन समारोहमा प्रधानमन्त्री देउवा सहभागी हुने राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य एवं प्रतियोगिता समारोह उपसमितिका संयोजक एकेन्द्रबहादुर कुँवरले जानकारी दिए । प्रधानमन्त्री देउवाले प्रतियोगिताको च्याम्पियन टोलीलाई रनिङ सिल्ड प्रदान गर्नेछन् ।

संयोजक कुँवरका अनुसार समारोहमा प्रधानमन्त्री देउवासहित युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, प्रदेशका मन्त्रीहरू, तीनवटै सुरक्षा निकायका प्रमुखलगायत विशिष्ट व्यक्तिको सहभागिता रहनेछ । असोज २८ देखि सुरु भएको राष्ट्रिय खेलकुदको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका थिए  ।

समारोह उपसमितिका अनुसार प्रतियोगिताको उद्घाटन समारोहमा जस्तै गरी समापन पनि भव्य रूपमा हुनेछ । मार्चपास, मस्कट प्रदर्शन, तीनवटै सुरक्षा निकायबाट संयुक्त ब्यान्ड प्रदर्शन, झाँकीसहित दुई घन्टाको  समापन समारोह हुने समारोह उपसमितिका संयोजक कुँवरले जानकारी दिए । उनले भने, ‘जसरी हामीले भव्य रूपमा उद्घाटन गर्‍यौँ, त्यसरी नै हजारौँको सहभागितामा नवौँ राष्ट्रिय खेलकुदको बिदाइ गर्नेछौँ ।’ 

समापन समारोहमा च्याम्पियन टोलीलाई ट्रफी र पुरुष फुटबलका विजेता खेलाडीलाई मेडल प्रदान गरिनेछ । समारोहमा राष्ट्रिय कलाकारबाट गीत तथा नृत्य प्रस्तुत हुने र अन्तिममा भव्य आतिशबाजीसहित समारोहको समापन हुने आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।